Sunday , April 22 2018
Breaking News

प्रचण्डले बालकृष्ण ढुंगेललाई फोन गरेर भने-तपाईं जेलबाट चाँडै निस्कनु हुँदैछ

यतिवेला माओवादी केन्द्र सरकारमा छ । पछिल्ला केही महिनायता माओवादी नेताहरू प्रदेश सभा, प्रतिनिधिसभा र राष्ट्रिय सभाका सदस्य बन्ने दौडमा थिए । अझ केही दिनयता मन्त्री र अन्य सार्वजनिक लाभका पदमा पुग्न । त्यसैले १० वर्षे जनयुद्धमा भाग लिएका नाम चलेका करिब करिब सबै नेता कुनै न कुनै लाभको पदमा आसिन भइसकेका छन् । तर, तिनैमध्येक एक बालकृष्ण ढुंगेल अपराधिका रूपमा कारागारमा कैद भुक्तान गरिरहेका छन् ।

बालकृष्ण ढुंगेलले प्रचण्डलाई जेल बाट लेखे ! के प्रचण्डको मन छोला त ?

त्यसैले यतिवेला उनलाई भेट्ने रहर मनमा जाग्यो । र, लागियो डिल्लीबजारस्थित सदरखोर कारागार । मसँग अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङ, उपाध्यक्ष सुरेन्द्र बस्नेत पनि थिए । गेटमा बसेका प्रहरीले सोधपुछ सुरु गरे । हामीले बालकृष्ण ढुंगेलसँग भेट गर्न चाहेको बतायौँ । त्यसपछि सोधपुछ अलि बढी नै भयो । तीनपुस्ते खुलाएपछि हामीलाई भित्र जान दिइयो ।

कुनामा जस्तापाताले छाएको एउटा ओडार जस्तो ठाउँमा हरियो कार्पेट ओछ्याइएको थियो । वरपर स–साना रुख र फेदमा चौतारो पनि बनाएको रहेछ । त्यहाँ कैदी भेट्नेदेखि प्रतीक्षा गर्नेको ठूलै हुल हुने रहेछ ।

त्यहीँ आइपुगे पूर्वसभासद् ढुंगेल । हामीलाई देख्नेबित्तिकै उनको गहभरी आँसु छचल्कियो । माओवादी जनयुद्धका थुप्रै नेता र कमान्डर स्थानीय सरकार, प्रदेश र केन्द्रीय सरकारको बागडोर सम्हालिरहेको तर, त्यही युद्धको अर्का एक कमान्डर जनयुद्धकालीन मुद्दामा सर्वस्वसहित जन्मकैदको फैसला भुक्तान गरिरहेको देख्दा हाम्रो मन पनि अमिलो भयो ।

कुराकानी थालनी भयो । उनले विद्यार्थी नेताद्वयबाट पछिल्लो राजनीतिक घटनाक्रमको अपडेट चाहे । उनीहरूले वाम गठबन्धनको सरकार गठनदेखि आगामी वैशाख ९ गते एमाले र माओवादी केन्द्रबीच एकताको तयारीसम्मका अपडेट सुनाए ।

त्यतिबेलासम्म ढुंगेलले गाँठो परेको मनलाई सम्हालिसकेका थिए । सञ्चारका माध्यमसँग सधैँ जोडिइरहन रुचाउने उनी यी विषयमा अनभिज्ञ त थिएनन् । तर, किन हो उनले विद्यार्थी नेताद्वयबाटै सुन्न चाहे । अपडेट सुनिसकेपछि ती दुवै प्रसंगमा उनले आफ्ना धारणा सुनाए । पार्टी एकताप्रति सकारात्मक रहेका उनले दुवै पार्टीका राम्रा नेता मिलेर समाजवादसँगै साम्यवादको यात्रा तय गर्ने विश्वास व्यक्त गरे ।

तर, सरकारमा मन्त्री चयनदेखि सरकारका प्राथमिकताबारे चित्तदुखाई सुनाए । गरिब निमुखा जनताका घरमा अझैसम्म सरकार पुग्न नसकेको भन्दै उनले भने, ‘भालेबाँसेदेखि गोधुलीसाँझ पर्दासम्म मेहनत गर्ने तै पनि चुलो/अगेनोमा आगो बाल्न नसक्ने जनताको मझेरीमा लागेको अनिकाल टार्न माओवादी मन्त्रीहरू जुट्नुपर्छ ।’

तर, सधैँ मन्त्री बन्न र लाभको पद हासिल गर्न खोज्नेहरू पार्टीमा हावी हुँदै गएको चिन्ता पनि उनले साथसाथै व्यक्त गरे । नेताले जनता बिर्सिंदा पार्टीको जनआधार कमजोर भएको, विश्वास गुमेको भन्दाभन्दै आफ्नै सहकर्मीलाई समेत अचेत माओवादी नेताले भुल्ने गरेको भन्दै उनी भक्कानिए ।

‘आजसम्म पहुँचमा भएकाले भेटेनन्, नभएकाहरूले दिनहुँ भेटिरहनुभएको छ । यसरी नै दिनचर्या बितिरहेको छ । जसको नेतृत्व स्वीकारेर जनगणतन्त्रसहित समाजवाद र साम्यवादसम्म जाने सुनौलो सपना देखेर जनयुद्धमा लाग्यौँ । आज म शान्तिप्रक्रियापछि जेलमा हुँदा तिनैले खोरखबरसम्म गरेनन्,भेट्न आएनन्’ पार्टी अध्यक्ष प्रचण्डप्रति दुखेसो पोख्दै उनले भने ।

