के तपाई लाइ थाहा थियो घरबाट मिल्काउनै पर्ने ०९ चिजबिज


तपाईंले गरेको मिहिनेत र श्रमको मुख्य अर्थ के हो त ? यसको मुख्य अर्थ हो, तपार्इंको जीवनमा सुखसुविधा जुटाउनु र शान्तिपूर्ण जीवन यापन गर्नु । तपार्इंले जति परिश्रम र दौडधूप गर्दै हुनुहुन्छ वा जति चिन्तना र तर्कना गर्दै हुनुहुन्छ, यसको एउटै मात्र उद्देश्य हो, सहज र सरल ढंगले जीवनयापन गर्नु । भोगविलासपूर्ण जीवन र सांसारिक सुखसुविधाका लागि नभई नहुने वस्तु हो, धन अनि रुपैंयापैसा । वास्तुशास्त्रमा बताइएबमोजिम हाम्रो आवासस्थलमा केही यस्ता नकारात्मक वस्तुहरू हुन्छन्, जसका कारण हाम्रो आर्थिक अवस्थामा स्थिरता र दृढता आउन सक्दैन र धनसम्पत्तिको अभावमा किसिमकिसिमका तनाव र झमेला आइरहेको हुन्छ । परिणामतः आम्दानीका मार्गमा अवरोध सिर्जना हुनु तथा आयका तुलनामा अत्यधिक खर्च हुनुले तपाईंले लिनु भएको आशा र इच्छामाथि वज्रपात हुनपुग्छ, मन निराश हुन्छ अनि मनमस्तिष्क गलेपछि उन्नतिप्रगतिका अन्य बाटाहरू पनि समात्न चाहनुहुन्न र जीवन नै अन्धकारमय देखिन थाल्दछ । अक्सर हाम्रो घर वरिपरि देखा परिरहने ती नौवटा चिजबिज वा वस्तुहरू के हुन् त ?, तिनको जानकारी प्राप्त गरी तिनलाई आफ्नो घर र परिवेशबाट टाढा हुत्याउने प्रयास गर्नुपर्छ र आफ्नो सुन्दर सपनामा तुन्नुभएको स्वर्णिम भविष्यतर्फ आफ्नो घरसंसारलाई लिई जाने प्रयास गर्नुपर्छ ।

१ – चराचुरुङ्गीको गुँड

पहिलेपहिले हाम्रो आजीविकाको मुख्य माध्यम कृषिवृत्ति थियो, अनि हामी पशु पाल्थ्यौं र पन्छी पाल्थ्यौं, ती हाम्रा अभिन्न मित्र र अङ्गवत थिए । त्यसैले घर वरपर चराचुरुङ्गीका गुँड देखियो भने हामी लोभिन्छौं, जुन स्वाभाविक पनि हो । तर वास्तुशास्त्रले पशु र पन्छीको व्यवस्थापनका लागि छुट्टै आवासगृह (खोर, गोठ वा छाप्रो) को व्यवस्था गरेको छ, जबकि मानिस बस्ने घरसँगै चराचुरुङ्गी र पशुहरूको निवासस्थल हुनु राम्रो मान्दैन । हिजोआज पनि गाउँघरमा छुट्टै ठाउँमा व्यवस्थापन गरिएका पशुपन्छीको मोह हामीमा यथावत् विद्यमान छ, त्यसैले अहिले हामी सहरी परिवेशमा बस्छौं अनि स्थान थोरै छ, स्थानको अभावमा घरमैं परेवाको गुँड बनाइदिन्छौं, गाईबाख्राको कटेरो जोडेर बनाउने गर्दछौं । तर यसो गर्नु वास्तुशास्त्रको सिद्धान्तविपरीत हुन्छ । त्यसमाथि चराचुरुङ्गीको गुँड अझ त्यसमाथि रुपी, गौंथली, परेवा आदिको खोर आवासस्थलमा हुनु राम्रो मानिदैंन । यदि तपाईंको घरमा त्यस्तो अवस्था छ भने त्यसलाई आवासगृहभन्दा अलग्ग बनाएर व्यवस्थापन गर्नु वाञ्छनीय हुनेछ । चराचुरुङ्गीको गुँड घरबाट हटाउँदा वा मिल्काउँदा त्यसमा साना बचेरा वा अण्डा त छैनन् राम्ररी हेर्नुपर्छ, त्यस्तो परिस्थिति छ भने बचेरा उड्न सक्ने नहोउन्जेल त्यो गुँड नहटाउनु राम्रो हुन्छ ।

