२०७४ साल चैत्र महिनाको राशिफल

चैत्र महिनाको सङ्क्रान्ति बिहीबार परेको छ तर सूर्यको राशि सङ्क्रमणको समयमा बुधबारकै संयोग परेको छ । त्यस्तै उक्त समयमा कुम्भ लग्न र कृष्णपक्षको त्रयोदशी तिथि रहेको छ । समग्र ग्रह परिवेश यस्तो रहने छ – सूर्यले चैत्र महिनाभरि मीन राशिमा विचरण गर्ने गर्दछन् । यस महिनामा चन्द्रमाका अतिरिक्त बृहस्पति र शुक्र ग्रहबाहेक अन्य ग्रहले राशि परिवर्तन गर्ने सङ्केत छैन । महिनाको प्रारम्भमा नै बृहस्पति बक्री रहेकोमा ०९ गतेपछि बुध ग्रह पनि बक्री नै रहने छ । सुरूमा बृश्चिक राशिमा रहेको बृहस्पति २७ गतेपछि पुनः तुला राशिमा प्रवेश गर्ने तथा सुरुमा मीन राशिमा उच्च स्थानमा रहेको शुक्र ग्रह १२ गतेपछि मेष राशिमा प्रवेश गर्ने परिस्थिति छ । अन्य ग्रहहरूमध्ये धनु राशिमा शनि र मङ्गलको युति, मीन राशिमा बुध, कर्कट राशिमा राहु र मकर राशिमा केतु ग्रहको विचरण रहने देखिन्छ ।

यस्तो ग्रह परिवेशलाई विश्लेषण गर्दा यो महिना छुटपुट रूपमा आँधीबतासको प्रकोप, आगजनी, विस्फोट, सवारी दुर्घटना, विमान दुर्घटना, वज्रपात जस्ता अशुभ सङ्केत देखा परेपनि आमरूपमा जनता खुसी, सुखी र प्रसन्न रहने नै सङ्केत छ । लताकपडा र भोगविलासका वस्तुको मूल्यमा गिरावट आउने छ भने दैनिक उपभोग्य पदार्थ, तेल, घिउ र किराना वस्तुको मूल्यमा बृद्धि हुने लक्षण छ । त्यस्तै दुग्धजन्य पदार्थ, फलफूल र तरकारीको मूल्यमा पनि बृद्धि हुनेछ । हावा चल्ने र आँधीहुरीको सम्भावना रहने छ, जसका कारण तराई र भारतमा धनजनको क्षति हुनसक्छ । त्यसबाहेक समाजमा सानातिना आपराधिक गतिविधिमा बृद्धि हुने सङ्केत पनि छ, चोरीडकैती जस्ता उपद्रवका समाचार सुन्न पाइने छ । सेयर कारोबारमा मन्दी छाउने सङ्केत छ भने सरकार निरङ्कुश र स्वेच्छाचारी बन्ने लक्षणसमेत देखिंदैछ ।

२०७४ चैत्र महिनाको मासिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –

भाग्यस्थानमा राशिस्वामी मङ्गल र दशमेश शनिको युतिसम्बन्ध तथा बाह्रौं घरमा सूर्य, बुध र शुक्रको एवं आठौं भावमा भाग्यपति बृहस्पति बसेको हुँदा यो महिना सकारात्मक रहने छैन । अभिभावक, हाकिम, उच्चपदस्थ अधिकृत वा मातापितासँगको सम्बन्ध बिग्रिन सक्छ । पिता वा घरका बृद्ध सदस्यको स्वास्थ्यस्थिति कमजोर रहने छ । यस अवधिमा क्षणिक आवेग र उन्मादलाई नियन्त्रण गर्दै कुनै निर्णय लिनुपूर्व राम्रो सोचविचार गर्नु आवश्यक छ, नत्र गलत निर्णयका कारण अकल्पनीय हानि हुनसक्छ । खर्चको मात्रा बढ्ने छ । जुवातास, लटरी र सट्टापट्टातर्फ नहौसिनु ठिक हुनेछ । व्यवसायिक स्थितिमा गिरावट आउनसक्छ । व्यक्तिगत स्वास्थ्य पनि अनुकूल रहने छैन । नातागोताका सदस्य एवं मित्रवर्गसँग सुमधुर सम्बन्ध कायम राख्नु आवश्यक छ । सरकारविरोधी, असामाजिक र हानिकारक कार्यमा समेत संलग्नता हुनसक्छ । असुरक्षाको भावना विद्यमान रहने छ । मस्तिष्कलाई आराम हुनेछैन । दाम्पत्य र प्रणय सम्बन्धमा निरसता अपनाउनु राम्रो हुनेछ । आफूले गर्ने प्रत्येक काम सावधान भई गर्ने बानी बसाल्नु ठिक हुन्छ । यद्यपि शनि, केतु र शुक्रले शुभफल नै प्रदान गर्नेछन् । खासगरी यस महिनाको ०३, ०४, ०५, १२, १३, १४, २१, २२ र २३ गते तपाईंले अलि बढी सतर्कता अपनाउनु राम्रो हुनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –

