साप्ताहिक राशिफल (माघ २८ देखि फाल्गुन ०५)


आगामी ७ दिनभित्रका चाडपर्व र उत्सव तथा शुभ मूहुर्त :–

२८ गते : विजया एकादशी व्रत, मूहुर्त : रुद्राभिषेक(रुद्रीपूजा), अग्निवास(होमादि), कलशचक्र,

२९ गते : देवघाटमा मकरस्नान र माघमेलाको समाप्ति, मूहुर्त : रुद्राभिषेक(रुद्रीपूजा), कलशचक्र,

०१ गते : फाल्गुन सङ्क्रान्ति, महाशिवरात्री, भौम प्रदोष व्रत, पिण्डेश्वर धाम (धरान, सुनसरी), हलेसी महादेव, पशुपतिनाथ लगायत समस्त शिवालय र शिवमन्दिरमा उत्सव, जात्रा, मेला आदि, शिलाचह्रेपूजा (नेवारी पर्व), मूहुर्त : रुद्राभिषेक(रुद्रीपूजा), अग्निवास(होमादि), कलशचक्र,

०२ गते : सहिद लखन थापा स्मृति दिवस, मूहुर्त : दैलो राख्ने, पुराणश्रवण,

०३ गते : अमावस्या, दर्शश्राद्ध, हलो तथा निशि बार्ने दिन, द्वापर युगादि, धनिष्ठा पञ्चक प्रारम्भ, मूहुर्त : अग्निवास(होमादि), दैलो राख्ने, पुराणश्रवण,

०४ गते : ग्याल्पो ल्होसार, मूहुर्त : अग्निवास(होमादि), चूडाकर्म(छेवर), कर्णवेध(कान छेड्ने), द्रव्यप्रयोग वा लगानी, डेरा सर्ने,

०५ गते : चन्द्रोदय, त्रिपुष्कर योग दिनको ११।०८ देखि मध्यरात्रीपछि ०४।०२ बजेसम्म, मूहुर्त : रुद्राभिषेक(रुद्रीपूजा), द्रव्यप्रयोग वा लगानी

साप्ताहिक राशिफल

(वि.सं. २०७४ माघ २८ गतेदेखि वि.सं. २०७४ फाल्गुन ०५ गतेसम्म)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –

भाग्यस्थानमा रहेको चन्द्रमाका साथमा तपाईंको यो साता प्रारम्भ भएको छ । त्यसैले इष्टमित्रले तपार्इंको प्रशंसा गर्नेछन् । परोपकारका क्षेत्रमा आकर्षण बढ्ने छ । अप्रत्याशित काम बन्ने योग छ । पारिवारिक जीवन सामान्य रहने छ । इच्छाएको जिम्मेबारी प्राप्त हुनसक्छ । तर खानपानमा खर्च गर्न मन हौसिन्छ । कर्मक्षेत्रमा पनि विशिष्ट फल प्राप्त हुने संकेत छ, खासगरी पशुपालक र दुग्धव्यवसायमा संलग्नहरूले मनग्ये लाभ प्राप्त गर्नेछन् । विशिष्ट व्यक्तिको सहयोग र सल्लाहले स्वास्थ्य र कर्मक्षेत्रमा सकारात्मक सङ्केत देखिने छ । घरपरिवारमा राम्रो छ । भाइबहिनी वा सन्ततिका तर्फबाट खुशीको खबर प्राप्त हुने छ । साथीभाइ र नातेदारबाट उपयोगी सल्लाह र सहयोग प्राप्त हुनेछ । शारीरिक प्रतिस्पर्धाका कामतिर मन जानेछ । त्यसैले यतिबेलाको समय विगतका कमीकमजोरी सम्झने समय होइन, आत्मबल र हिम्मत जुटाएर काम गर्ने समय हो । राज्यपक्षबाट लाभ प्राप्त हुनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –

तपाईंको राशिबाट आठौं भावमा रहेको चन्द्रमाको प्रभावका साथ साताको प्रारम्भ भएकाले त्यति सकारात्मक समय देखिंदैन, साताको प्रारम्भमा नै पाचन प्रणालीमा आएको खराबीले तपाईंलाई निराश तुल्याउन सक्छ । पारिवारिक समस्यालाई हल गर्न तल्लीन हुनुपर्ने छ । बौद्धिक र प्राज्ञिक क्षेत्रमा समेत खिन्नता बढ्नेछ । चिन्ता, शंका र छटपटीमा यो साता व्यतीत हुन बेर लाउँदैन । तर अत्तालिनु हुँदैन, मङ्गलबार भाग्यस्थानमा चन्द्रमाको प्रवेश हुँदैछ, हातमा अचानक सोच्दै नसोचेको धन प्राप्त हुनसक्छ । मित्रवर्ग र बन्धुवान्धवले राम्रो सहयोग प्रदान गर्नेछन् । कतिपय राम्रा अवसर प्राप्त गर्नुहुनेछ । आफन्त र मित्रहरूसँग भेटघाट र रमाइलो गरिने छ । उता साताको अन्त्यमा कर्मक्षेत्रमा चन्द्रमाको प्रवेश हुँदैछ, त्यसैले विभिन्न जिम्मेवारी निर्वाह गर्नुका साथै दौडधूप गर्नु पर्नेछ । यात्रा रमाइलो हुनेछ । साताको प्रारम्भको तुलनामा उत्तराद्र्ध असल छ । तर साताको प्रारम्भमा स्वास्थ्यमा अचानक सानो समस्या देखिन सक्छ । समग्रमा मिश्रित प्रभाव भएको साता छ, तर सुआफन्तहरूबाट भनेजस्तो सहयोग नपाइएला, तर काममा बाधा हुनेछैन ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –

मिथुन राशिका जातकहरुका लागि कतै रमाइलो र कतै नरमाइलो अर्थात् उतारचढावले युक्त रहने छ, यो साता । सुरुमा सातौं भावमा चन्द्रमाको प्रभाव रहने छ, , त्यसैले महत्त्वपूर्ण आर्थिक समस्याहरु निराकरण हुनेछन् । समय चुनौती र परीक्षणका रूपमा देखिएको भए पनि बन्दव्यापार र साझेदारीबाट राम्रो प्रतिफल प्राप्त हुनेछ । तर मंगलबारपछि हडबड र शीघ्रताले काम गर्ने प्रवृत्तिमा नियन्त्रण गर्नु राम्रो हुन्छ । साताको मध्यभागमा आठौं भावमा चन्द्रमा रहने छ, त्यसैले स्वास्थ्यमा गडबडी हुनसक्छ र दैनिक कामकाजमा समेत असर पर्नसक्छ । अनाहकमा अरुले गरेका गल्तीको सजाय पनि आफैंले भोग्नु पर्ने अवस्था आउला । बोलेको कुराले विपरीत अर्थ प्रदान गर्न सक्छ । नातागोताका माझमा खटपट बढ्ने संकेत छ । साताको अन्त्यमा भाग्यस्थानमा चन्द्रमा भए पनि आफू जिम्मेबार भएर अघि बढ्नु जायज हुनेछ, जीवनसाथी वा बालबच्चासँग कुराकानी गरी व्यवहारिक जानकारी लिनु असल हुनेछ । आफूमुनिका नातेदार वा बालबच्चासित राम्रो व्यवहार गर्नुहोला । इष्टमित्रको शुभकामना प्राप्त गर्न सकेमा शुभफल प्राप्त हुनेछ । समग्रमा साताको मध्यभागबाहेक अन्य समय अनुकूल नै रहने देखिन्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –

यो साता मिश्रित र तनावपूर्ण समय रहने छ, किनकि साताको प्रारम्भमा छैटौं घर अर्थात् लडाइँ, झगडा, वादविवाद र रोगसँग सम्बद्ध घरमा अनि साताको अन्त्यमा आठौं घर अर्थात् दुर्घटना र संकटसित सम्बन्धित घरमा चन्द्रमाको उपस्थिति हुनेछ । तर साताको मध्यभागमा मनोरञ्जन र रामरमाइलो प्रदान गर्ने सातौं घरमा चन्द्रमा रहने छ । त्यसैले सुरुमा पाचनप्रणाली र नसासम्बद्ध रोगले दुःख दिन सक्छ । दृष्टिशक्तिमा कमी आउन सक्छ । व्यवहारिक समस्याले अवरोध हुने सम्भावना हुन्छ । उता साताको अन्त्यमा स्वास्थ्यमा अचानक गडबडी हुने र सानोतिनो चोटपटक लाग्ने सम्भावना पनि हुनेछ । त्यसैले यो साता हातहतियार चलाउँदा, बाटो काट्दा र खानपान गर्दा अलि होस राख्नुपर्छ । तर साताको मध्यभाग अर्थात् मंगलबारदेखि बिहिबारसम्म शरीर फुर्तिलो हुनेछ, जोस र जाँगर बढ्नाले आम्दानीमा समेत बढोत्तरी हुनेछ । अभिभावकवर्गको आशीर्वाद प्राप्त हुनेछ । राम्रो समाचार सुन्न पाउनु हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –

