पृथुलाको पहिलो नेपाल फ्लाइट नै बन्यो अन्तिम, नेपाल आएर अग्ला हिमाल हेर्ने उनको सपना अधुरै (भिडियो)

यूएस बंगला एयरलाइन्सकी युवा को–पाइलट पृथुला रसिदको नेपाल आउने चाहना पूरानो थियो । चाहेर पनि नेपाल आउन नपाइरहेकी उनलाई सोमबार हिमालको देश नेपाल आउने संयोग जुर्‍यो ।सोमबार पहिलोपल्ट कोपाइलट बनेर नेपाली आकाश आएकी पृथुला रसिदको दुर्भाग्य नेपाली जमिनमा खुट्टा राख्ने अवसर नै मिलेन । नेपाल उडान गर्दै नेपाली जमिनमा पाइला राख्ने पृथुलाको वर्षौको सपना एक्कासी दुर्घटनामा परेको विमानको धुँवाको मुस्लोसँगै मिसिएर विलिन भयो । पृथुलामा देखिएको एक घण्टाअघिको उत्साह एक अकल्पनीय विपत बनेर पृथुलासँगै खरानीको रासमा विलय भयो । उनले उडाएको युएस बंगला विमान काठमाडौँको धावनमार्गमा यसरी बजारियो कि पृथुला यो विपतबाट बच्नै सकिनन् । बंगलादेशको द डेलीस्टार अनलाइनका अनुसार, पृथुलाले सन् २०१६ को जुलाईमा युएस बंगलामा उडान करिअर थालेकी थिइन् । बंगलादेशको नर्थ साउथ युनिभर्सिटीबाट उडान सम्बन्धी पढाई सकेपछि उनले फस्ट अफिसरका रुपमा युएस बंगला एयरलाइन्समा जागिर शुरु गरेकी थिइन् । उनले यो बीचमा बंगलादेशको आकाशमा डेढ बर्ष बिताइन् । एशिया र अमेरिकाका आकाशमा पनि कोपाइलट भएर जहाज उडाइन् । तर, पहिलो नेपाल हेर्ने चहना नै उनका लागि अन्तिम बन्यो ।