कठै बरै! कसो गरी बस्दै होलान सिरियामा ५ सयभन्दा बढी नेपाली चेली

काठमाडौँ — द्वन्द्वग्रस्त मुलुक सिरियामा केही समयअघि सर्लाहीकी ४७ वर्षीया तेजी देवीको मृत्यु भयो । उनको मृत्यु राजधानी नजिकैको सहरमा भएको जानकारी सिरियासमेत हेर्ने इजिप्टस्थित नेपाली दूतावासमा आए पनि मृत्युको कारण अझै खुल्न सकेको छैन । सिरिया पुगेर सोधखोज गर्ने अवस्था नेपाली नियोग प्रतिनिधिको छैन । उनको शव स्थानीय अस्पतालमा बेवारिस छ ।

***

८ महिनाअघि पनि सिन्धुपाल्चोककी माया तामाङको सिरियामै मृत्यु भयो । दूतावासमा यसको सूचना आए पनि युद्धग्रस्त क्षेत्रबाट तामाङको शव नेपाल पठाउने व्यवस्था दूतावासले अझै मिलाउन सकेको छैन ।

***

पछिल्लो समय पञ्चमाया राई र दुर्गा विकले आफूहरू सिरियामा बन्धक बनाइएको भन्दै एजेन्टमार्फत दूतावासमा जानकारी पठाएपछि उनीहरूकोउद्धारको पहल सुरु भएको दूतावासले जनाएको छ ।

उल्लिखित ३ घटनाले पुष्टि गर्छ– द्वन्द्वग्रस्त सिरियामा थुप्रै संख्यामा नेपाली युवती कामको खोजीमा पुगेका छन् । उनीहरूको संख्या कति छ, कस्तो हालतमा छन् र के गरिरहेका छन् भन्ने विवरण भने कसैसँग छैन । द्वन्द्वका क्रममा हजारौं सिरियालीको मृत्यु भएको स्थितिमा त्यहाँ रहेका नेपालीको अवस्थाबारे सरकार बेखबर छ । तेजी र मायाको मृत्युको खबरपछि भने दूतावासले सम्पर्कसूत्रमार्फत सिरियामा रहेका नेपालीबारे खोजी सुरु गरिएको जनाएको छ ।

द्वन्द्वग्रस्त क्षेत्रमा नेपाली रहेको जानकारी आएपछि थप बुझ्ने प्रयास भइरहेको इजिप्टस्थित राजदूत झविन्द्र अर्यालले टेलिफोनमा जानकारी दिए । ‘त्यहाँ सम्पर्क व्यक्ति चयन गरी नेपालीहरूको संख्या यकिन गर्ने काम भइरहेको छ । कति छन् भन्ने सरकारलाई जानकारी छैन,’ उनले भने ।
सरकारले सिरिया वैध रूपमा जान प्रतिबन्ध लगाएको छ ।

‘मानव तस्करहरूले अवैध रूपमा विभिन्न बहाना मिलाएर घरेलु कामदार सिरिया पुर्‍याउने गरेका छन्,’ राजदूत अर्यालले भने, ‘यसलाई रोक्न सरकारले थप प्रयास गर्नु आवश्यक छ ।’ सिरिया मात्र होइन, लेबनान र अन्य अफ्रिकी मुलुकमा समेत नेपाली युवतीहरू घरेलु कामदारका रूपमा पुर्‍याइएको उनले बताए । ‘घरेलु कामबाहेक अन्य क्षेत्रमा नेपाली छैनन्,’ उनले भने ।

सम्पर्कसूत्रमार्फत आएका सूचनाहरूका आधारमा दूतावासले त्यहाँ ५ सयभन्दा बढी नेपाली युवती घरेलु कामदारका रूपमा कार्यरत रहेको आकलन गरेको छ । मानव तस्करको प्रलोभनमा परेर सिरिया पुग्ने क्रम अझै नरोकिएको जानकारी दूतावासले परराष्ट्र मन्त्रालयलाई गराएको छ ।
सात वर्षदेखि चर्केको गृहयुद्धले सिरियाको जनजीवन तहसनहस छ । प्राकृतिक स्रोतको खानी रहेको उक्त मुलुकमाथि शक्तिराष्ट्रहरूको समेत चासो छ जसले द्वन्द्व झन्झन् चर्काउन सहयोग पुर्‍याइरहेको छ । त्यहाँ सन् २०११ मा लोकतन्त्र समर्थकहरूले संघर्ष थालेका थिए । इजिप्ट र ट्युनिसियामा लोकतन्त्र समर्थक आन्दोलनकारीले सत्तापलट गरेपछि त्यही ‘अरब स्प्रिङ’ आन्दोलन सिरिया पुगेको हो ।