२ – माकुरोको जालो

घरमा माकुराले जालो बुन्नु भनेको तपाईंले घरको सरसफाइमा ध्यान पुर्याउन नसकेको अवस्था हो । स्वास्थ्यका दृष्टिकोणले शयनकक्ष वा घरको कुनै पनि भागमा माकुराले जालो लगाउनु भनेको तपाईं र तपाईंका परिवारका सदस्यको कमजोर स्वास्थ्यस्थितिको प्रतीक हो । वास्तुशास्त्रका आधारमा पनि माकुरोले घरमा जालो लगाएको स्थिति छ भने त्यस घरमा कुवेर र लक्ष्मीको निवास हुन सक्दैन, रुपैंयापैसा र धनसम्पत्तिका विषयमा चिन्तित भइरहनु पर्ने परिस्थिति सिर्जना हुन्छ र पारिवारिक जीवन धनको अभावमा कलहमय, अशान्त र निराशामय हुने सम्भावना हुन्छ । त्यसैले घर, कोठा र विशेषगरी शयनकक्षमा माकुरोको जालो हुनु राम्रो होइन ।

३ – मौरी, बारुलो वा अरिङ्गालको घार

एकातिर हाम्रो धर्मशास्त्र र स्वास्थ्यविज्ञानले मौरीको महलाई अत्यन्त उत्तम मान्दछ, त्यसको ठूलो महत्त्व छ, तर वास्तुशास्त्रले मौरी, बारुलो वा अरिङ्गालको घारलाई घरभित्र हुनुहुँदैन भनी उल्लेख गरेको छ । घरभित्र मौरी, बारुलो वा अरिङ्गालको घार भएमा त्यस घरका युवा उमेरका सदस्यहरूको उन्नतिको मार्गमा अनेकानेक अवरोध र कठिनाइ सिर्जना भइरहेको हुन्छ । त्यसैले मौरी पाल्ने सोख हुनेहरूले घरबाहिर कतै सुरक्षित ठाउँमा घार वा डुँड राख्ने व्यवस्था गरी पालनपोषण गर्नु राम्रो हुन्छ, तर घरैमा मौरी, बारुलो वा अरिङ्गालको घार रहनु राम्रो होइन ।

४ – चमेरो

चमेरोलाई दुर्भाग्यकारक मान्ने गरिन्छ । तपाईंको आवासगृहमा चमेरो बस्दछ, आउनेजाने गर्दछ वा त्यसको गुँड छ भने तपाईंका दुःख र कष्ट दिनहरू बाँकी नै रहेछन् भन्ने बुझे हुन्छ । चमेरोको उपस्थितिले दुःख, कष्ट र दुर्भाग्यलाई निम्त्याउने गर्दछ ।

५ – फुटेको काँच, ऐना वा सिसा

कतिपय प्रसङ्गमा फुटेको वा चर्केको सिसा वा काँचमा दुर्भाग्य बसेको हुन्छ भन्ने गरिन्छ । विज्ञानले पनि फुटेको र चर्केको काँचमा नकारात्मक उर्जालाई आकर्षण गर्ने विशेष सामर्थ्य हुन्छ भनेर व्याख्या गरेको छ । अझ तन्त्रमन्त्रको नकारात्मक प्रयोग गर्न यसको प्रयोग हुने गर्दछ । त्यसैले त्यस्तो वस्तुले तपाईंलाई नकारात्मक र हानिकारक सोच, चिन्तन र ऊर्जा प्रदान गर्दछ । यसले तपाईंको भाग्यको मार्गलाई अवरोध गर्नेमात्र होइन, तपाईंमा मानसिक समस्या र डिप्रेसन समेत उत्पन्न गर्ने सम्भावना हुन्छ । त्यसैले कुनै कारणले काँचका चिजबिजहरू फुटे भने तिनलाई यथाशीघ्र सुरक्षिततवरले घरबाहिर लगी व्यवस्थापन गर्नु राम्रो हुन्छ ।

