पाकिस्तान बालिका हत्या प्रकरण : जैनब अन्सारीको हत्यारालाई मृत्युदण्ड

फाल्गुण ५ गते, शनिवार ,काठमाण्डौं – पाकिस्तानमा छ वर्षीय बालिका जैनब अन्सारीको बलात्कार तथा हत्याको अभियोग लागेका एक पुरूषलाई एउटा अदालतले मृत्युदण्डको सजाय दिएको छ। बलात्कार तथा हत्याको मुद्दाको सुनुवाइ हुनेबेला अदालत वरपर सुरक्षा व्यवस्था कडा तुल्याइएको थियो। अदालतमा बालिकाका पिता पनि उपस्थित थिए।

जैनब अन्सारीको मृत शरीर गत महिना लहोरदेखि दक्षिणपट्टी पर्ने कसुर नगरमा फोहरमैला फ्याँक्ने स्थानमा भेटिएपछि पाकिस्तानभर आक्रोश व्यक्त भएको थियो। २४ वर्षिय इमरान अलीले ती बालिकाको हत्या र बलात्कारमा आफू संलग्न रहेको स्वीकार गरेका थिए।

अलीले अन्य बालबालिकालाई पनि आफूले आक्रमण गरी हत्या गरेको स्वीकार गरेका थिए। पञ्जाब प्रान्तका मुख्यमन्त्री र प्रहरीले बालिका हत्याका अन्य घटनामा पनि अलीनै संलग्न रहेको बताएका छन्।

आलोचना
जैनबको घर नजिकै बसोबास गर्ने अलीलाई प्रहरीले ‘डीएनए’ प्रमाणको आधारमा पक्राउ गरेको थियो। जैनबको मृत शरीर फेला परेपछि कसुर नगरमा आक्रोशपूर्ण प्रदर्शनहरु भएका थिए। नगरबासीले बालबालिकाहरुको हत्या रोक्न सरकारले पर्याप्त कदम नचालेको भन्दै विरोध प्रदर्शन चर्काएका थिए।

अलीले विगत करिब एक वर्षअघिदेखि आपराधिक क्रियाकलाप गर्ने गरेको स्थानीयवासीको भनाइ छ। उनीहरुले अलीलाई ढिलो पक्राउ गरेको भन्दै प्रहरीको आलोचना गरेका छन्। न्यायाधिवक्ता एहतीशाम कादिर शाहले रोएटर्स समाचार संस्थालाई बताएअनुसार अन्य अपराधको कानूनी उपचारका लागि अलीविरुद्ध छिट्टै थप मुद्दाहरु दायर गरिने छ। अलीले अपराध कबुल गरेपछि उनका वकिल पछि हटेका थिए।

दवाब
अलीलाई अपहरण, बलात्कार, हत्या तथा आतंकवादको कसुरमा मृत्युदण्ड र अप्राकृतिक मैथुनको कसुरमा आजीवन कारावास र ठूलो जरिवाना सजाय सुनाइएको छ। उनले पुनरावेदन गर्न १५ दिनको समय पाउने छन्। जैनब र अन्य बालबालिकाको हत्याको अनुसन्धान गर्न प्रहरीमाथि तीव्र दवाब परेको थियो।

जैनब हराएपछि आफन्तले उनका अन्तिम क्रियाकलाप कैद भएको सीसीटीभी भिडिओ तस्वीर फेला पारेका थिए। एक पुरूषले ती बालिकालाई लिएर हिडिरहेको देखिने त्यो भिडिओको एक अंश सामाजिक सञ्जालमा धेरैले हेरेका थिए।
बीबीसी – दस्तावेज