६ बर्षिया बालिका मन्दिरभित्रै बलात्कृत, यौनाङ्गमा चोटका कारण गुल्मीमा बाट पाल्पा रिफर

गुल्मी–गुल्मीको ईस्मा गाउँपालिकामा ६ वर्षिया बालिका बलात्कृत भएकी छन् । मंगलबार दिउँसो ४ वजेको समयमा ईस्मा गाउँपालिका वडानम्वर ३ नयाँपोखराको हनुमान मन्दिरभित्र बालिका बलात्कृत भएकी हुन् । बालिकालाई सोही गाउँपालिका वडानम्बर ४ दर्लामचौरका १७ वर्षीय हिमाल दर्जीले बलात्कार गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी प्रमुख एसपी अनुरागकुमार द्धिवेदीले दर्जीलाई पक्राउ गरी बुधबार अदालतमा मुद्धा दायर गरिएको जानकारी दिए । बलात्कृत बालिकाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । अस्पतालका डाक्टर सुवोध ज्ञवालीका अनुसार बालिकाकोे यौनाङ्ग सिलाउनुपर्ने भएकोले पाल्पा रिफर गर्ने तयारी भएको छ ।

‘बालिकाको यौनाङ्ग च्यातिएको छ । सिलाउन बेहोस पार्नुपर्ने हुन्छ । उनको उमेर सानै भएकोले यहाँ सम्भब नभएर सर्जिकल कन्सल्टेन्टका लागि पाल्पा प्रभास अस्पतालमा रिफर गरिएको हो’ ’ डा।ज्ञवालीले भने । बालिकाको यौनाङगबाट रगत आएको थाहा पाएपछि छोरीलाई अस्पताल लिएर आएकी उनकी आमाले छोरीले पहिला आफु लडेर रक्ताम्मे भएको भन्दै ढाँटेको बताईन् ।

पछि शंका लागेर फकाउँदै सोधेपछि हिमाल अंंकलले चाउचाउ किनेर खान दिन्छु भन्दै फकाएर मन्दिरभित्र लगेर त्यस्तो हिंसा गरेको बताएको बालिकाकी आमाले जानकारी दिइन् । यसअघि पनि गुल्मीमा आफ्नै बाबुले ६ वर्षीया छोरीको बलात्कार गरेको घटना सार्वजनिक भएको थियो । (नारीखबरबाट)