सिरियाली शासक बसार अल असदलाई सत्ताच्युत गर्दै लोकतान्त्रिक सरकार बनाउन सुरु भएको आन्दोलनले गृहयुद्धको रूप लिएको छ । युद्ध रोकिएको छैन तर नेपाली त्यहाँ पुग्ने क्रम पनि रोकिएको छैन ।

सरकारविरोधी प्रदर्शनकारीलाई अमेरिका र केही युरोपेली मुलुकको समेत समर्थन रहेको बताइन्छ । खाडीकै सुन्नी बाहुल मुलुकको पनि आन्दोलनकारीलाई समर्थन छ । सिरियामा अल्पमतमा रहेका सिया समुदायका शासक असदको सरकारलाई सिया बहुलको समर्थन छ भने रुसले पनि असदलाई नै साथ दिइरहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।

यसरी शक्तिसंघर्षको मारमा परिरहेका छन् सिरियाली । आन्तरिक द्वन्द्वमा वैदेशिक साथ र समर्थनले मुलुक दुई कित्तामा विभाजित हुँदा युद्ध हिंस्रक र अमानवीय बन्दै छ । असदले विपक्षीमाथि रासायनिक आक्रमणसमेत गरेको आरोप आन्दोलनकारीको छ ।

सूत्रका अनुसार अधिक द्वन्द्वग्रस्त क्षेत्रमा समेत नेपाली युवती घरायसी काममा कार्यरत छन् । उनीहरू नेपालमा सम्पर्कसमेत गर्न नसक्ने बन्दीको हालतमा रहेको जानकारी दूतावासले पाएको छ । ‘अधिकांश २० देखि ३० वर्ष उमेरका छन्, केही खाडी मुलुकबाट धेरै कमाउने लोभमा पुगेकाहरू अलि बढी उमेरका पनि छन्,’ सम्पर्कसूत्रले दूतावासलाई जानकारी दिएको छ ।

मानव तस्करहरूले नेपाली युवतीलाई दिल्ली, मुम्बई, दुबई, थाइल्यान्ड, मलेसिया, सिंगापुर हुँदै सिरिया पुर्‍याउने गरेको जनाइएको छ । कतिपयलाई भने दुबई पुर्‍याएर त्यहाँबाट गाडीमा विभिन्न स्थान हँुदै सिरिया पुर्‍याइएको जानकारी दूतावासलाई दिइएको छ ।

सिरियामा नेपालीहरूको औपचारिक सम्पर्कसूत्र नभएकाले खोजीमा समस्या भएको अर्यालले बताए । पछिल्लो समय सिरिया, लेबनानलगायत मुुलुक पुर्‍याएर घरमालिक वा कसैसँग विवाह गराउने र नेपालमा सम्पर्कसमेत गर्न नदिने, पारिश्रमिकसमेत नदिई शोषण गरिएको सूचनासमेत दूतावासमा आएको छ ।

सिरियाको गुटा क्षेत्रनजिक पनि नेपालीहरू रहेको अनुमान छ, जहाँ हिंसा तीव्र रूपमा जारी छ । गत सोमबार त्यहाँ पुगेका राष्ट्रसंघीय सहायताकर्मीसमेत सहायता वितरण रोकेर फर्केका थिए । त्यस क्षेत्रमा नेपाली रहेको जानकारी आएकाले ती निकायमार्फत निगरानी बढाउने पहल नेपालले गरिरहेको बताइएको छ ।

सिरियामा हिंसाको त्रास अझै रोकिएको छैन । न्यूनतम आवश्यकताको समेत अभाव भएर स्थानीय नागरिक नै मर्कामा रहेको अवस्थामा बाहिरी देशका नागरिक रोजगारीका लागि त्यहाँ पुग्नु आश्चर्यजनक छ । पछिल्लो समय रुसी र सिरियाली सेनाले गरेको हमलाका कारण चेपुवामा परेका नागरिकलाई कुनै सहायता सामग्री उपलब्ध गराउन नसकिएको राष्ट्रसंघले बताइरहेको छ ।

मानव अधिकारका लागि राष्ट्रसंघीय उच्च आयुक्त जेइड राअड अल हुसेनले गुटामा दसौं हजार नागरिक गत पाँच वर्षयता चेपुवामा परेको बताएकी थिइन् । पछिल्लो समय गुटामा १ सय ७० बालबालिकासहित ७ सय ६० सर्वसाधारण मारिएका सञ्चार माध्यमले जनाएका छन् । त्यहाँ नेपाली परे/नपरेको जानकारी पाउन सक्ने अवस्था नरहेको दूतावासका अधिकारीले बताए । कान्तिपुरबाट