बुद्धिक्षेत्रमा रहेको चन्द्रमाका साथमा यो साताको प्रारम्भ हुँदैछ । घरपरिवारमा खुसीको वातावरण सिर्जना हुनेछ । आत्मविश्वास र शीघ्र निर्णय गर्ने क्षमता अभिवृद्धि हुनेछ । रोकिएका काम सम्पादन हुनेछन् । पढाइमा पनि राम्रै प्रगति हुनेछ । कसैलाई ज्ञान र अर्ति दिनुभयो उसले लाभ पाउने छ । साताको अन्त्यमा दूरदर्शिताको सर्वत्र चर्चा हुनेछ । मायाप्रेम र भावनात्मक क्रियाकलापमा समय व्यतीत हुनेछ । विपरीतलिङ्गी सहयात्रीबाट प्राप्त सल्लाहबाट गरिएको कामबाट फाइदा हुनेछ । सन्तानपक्षको राम्रो माया मिल्नेछ । तिनीहरुका उन्नतिप्रगतिका समाचार सुन्न पाउनाले मन हर्षित र आनन्दित बन्ने छ । साताको मध्यभागमा भने छैटौं भावअर्थात् रोगसँग सम्बन्धित घरमा चन्द्रमा रहने भएकाले खानपान र आहारविहारमा विशेष ध्यान पुर्याउनु वाञ्छनीय हुनेछ । उक्त अवधिमा प्रतिस्पर्धीहरूले औंला ठड्याउने अवसर पाउने छन् । त्यसैले आफूले नडराई र नबिराइकन काम गर्नुपर्ने परिस्थिति छ । खासगरी मंगलबारदेखि बिहीबारसम्म आमाको स्वास्थ्यप्रति पनि सचेत रहनु राम्रो हुन्छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –

सुरुमा घरपरिवारमा ध्यान दिनुपर्ने समय चल्दैछ, चौथो भावमा चन्द्रमा छ, त्यसैले घरायसी समस्याहरु उत्पन्न हुन सक्छन् । घरायसी समस्याका कारण दौडधूप गर्नुपर्ने परिस्थिति बन्नसक्छ । कामधन्दा र पारिवारिक समस्यामा केन्द्रित हुनुपर्ने भएकाले साथीभाइलाई समय दिन वा बन्दव्यापारका लागि फुर्सद निकाल्न सकिंदैन । सामाजिक र परोपकारका मार्गमा अवरोध हुनेछ । मङ्गलबारपछि उताको समय राम्रो छ, बुद्धिक्षेत्रमा चन्द्रमाको प्रवेश हुनेछ, कल्पना र भावुकतामा रमाउँदा रमाउँदै समय गएको पत्तो पाउनुहुन्न । छोराछोरीबाट सन्तोष प्राप्त हुनेछ । आफैंले गरेको निर्णयबाट लाभ प्राप्त हुने छ । साताको अन्त्यमा भोगविलासमा आकर्षण बढ्न सक्छ, विलासिता र मनोरञ्जनका लागि समय र धन खर्च हुनसक्छ । तर छैटौं भावमा चन्द्रमा रहने भएकाले आमा वा मामाको स्वास्थ्यमा नकारात्मक असर पर्न सक्छ । यस अवधिमा तर्क, विवाद र झैझगडाबाट टाढा रहनु राम्रो हो ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –

पराक्रम र प्रसिद्धि बढाउने साता छ । तेस्रो घरमा रहेको चन्द्रमाका साथमा साताको प्रारम्भ भएको छ भने पाँचौं अर्थात् बुद्धिक्षेत्रमा चन्द्रमाको प्रवेश हुँदा साताको समाप्ति हुनेछ । पठनपाठन र बौद्धिक गतिविधिका कारण मानसम्मान र प्रतिष्ठामा बढोत्तरी हुनेछ । दीर्घकालिक योजनालाई मूर्त बनाउन चिन्तन महत्त्वपूर्ण बन्न सक्छ । अध्ययन, अध्यापन र लेखनकार्यमा उच्च सफलता प्राप्त हुने छ । व्यावहारिक र प्राविधिक काममा विशेष सफलता प्राप्त हुने समय छ । बौद्धिक क्रियाकलापप्रति झुकाव बढ्ने छ । भाइबहिनी र छोराछोरीले सहयोग गर्नेछन् । साताको मध्यभागमा चौथो भावमा चन्द्रमा रहने भएकाले घरगृहस्थीमा धेरै समय खर्चनु पर्नेछ । वैदेशिक रोजगारी गर्नेेहरूले घरायसी कुरा सम्झेर समय बिताउने छन् । आकस्मिक रूपमा स्वास्थ्यमा सानोतिनो समस्या पनि आउनसक्छ, सचेत हुनुपर्छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –

यो साता तपाईंले कुनै नयाँ ठाउँमा निवेश र लगानीको वातावरण बनाउने समय छ । नातेदार र कुटुम्बले काममा सहयोग गर्नेछन् । प्रतियोगितात्मक क्रियाकलापमा सफल हुनुहुने छ । मित्रशक्ति र कुटुम्बबाट साथसहयोग पाइने छ । कृषि र पशुपालनका कार्यतिर मन आकर्षित बन्नेछ । शारीरिक परिश्रम गर्ने समय हो, यस साताको । तर साताको अन्त्यमा साथीहरूसित मनोरञ्जनको अवसर जुर्नेछ । व्यापार गर्नेले यो साता सोचेजस्तै लाभ लिन सक्नेछन् । कतै आर्थिक लगानी गर्नुपर्ने हुनसक्छ । साताको अन्त्यमा घरायसी कामधन्दा र पारिवारिक आवश्यकता पूर्तिका लागि खट्नु पर्ने छ । छरछिमेकमा कसैसँग व्यर्थमा वादविवाद हुनसक्छ, त्यसैले शुक्रबार र शनिबार तपाईंले बोल्दै नबोलेको जाति हुन्छ । प्रेमसम्बन्ध र रतिरागका कारण निराशा भोग्नु पर्ने समय छ भने सन्तानपक्षमा पनि समय र लगानी बढाउनु पर्ने समय चल्दैछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –

यो साता तपाईंको राशिबाट पहिलो, दोस्रो र तेस्रो घरमा चन्द्रमाले भ्रमण गर्ने भएकाले राम्रो समय छ, त्यसैले काम गर्न जाँगर चल्नेछ । प्रेमको बन्धनमा बाँधिने बेला छ । आम्दानीमा कमी हुने छैन । शुभ समाचार प्राप्त हुनाले मन फुरुङ्ग हुनेछ । समयलाई उपयोग गर्नसके राम्रो फाइदा लिन सकिने छ । उत्साहवर्द्धक समय छ । कतै रमाइलो यात्रामा निस्कन सक्नुहुन्छ । आतिथ्यपूर्ण सम्मान र मिठो भोजनको प्राप्ति हुनेछ । व्यवसाय र पेसाबाट राम्रै प्रतिफल प्राप्त हुनेछ, चिताएभन्दा बढी कमाउने योग छ । समय राम्रो छ । सामाजिक काममा संलग्न हुनुपर्ला । धार्मिक वा सामाजिक सेवाका काममा प्रशंसित हुने अवसर प्राप्त हुनेछ । दाजुभाइ वा नजिकका मित्रबाट विशेष सहयोग र सुख प्राप्त हुने देखिन्छ । त्यसैले यो साता उत्तम समय छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –

तपाईंको राशिबाट बाह्रौं भावमा चन्द्रमा रहेका वेलामा साताको प्रारम्भ भएको छ, त्यसैले खर्चबर्चलाई व्यवस्थित तुल्याउन तपाईंले निकै खट्नु पर्ने समय हो, यो साता । बन्दव्यापार र व्यवसायमा समय दिन सकिंदैन र सोचेबमोजिम काम नबन्न सक्छ । धैर्यले संयमताका साथमा काम लिने समय छ । उता छर–छिमेकमा वा परिवारकै सदस्यका बीचमा असमझदारी बढ्ने योग छ । प्रतियोगिता र प्रतिस्पर्धामा पनि त्यति राम्रो संकेत छैन, तर मङ्गलबार आफ्नै राशिमा चन्द्रमाको प्रवेश हुँदैछ , त्यसपछिको समय सकारात्मक रहने छ । कुनै नयाँ उद्योगधन्दा वा व्यवसायको थालनी गरेमा व्यवहारिक रूपमा फाइदा पुग्नेछ । उपलब्धीमूलक यात्रा हुने योग छ, संयमता र धैर्यतालाई त्याग्नु हुँदैन । घरायसी मामिलामा समय दिन नसक्नाले केही केही धमिलोपन आउन सक्छ । साताको अन्त्यमा सम्पति प्राप्त गर्ने सम्भावना छ । पारिवारिक जीवन संतोषप्रद हुनेछ । साझेदार वा सहयोगीको सङ्गतले लाभ प्राप्त हुने सम्भावना छ । व्यस्त समयचर्या कायम हुनेछ । परदेश वा विदेशबाट राम्रो समाचार प्राप्त हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –

साताको प्रारम्भ र अन्त्य अत्यन्त सकारात्मक रहने छ भने साताको मध्यभागमा खर्चबर्चलाई व्यवस्थित तुल्याउन निकै दौडधूप गर्नुपर्ने समय चल्दैछ । साताको प्रारम्भमा विगतमा भएका राम्रा क्रियाकलापको स्मरण हुनेछ । मेवा मिष्टान्न र परिकार मिल्नेछ, राज्यपक्षबाट वा सरकारी कामबाट फाइदा हुनेछ । भाइबहिनीका तर्फबाट खुसीको खबर प्राप्त हुने वा तिनका उन्नतिप्रगतिको अवसर सिर्जना हुने समय छ । मङ्गलबारपछि बिहीबारसम्म बाह्रौं भावमा चन्द्रमा रहने छ, उक्त समय अनुकूल हुनेछैन । सुखी जीवन व्यतीत गर्न मन लालायित हुनेछ । भोगविलास र शृङ्गारिक सामाग्री खरिद गर्न धन खर्च हुनेछ । उता अभिभावक वर्गसँगको सम्बन्धमा तिक्तता आउन सक्छ । घुमघाम र मनोरञ्जनका क्रममा निराशा भोग्नु पर्छ । बिहीबारपछि तपाईंको राशिमा चन्द्रमाले प्रवेश गर्नेछ, नियमित तथा दैनिक कामधन्धा र व्यवसायबाट राम्रो फाइदा हुनेछ । गुमेको वा सापटीमा गएको धन फिर्ता आउनेछ । बौद्धिक र प्राज्ञिक क्षेत्रमा राम्रो छ । तर त्यसवेलामा क्रोध, प्रतिशोध, रिसराग र उत्तेजना माथि नियन्त्रण गर्नु राम्रो हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –

यो साता कर्मक्षेत्रमा रहेको चन्द्रमाका साथमा साताको प्रारम्भ भएको छ । मातापिताको स्वास्थ्यमा सुधार आउने छ । लामो दूरीको लाभदायक यात्राको सम्भावना देखिंदैछ । सामाजिक र पारिवारिक सम्बन्ध सुदृढ हुनेछ । प्रतिस्पर्धी परास्त हुनेछन् । आम्दानी बढ्नेछ । सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ । भेटघाट र मनोरञ्जनमा समय व्यतीत हुनेछ । छोराछोरीको स्वास्थ्य एवं पढाइप्रति जिम्मेवारी बोध हुनेछ । समाजमा बुद्धिको प्रशंसा हुनेछ । घरपरिवार र नातेदारमा सुमधुर सम्बन्ध कायम हुनेछ । तर साताको अन्त्य अनुकूल छैन, बाह्रौं भावमा चन्द्रमा जाने भएकाले खर्चको मात्रा ह्वात्तै बढ्नसक्छ । उता साताको प्रारम्भमा गरिएका प्रशासनिक कामहरुबाट झैझमेला वा आरोप व्यहोर्नु पर्ने परिस्थिति बन्नसक्छ । त्यसैले सुरुमा काम गर्दा निकै सचेत र होसियार हुनु राम्रो हो । प्रेम सम्बन्धमा तिक्तता आउने योग छ । साताको अन्त्यमा लामो दूरीको यात्रा पनि हानीकारक बन्नसक्छ, अतः कतै लामो यात्राको योजना छ भने बिहीबारअघि नै राम्रो हुनेछ ।

ज्योतिष कृष्णप्रसाद कोइरालाद्रारा लिखित राशिफल र साथमा बिबिध जानकारीको सम्पर्क नम्बर ९८५२०५९७६४/९८१४३४८१११  www.jyotishsathi.com