तर, उनले पाँच दिनअघि मात्रै प्रचण्डले फोन गरेको बताए । उनले प्रचण्डले त्यसदिन भनेका कुरा सम्झिए, ‘पाँच दिनअघि अध्यक्षले फोन गर्नुभएको थियो । कामको चापाचापले भेट्न पाइनँ नरिसाउनुहोला भन्नुभयो । तपाईं जेलबाट चाँडै बाहिरिनुहुँदैछ र द्वन्द्वकालीन घटनाका सबै मुद्दा सत्य निरुपण तथा बेपत्ता छानविन आयोगमार्फत् टुंगोमा पु¥याउने गरी काम भइरहेको छ ।’

ऊर्जामन्त्री भएपछि वर्षमान पुन अनन्तले पनि फोन गरेका रहेछन् । त्यसवेला उनले स्वास्थ्य अवस्थाबारे जानकारी लिएको र अब जनयुद्धकालीन मुद्दा किनारा लगाउने गृहकार्यमा खटिने बताएको हामीलाई जानकारी दिए ।

त्यसवेला आफूले देश विकासका लागि पहिलो प्राथमिकतामा ऊर्जा, कृषि, पर्यटन र सडकबाटा राख्न सुझाव दिएको सुनाए । ऊर्जामा फैलिएको जलमाफियाको जालो तोडी जनताको लगानीमा प्रत्येक प्रदेशमा ७ मेगावाटभन्दा ठूला परियोजना निर्माणमा जुट्न पनि उनले सुझाव दिएका रहेछन् ।

आगामी जेठ १५ गते जेलबाट बाहिरिने बताएका ढुंगेलले सर्वोच्च अदालतको फैसलामा भने हस्ताक्षर नगर्ने बरु ‘उज्जनको पोस्मार्टम रिपोर्ट’ माग्ने बताए । बेपत्ता भनिएका उज्जनको कुन पोस्टमार्टम रिपोर्टका आधारमा जन्मकैद भनेर फैसला गरियो ? यसबारे यसबारे अवश्य सोध्नेछु ।

एमालेले निकै सुझबुझका साथ मन्त्री छनोट गरेको तर माओवादीमा ‘कतिपटक मन्त्री बनेँ’ भनेर रेकर्ड राख्नकै लागि मात्रै मन्त्री बनेको उनले टिप्पणी गरे ।

प्रचण्डलाई धम्क्याउनेहरू सँधै सत्ताको वरिपरी पुग्ने गरेको अनुभव पनि सुनाउन भ्याए । ‘प्रचण्ड कहाँ पुगेर मन्त्री वा सांसद नबनाए वैद्य वा विप्लवको पार्टीमा जान्छु भनेर घुक्र्याउने, धम्क्याउने देखि त्यो पद नपाए मर्छु, झण्डिन्छु भनेर प्रचण्डलाई तनाव दिनेहरू पनि धेरै छन् । माओवादी जनयुद्धमा दुई सन्तान गुमाएकी धीरेन्द्र बस्नेतकी आमालाई मात्रै थाहा छ, उनको कलेजो चुडिँदाको पीडा,’ उनले अघि भने, ‘धीरेन्द्रकी आमालाई सांसद बनाएको भए के बिग्रिन्थ्यो, सावित्रीकुमार काफ्लेकै श्रीमतिलाई किन बनाउनुपथ्र्यो । श्रीमतीलाई नै पद दिने परिपाटी हो भने म जेलमा थिएँ, मेरी श्रीमतीलाई बनाएको भए पनि हुन्थ्यो ।’

उनले अगाडि भने, ‘मलाई निकै लोभ लाग्ने मन्त्रालय भनेको ऊर्जा र कृषि नै हो । बाँजो रहेको बारीमा दशनंग्रा नख्याएसम्म देश बन्दै भने खोलामा बगेको पैसालाई एकमुष्ठ नपारेसम्म पनि देश बन्दैन । त्यसैले बाँजा बारीमा पानी पुर्‍याउनु पर्‍यो र कानमा सुन लगाउनुभन्दा जनताले जलस्रोतमा लगानी गर्नुपर्‍यो । अनि मात्रै देश बन्छ । नत्र मन्त्री कतिपटक भएँ भनेर गणना गर्नुबाहेक केही हुँदैन ।’

करिब १५ मिनेटमा यतिधेरै बातचित हुन भ्याए । हामीलाई दिइएको समय सकिँदै थियो । त्यसैले विदा माग्यौँ । हामी तीन युवा बसेको ठाउँबाट जुरुक्क उठ्यौँ । उनले उठेर हामी तीनैजनालाई धाप मारे र भने,‘हाम्रो भौतिक शरीर त यसैयसै जाने भो । तपाईं युवाहरूबाट देशको भविष्य देखेको छु ।’ यति भनिसक्दा नसक्दै उनका गहबाट बलिद्रधारा आँशु बगिसकेका थिए ।-सन्तोष भट्टराईले लेखेका यो खबर नयाँ पत्रिकाबाट लिइएको हो।

प्रकाशित मिति : २०७४ चैत ५,सोमबार

Leave a Reply