मासाधिपति सूर्यको राम्रो प्रभाव रहने छ । इच्छा र आकाङ्क्षा पूर्ण हुने समयका रूपमा यो महिनाको आगमन भएको छ । नातागोताका सदस्यहरूबाट सहायता मिल्नेछ । किनमेल र कारोबारहरू सफल हुनेछन् । करार र सम्झौताबाट लाभ मिल्नेछ । दाम्पत्य जीवन, घरायसी सुख, प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय हो । आय आर्जनका मार्गमा सुधार आउने छ । लामो यात्रा सुखद र सफल हुनेछ । राशिस्वामी शुक्र र पञ्चमेश बुधको राज्यस्थानमा उपस्थिति भएकाले बहुप्रतीक्षित अभिलाषा र इच्छाको पूर्णता हुनेछ । प्रतिष्ठित व्यक्तिहरूसित मित्रतापूर्ण सम्बन्ध कायम हुनेछ । आफ्नो व्यापार÷व्यवसायलाई बढाउने र चम्काउने अवसर मिल्नेछन् । इच्छा र आकाङ्क्षा पूर्ण हुनेछन् । दाजुभाइ अथवा घनिष्ठ मित्रका बारेमा कुनै शुभ समाचार प्राप्त हुनेछ । दाजुभाइ र दिदीबहिनीले समेत आआफ्नो कार्यक्षेत्रमा उन्नतिप्रगति गर्नेछन् । यात्राबाट लाभ हुनेछ । उच्चकोटिको पारिवारिक सुख मिल्नेछ । यद्यपि भाग्येश शनि आठौं भावमा रहेको र सप्तमेश मङ्गले युति बनाएकाले घाउखटिरा र सानातिना चोटपटकको सम्भावना देखिंदैछ, सचेत हुनु जाति हुन्छ । पतिपत्नी र प्रेमीप्रेमिकाका बीचमा खटपट हुनेछ । सामान्यतया यस महिनाको ०६, ०७, १४, १५, १६, २३, २४ र २५ गते तपाईंका लागि अशुभ रहने छन् ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –

कर्मक्षेत्रमा रहेको राशिस्वामी बुध, सूर्य र शुक्रको प्रभावले अत्यन्त क्रियाशील र व्यस्त रहने र कर्मक्षेत्रको परीक्षणको समय हो, चैत्र महिना । व्यापार र नोकरीका माध्यमबाट लाभ मिल्नेछ । हाकिम, मातापिता र वरिष्ठ व्यक्तित्वको सहानुभूति र आशीर्वाद मिल्नेछ । व्यवसायिक÷व्यापारिक दृष्टिले फलदायी यात्राको सम्भावना छ । सत्तावान् व्यक्तिका साथको सम्बन्धमा सुधार आउने छ । वाहनादि र विदेशबाट लाभ प्राप्त हुनेछ । घरमा कुनै शुभ कृत्यको आयोजना हुनसक्छ । विलासिताका सामाग्री खरिद गर्दा धनव्ययको सम्भावना छ । मन धार्मिक क्रियाकलापतर्फ आकर्षित हुनेछ । आकस्मिक भ्रमणबाट सफलता मिल्नेछ । तर सातौं भावमा अष्टमेश शनिश्चर र षष्ठेश मङ्गलको युतिसम्बन्ध कायम भएकाले शत्रुले छवि बिगार्ने प्रयास गर्नेछन् । सहयोगी र साझेदारहरूसँग विवाद हुने सम्भावना छ । स्वास्थ्यप्रति समेत सचेत हुनु राम्रो हुन्छ । जीवनसाथी वा आत्मीय मित्रको प्रतिकूल स्वास्थ्यका कारण चिन्तित बन्नुपर्ने छ । अरुले गरेको अनुत्तरदायी क्रियाकलाप र असफलताका कारण चिन्तित बन्नुपर्ने छ । अनावश्यक आरोपका कारण सजाय भोग्नु पर्छ । त्यसैले सावधान र संयम भई अघि बढ्नु जायज हुनेछ । विशेष गरी यस महिनाको ०८, ०९, १६, १७, १८, २६, २७ र २८ गते तपाईंले सतर्कता अपनाएको राम्रो हो ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –

छैटौं भावमा बनेको मङ्गल र शनिको युतिले झगडा, विवाद र मुद्दामामिलाको सङ्केत गर्दैछ । शरीरमा छालाजन्य रोगव्याधिको सम्भावना देखिन्छ । भाग्यभावमा बसेको सूर्यको प्रभावले मिश्रित फल प्रदान गर्नेछ । यस अवधिमा धार्मिक र सांस्कृतिक महत्त्वको क्षेत्रमा भ्रमण हुनेछ तर लामो यात्रा सफल हुनेछैन । उच्च पदमा प्रतिष्ठित व्यक्तिहरूसित भेटघाट हुने तथा सल्लाह र सद्भाव प्राप्त हुने सम्भावना छ । मातापिता र अभिभावकवर्गको स्वास्थ्यस्थिति चिन्ताको विषय बन्नसक्छ । विश्वासको वातावरण बन्नाले व्यावसायिक एवं रोजगारीका क्षेत्रमा सफलता आर्जन हुनेछ । धनार्जनका दृष्टिले राम्रै समय रहने छ । पेसागत र व्यवसायिक परिस्थतिमा सुधार आउने छ । धनसम्पत्तिको लाभ हुने सम्भावना छ । पारिवारिक वातावरण पनि सुखद हुनेछ । पेसा र व्यवसायमा देखिएका अड्चन र बाधा हटाउन तथा शत्रुदमन गर्न प्रयास गरिने छन् । प्रभावशाली व्यक्तिसित सम्पर्क बढ्ने छ । दैनिकी सञ्चालनका क्रममा फुर्तिको अनुभूति हुनेछ । शत्रु र प्रतिस्पर्धीले बदख्वाइँ गर्ने प्रयास गर्न सक्दैनन् । समग्रमा समय राम्रै भए पनि वाहनादिमा यात्रा गर्दा सावधान हुनु बेस हुनेछ । विशेष गरी यस महिनाको ०१, ०२, ०३, १०, ११, १८, १९, २०, २८, २९ र ३० गते तपाईंका लागि अशुभ रहने छन् ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –

राम्रो महिना छैन, अष्टम भावमा बसेका सूर्य, बुध र शुक्रका कारण अचानक विविध समस्या देखा पर्न सक्छन् । पारिवारिक र नातागोताभित्रका सदस्यहरूसँग राम्रो व्यवहार पुर्याउन नसक्नाले विनाकारण झगडा र विवाद हुनेछ । लामो समयसम्म अस्वस्थ हुने आशङ्का छ, त्यसैले खानपान, आहारविहार र स्वास्थ्यप्रति सचेत रहनु बेस हुनेछ । शङ्कास्पद कारोबार र क्रियाकलाप सहभागी नबन्नु राम्रो हुनेछ, त्यस्तै खराब र अनैतिक मानिने कामभन्दा टाढा रहनु नै कल्याणकारी हुनेछ । महत्त्वपूर्ण कागजातमा हस्ताक्षर गर्नुअघि राम्ररी पढ्नु बेस हुनेछ । बुद्धि र विवेकले काम नगर्न सक्छ । जुवातास, लटरी र सट्टापट्टातर्फ नहौसिनु ठिक हुनेछ । मित्र र सहयोगीहरूबाट निराशा हुनेछ । यात्राबाट थकित बन्नुहुनेछ । सृजनात्मक क्षमतालाई प्रस्फुटन गर्न सक्नुहुन्न र बुद्धिविवेकको ह्रास हुनेछ । शत्रुले हानि पुर्याउने प्रयत्न गर्नेछन् । दुष्ट मित्रदेखि सावधान रहनु आवश्यक छ । के गरी समुचित निर्णय लिन सकिन्छ भन्ने विषयमा ध्यान दिनु आवश्यक छ । सन्ततिको स्वास्थ्यस्थिति चिन्ताको विषय बन्नेछ । मित्र एवं सहयोगीले वाचा पूरा गर्न सक्दैनन् । निवास स्थान अथवा नोकरीको परिवर्तन हुनसक्छ । खासगरी यस महिनाको ०३, ०४, ०५, १२, १३, १४, २१, २२ र २३ गते तपाईंले बढी सचेतता अपनाएको राम्रो हुन्छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –

चौथो भावमा बनेको शनिश्चर र मङ्गलको युतिसम्बन्धका कारण मानसिक रूपले तनावग्रस्त र अस्वस्थ हुने महिना हो, चैत्र महिना । यस अवधिलाई एउटा कठिन कालखण्ड हो भन्दा अत्युक्ति नहोला । कडा मिहिनेत गर्दा पनि राम्रो परिणाम हात पार्न सकिने छैन । व्यवसायिक÷व्यापारिक क्षेत्रमा रहेका नजिकका साथीभाइ र कामदारले धोका दिनसक्छन् र ठूलो नोक्सानी हुन सक्छ, सचेत रहनु आवश्यक छ । घरपरिवारभित्रका वादविवाद, झैझगडा र समस्याहरूमा संयमता अपनाउनु राम्रो हुनेछ । घरायसी सुखसुविधा, अचल सम्पति, वाहनसुख, स्त्रीसुख एवं मित्रहरूको साथ पाउन गाह्रो देखिन्छ । आर्थिक रूपले समेत राम्रो समय देखिंदैन । खर्चको मात्रा पनि बढ्ने छ । कुनै गुप्त कारोबार वा गतिविधिका क्रममा हानि ब्यहोर्नु पर्ने हुन्छ । आकस्मिक धनहानिको सङ्केत पनि छ । यद्यपि राशिस्वामी बुधले बुधादित्य योगको सिर्जना गर्दै सातौं भावमा उपस्थिति जनाएकाले केही शुभफल पनि प्राप्त हुनेछन् । यसको प्रभावले प्रसिद्धि र सम्मानमा बृद्धि हुनेछ । विद्वानहरूका साथमा घुलमिल हुने मौका आउने छ । बन्दव्यापारमा बढावा हुनेछ । विपरीत लिङ्गीहरूबाट सहायता मिल्नेछ । सुखद यात्रा हुने सङ्केत पनि छ । सामान्यतया यस महिनाको ०६, ०७, १४, १५, १६, २३, २४ र २५ गते तपाईंका लागि अशुभ रहने छन् ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –

छैंटौं भावमा बसेका सूर्य, बुध र शुक्रको प्रभाव अनुकूल रहने छ । यसको प्रभावले पहिले देखिएका प्रायशः समस्याहरूको निराकरण हुनसक्छ । प्रतिस्पर्धीहरूमाथि विजय प्राप्त हुनेछ । पछाडि उछित्तो काड्ने र कुरा काट्नेहरू आफैं चुप लाग्नेछन् । नोकरी र व्यायसायिक जीवनमा सुधार आउने छ । प्रतिष्ठा र पदोन्नतिको सम्भावना छ । आफ्नो सर्कलमा सम्मान र साख मिल्नेछ । आयक्षेत्रमा उल्लेखनीय अभिबृद्धि हुनेछ । परिवारका सदस्य र अन्य व्यक्तिको हितका लागि धनखर्च गर्न मन हौसिने छ । लोकप्रियता हासिल हुनेछ । परिवारमा नयाँ सदस्य वा अतिथिको आगमन हुनसक्छ । तर तृतीय भावमा चतुर्थेश शनिश्चर र सप्तमेश मङ्गलको युतिसम्बन्ध बनेकाले दाजुभाइका बीचमा खटपट बढ्न सक्छ । खर्च नियन्त्रणभन्दा बाहिर हुनेछ । शत्रु र प्रतिस्पर्धीले प्रतिष्ठा बिगार्ने प्रयास गर्नेछन् । कामको बोझ बढ्नाले थकानको अनुभूति हुनेछ । फाल्तु र व्यर्थका काममा अल्मलिनु पर्नेछ । विपरीत लिङ्गीसँगको सम्बन्ध सुमधुर हुन सक्दैन । वासनाजन्य विचारले दुःखित तुल्याउने मात्र होइन, यसले अपमानित पनि बनाउन सक्छ । स्वास्थ्य सम्बन्धी समस्याका कारण दिनचर्र्यामा पनि अवरोध आउने छ । सामान्यतया यस महिनाको ०८, ०९, १६, १७, १८, २६, २७ र २८ गते तपाईंका लागि अशुभ रहने छन् ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –

दोस्रो भावमा सिर्जना भएको राशिस्वामी मङ्गल र तृतीयेश शनिश्चरको युतिसम्बन्धले गर्दा आर्थिक पक्ष कमजोर रहनेछ । घरपरिवारकै सदस्यका बीचमा मनोमालिन्य बढ्नाले एवं ससाना कुरामा झैझगडा मानसिक तनाव बढ्नसक्छ । मुखलाई नियन्त्रणमा राख्नु बेस हुनेछ, नत्र अप्ठ्यारामा पर्न सकिन्छ । अवाञ्छित व्यक्तिहरूउपर निर्भर रहनु पर्ने बाध्यता हुनसक्छ । व्यापारमा घाटा हुने वा धनमाल हराउने÷चोरी हुने सङ्केत छ । यद्यपि आफ्नै राशिमा रहेको बृहस्पतिको उपस्थितिले गर्दा मन प्रसन्न र फुर्तिलो रहनेछ । परिवारमा पनि कुनै माङ्गलिक कार्य सम्पन्न हुनेछ, शुभ र श्रेष्ठ कर्ममा लगनशीलता बढ्ने छ । आम्दानीका मार्ग बढ्ने छन् र उच्च पदमा आसीन राजनैतिक प्रशासनिक पदका व्यक्तित्वसँगको सम्बन्धमा सुधार आउने छ । योग्यताको प्रयोग गरी विपरीत परिस्थितिलाई समेत आफ्नो पक्षमा ल्याउन सकिने छ । परिवारमा सुखसुविधाको जोहो हुनेछ । मन दर्शन र चिन्तनमा केन्द्रित रहने छ । मस्तिष्क पूर्णरूपेण सक्रिय रहनेछ । यो समय प्रणय र रोमान्सका लागि पनि राम्रै छ । सृजनशीलताको प्रशंसा र सराहना हुनेछ । पुराना साथीभाइ र सहयोगीहरूसँग भेटघाट हुनेछ । खासगरी यस महिनाको ०१, ०२, ०३, १०, ११, १८, १९, २०, २८, २९ र ३० गते तपाईंका लागि त्यति राम्रा दिन हुने छैनन् ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –

राशिमा बाह्रौं भावको मालिक मङ्गल र धनस्थानको स्वामी शनिश्चरको उपस्थिति छ । यसको प्रभावले प्रत्येक काममा बाधा आउने र ढिलो हुने सम्भावना छ । कहिलेकाँही असुरक्षाको हीनभावना विकसित हुन सक्छ । कामको बोझ बढ्ने छ । व्यर्थको काममा फँस्ने सम्भावना समेत छ । स्वास्थ्य पनि ठीक हुनेछैन । पारिवारिक जीवन सुखद हुनेछैन । नातागोताको प्रतिकूल स्वास्थ्यका कारण चिन्तित हुनुपर्ने छ । पारिवारिक झमेला बढ्नाले मानसिक तनाव हुन सक्छ । साझेदार वा सहयोगीको लापरवाहीका कारण हानि पुग्नसक्छ । उता सूर्यले पनि चतुर्थ भावमा उपस्थिति जनाएको देखिन्छ । यस अवधिमा कडा मिहिनेत र परिश्रम गर्ने योग छ । निरन्तर गरिएको कष्टप्रद परिश्रमका कारण छिटै थाकिन्छ र कार्य क्षमतामा समेत कमी आउने छ । मन कुकर्म र गलत आचरणतर्फ आकर्षित बन्न सक्छ । मातापिता र अभिभावक वर्गको स्वास्थ्यस्थिति चिन्ताको विषय बन्नेछ । दुर्घटनाको सामान्य सम्भावना छ, त्यसैले सवारीसाधन हाँक्दा र बाटो काट्दा सावधान र सचेत रहनु बेस हुनेछ । जोखिमपूर्ण र जुवाजन्य काममा दिलचस्पी नदिनु नै बेस हुनेछ । खासगरी यस महिनाको ०३, ०४, ०५, १२, १३, १४, २१, २२ र २३ गते तपाईंले सतर्क र सावधान रहनु पर्ने समय हो ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –

मिश्रित प्रभाव भएको समय छ । बाह्रौं भावमा राशिपति शनिश्चरका साथमा चतुर्थेश मङ्गलको युतिसम्बन्धले नकारात्मक फल प्रदान गर्नेछ । प्रतिकूल परिस्थिति र कठिनाइको सामना गर्नु पर्नेछ । स्वाभिमान र घमण्डका कारण केही समस्याहरू सिर्जना हुनसक्छन् । घमण्डलाई त्याग्नु श्रेयस्कर हुनेछ, नत्र परिस्थिति अझ जटिल बन्नसक्छ । बाचा पूरा गर्न सकिंदैन र बन्धनको स्थिति सिर्जना हुनेछ । जीवनीशक्तिमा कमी भएको अनुभूतिका कारण आँफूलाई कमजोर भएको अनुभूति हुनेछ । व्यर्थको काममा आफ्नो ऊर्जा नाश हुनेछ । धन हानि हुनेछ, आर्थिक पक्ष डाँवाडोल बन्न सक्छ, सचेत हुनुपर्छ । तर सूर्यको प्रभाव अनुकूल छ, तृतीय भावमा पुगेको सूर्यको प्रभावले पारिवारिक जीवन सुखद रहनेछ । बहुप्रतीक्षित इच्छा, आकाङ्क्षा र उद्देश्य सफल हुनसक्छन् । प्रतिस्पर्धा वा परीक्षामा सहभागी हुँदा सफलता आर्जन हुनेछ । आध्यात्मिक र दार्शनिक क्रियाकलापमा मन आकर्षित हुनसक्छ । अधिकतम समय घुमघाम र भ्रमणमा बित्नेछ, साथै ससाना यात्रा फलदायी र भाग्यशाली सिद्ध हुनेछन् । आकस्मिक रूपमा धनप्राप्तिको सम्भावना समेत छ । घरपरिवारका सदस्य, मित्र र नातागोता माझको सम्बन्ध सुदृढ हुनेछ । स्वास्थ्यका दृष्टिकोणले यस अवधिभरि राम्रै छ । सामान्यतया यस महिनाको ०६, ०७, १४, १५, १६, २३, २४, २५, गते तपाईंका लागि अशुभ रहने छन् ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –

राज्यस्थानमा रहेको राशिपति शनि र कर्मक्षेत्रको मालिक मङ्गलको युतिबाट शुभफलकै आधिक्यता रहने महिना छ । मित्र र सहयोगीहरूबाट लाभ मिल्नेछ । बहुप्रतीक्षित इच्छा र आकाङ्क्षाले पूर्णता पाउने छन् र लामो दूरीको यात्रा लाभदायक रहने छ । आय आर्जनका मार्गमा बढोत्तरी हुनेछ । विलासिताका सामग्री र अन्य वस्तुहरू खरिद गर्नाले खर्च बढ्न सक्छ, तर घरायसी र पारिवारिक वातावरण सुखद हुनेछ । समस्त इच्छा र आकाङ्क्षाहरू पूर्ण हुनेछन् । नयाँ काम र उद्यम सुरु हुनेछ । मित्रवर्ग र हितैषीबाट राम्रो सहयोग मिल्नेछ । व्यापारका माध्यमबाट लाभ पाइने छ । निकटतम नातेदारका बारेमा कुनै राम्रो खबर प्राप्त हुन सक्छ । परिवारका सदस्यहरूको व्यवहार तपाईंप्रति अनुकूल रहने छ । तर धनस्थानमा बसेको सूर्यको प्रभाव कमजोर छ, यसको प्रभावले शारीरिक तनाव र बोझलाई झेल्नसक्ने सामथ्र्य हुँदाहुँदै पनि पारिवारिक झैझमेला र समस्या बढ्नाले मन विचलित हुनसक्छ । दीर्घकालिक लगानी र कारोबारप्रति सचेतता अपनाउनु आवश्यक छ । स्वास्थ्यतर्फ आँखा र मुखको क्षेत्र कमजोर छन् । बोलीमा पनि अङ्कुश लगाएकै बेस हुनेछ । सन्ततिपक्षबाट शुभफल मिल्ने देखिंदैन । विशेषगरी यस महिनाको ०८, ०९, १६, १७, १८, २६, २७ र २८ गतेका दिन तपाईंले सचेतता अपनाएको जाति हुन्छ ।

