ओलीको गर्जन परिवर्तन र शान्तिलाई दख्खल दिने र सामाजिक सम्बन्ध खलबल्याउने प्रयास सैह्य छैन (भिडियो)

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले मित्रताको नीतिमा अगाडि बढेको नेपालको विदेश नीति सन्तुलित रहने बताएका छन्।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार ‘नेपाल–चीन सम्बन्ध’ शीर्षक पुस्तकको लोकार्पणपछि प्रधानमन्त्री ओलीले सबै मित्र राष्ट्रसँगको सम्बन्ध समानताका आधारमा रहने बताउँदै भने, ‘हामी मित्रतामा जोड दिन्छौं, हाम्रो नीति मित्रताको हो, यो असमान हुँदैन, असन्तुलित पनि हुँदैन, यो समान हुन्छ।’

प्रधानमन्त्री ओलीले छिमेकसँगको मित्रतालाई नेपालले अत्यन्त महत्व दिने स्पष्ट पार्दै दुई छिमेकीसँगको मित्रतालाई खँदिलो र भरिलो बनाउँदै लैजाने बताए। नेपालले आफ्नो अघिल्लो प्रधानमन्त्रित्वकालमा चीनसँग व्यापार तथा पारवहन सम्झौता गरेको जानकारी पनि उनले दिए।

नेपालमा भएको परिवर्तन र शान्तिलाई दख्खल दिने विषयमा सह्य नभएको बताउँदै उनले भने, ‘सामाजिक सम्बन्धलाई खलबल्याउने प्रयास सैह्य छैन।’ प्रधानमन्त्री ओलीले विश्वमै कायम रहेको असमानता तत्काल अन्त्य नभए पनि न्यूनीकरणमा पहल गरिने प्रतिबद्धता व्यक्त गर्दै भेदभाव भने अन्त्य गरेरै छाड्ने बताए।

पछिल्ला दिनमा नेपालमा लगानीको वातावरण बन्दै गएको उल्लेख गर्दै उनले भने, ‘हामी लगानीमैत्री छौंँ, लगानीका लागि सबैसँग सहकार्य गरेर अगाडि बढ्न तयार छौं।’ अर्को प्रसङ्गमा उनले वाम पार्टीबीचको एकता देशको परिवर्तन र समृद्धिसँग जोडिएको बताउँदै भने, ‘वाम एकता राष्ट्रिय एकतासँग जोडिएको विषय हो, नेपालको यस परिवर्तनलाई विश्वले खुशीसाथ गृहण गरेको छ, स्वीकारेको छ।’

<strong>हेर्नुहोस भिडियो सहित </strong>