६ – रसाउने र चुहुने पाइपलाइन वा धारा

घरमा रसाउने वा चुहुने धारा, टुटी वा पाइप हुनु तपार्इंको आर्थिक विचलनको द्योतन हो । कुनै किसिमले घरमा जडान गरिएको धारो, पाइपलाइन वा धाराको टुटीबाट पानी रसाउँछ वा लिक हुन्छ भने तपाईंको धनसम्पत्तिको अवस्थितिले पनि लिक हुने बाटो समात्यो भन्ने ठाने हुन्छ । जुन घरमा यस्तो अवस्था छ, मूलधन सकिन अब धेरै समय लाग्दैन भन्ने मान्दा हुन्छ । त्यसैले पानीको पाइप वा धारामा चुहावट छ भने सबै काम छाडेर त्यसलाई यथोचित उपचार गरिहाल्नु राम्रो हुन्छ ।

७ – बासी र ओइलाएका फूल

तपाईंले के बुझ्नु आवश्यक छ भने घरभित्र बासी वा ओइलाएका फूल कहिल्यै पनि राख्नु हुँदैन । अझ यसरी ओइलाएका र बासी अवस्थाका फूलको प्रयोग गरी देवता र पितृहरूको पूजाआजा त बिर्सेर पनि गर्नु हुँदैन । बासी र ओइलाएका फूल घरभित्र रहेको अवस्थामा त्यस घरमा विपत्ति, शोक र रोगले सदैव निवास गरिरहन्छ भन्ने वास्तुशास्त्रको सिद्धान्त छ ।

८ – अशुभ समयका चिजबिज

जुठो, सूतक वा बरखी बार्दा चलाएका चिजबिजहरू जस्तै छाता, जुत्ता, लताकपडा आदि घरमा राख्नु राम्रो होइन, त्यस्तो चिजबिज छ भने तुरुन्त आवश्यकता भएका दिनदुःखीलाई दान गरिदिनु राम्रो हुन्छ । अन्यथा त्यस्ता चिजबिज नदीमा लगेर सेलाई दिनुपर्छ ।

९ – भाँचिएका, बिग्रिएका वा मर्किएका फर्निचर र उपकरणहरू

घरमा तपाईं सुत्ने खाट वा पलङ, उपयोग गरिने कुर्सी, टेबल, बिग्रिएका रेडियो, घडी वा अन्य उपकरण आदिले पनि आर्थिक पक्षलाई सन्तुलित हुन दिंदैन । त्यसैले त्यस्ता चिजबिज आवश्यक छ भने तुरुन्त मरम्मत गरिहाल्नु पर्छ, अन्यथा घरबाट हटाउनु बेस हुनेछ ।

आज हामीले वास्तुशास्त्रले निर्देशन गरेका सामान्य व्यवहारिक नियमहरूको चर्चा गर्यौं । यदि तपाईं पनि अत्यन्त मिहिनेत र कर्मठताका साथमा व्यवसायमा दत्तचित्त भएर लागिपर्नु भएको छ, वा पेसामा आबद्ध हुनुहुन्छ, तर पनि पारिवारिक शान्तिको अभाव छ, ऋणभार बढ्दै गइरहेको छ, निराशाको अन्त्य हुने अवस्था कहिल्यै देखा पर्दैन भने एक पटक घरमा माथि उल्लेख गरिएका चिजबिज त छैनन् । राम्ररी छानबिन गरी तिनलाई हटाउने प्रयास गर्नुहोला । अवश्यमेव तपाईंका निराशा र असन्तुष्टिको समापन हुनेछ ।

ज्योतिष कृष्णप्रसाद कोइरालाद्रारा लिखित राशिफल र साथमा बिबिध जानकारीको सम्पर्क नम्बर ९८५२०५९७६४/९८१४३४८१११  www.jyotishsathi.com