का लागि अशुभ रहने छन् ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –

सूर्य पहिलो घरमा रहेको छ, यसको प्रभावले यस अवधिमा धनसम्पत्ति र सुखसुविधा आर्जन गर्ने पक्षमा आकर्षित रहनुहुनेछ । आवश्यकताभन्दा बढी आत्मविश्वासको सिर्जना हुनेछ । सार्वजनिक क्षेत्र अथवा सरकारको कुनै महत्त्वपूर्ण जिम्मेबारी प्राप्त हुनसक्छ । छोटो दूरीको यात्रा हुने सम्भावना छ, जुन सुझबुझ र लगनशीलताका कारण फलदायक सिद्ध हुनेछ । सामाजिक सङ्घसंस्था वा परोपकारका क्षेत्रमा सहयोग गर्नु पर्नेछ । भाग्येश मङ्गल कर्मक्षेत्रमा रहेकाले लेनदेनको कारोबार, सार्वजनिक क्षेत्र वा सरकारी कामका माध्यमबाट फाइदा हुनेछ । उच्च पदस्थ र महत्त्वपूर्ण व्यक्तिहरूसित मित्रता हुनेछ, जसबाट लाभान्वित बन्नुहुनेछ । विपरीत परिस्थितिलार्ई कुशलतापूर्वक झेल्नाले आत्मविश्वास बढ्नेछ । राशिस्वामी बृहस्पतिको भाग्यभावमा उपस्थिति भएकाले अत्यधिक सफलता र सम्मान प्राप्त हुनेछ । मनलाई एकाग्र बनाउन, समाधि र योगको अभ्यास गर्नसमेत यस अवधिको उपयोग गर्नुपर्छ । धार्मिक र सामाजिक क्षेत्रको कुनै प्रमुख व्यक्तिसित सम्पर्क हुनसक्छ । तर दसौं भावमा शनि र मङ्गलको युतिसम्बन्ध र राशिस्वामीको बक्रताका कारण आफ्नै स्वास्थ्यस्थितिमा असर पर्ने सम्भावना छ, साथै पिता वा परिवारका कुनै बृद्ध सदस्य अस्वस्थ हुने शङ्का गर्न सकिन्छ, सचेतता अपनाउनु बेस हुने देखिन्छ । तपाईंका लागि यस महिनाका ०१, ०२, ०३, १०, ११, १८, १९, २०, २८, २९ र ३० गतेहरू अशुभ रहने छन् ।
(द्रष्टव्य : आज उल्लेख गरिएको राशिफल असल वा खराब जेजस्तो भए पनि तपाईंले आफ्नो कामप्रति निष्ठा जनाउनु पर्दछ, कर्तव्यपालना गर्नु पर्दछ र परोपकारी/सामाजिक भावना राख्नु पर्दछ, यसो गर्नुभएमा अनिष्ट नाश हुन्छ वा न्यूनीकरण हुनेछ र राम्रो राशिफल छ भने अझ धेरै शुभफल प्राप्त हुनेछ ।)
ज्योतिष कृष्णप्रसाद कोइरालाद्रारा लिखित राशिफल र साथमा बिबिध जानकारीको सम्पर्क नम्बर ९८५२०५९७६४/९८१४३४८१११  www.jyotishsathi.com