कथा : “नर्स,इन्जिनियर र विवाह” (भाग-१)

“बाबू,भेषनारायणले केटिको फोटो पठाए होलान्।हेरिस होला नि?”,बुबाले फोनमा भन्नू भयो।

“हेरिसके बुबा”,मैले भने।

“केटि कस्ति लाग्यो त तलाई बाबु?”,बुबाले थप्नुभयो,”मैले थाहा पाए सम्म,केटि सुशील स्वभावकी छिन रे।हामीलाई पनि त्यस्तै बुहारी चाहिएको थियो!”

“म अहिले काममा व्यस्त छु।यस विषयमा साझँ कुरा गर्छु बुबा”,यति भनिसकेपछि फोन काटिदिए।खासमा त्यो दिन अफिस अफ थियो।काममा व्यस्त छु भन्नू बिल्कुल झुट थियो।फोन काटिसकेपछि भने आफैलाई नरमाईलो लाग्यो।आफ्नै बा सङ्ग पनि बेक्कारमा झुटो बोलेको कुराले आत्मगलानी भयो।मन ज्यादै अमिलियो।

केटिका बारेमा भेषनारायण काका सङ्ग कुरा भैसकेको थियो। उनै भेषनारायण काकाले नै हो फेसबुकमा ती नर्स केटिको फोटो पठाएको।भर्खर भर्खर नर्सिङ्गमा स्नातक सकेकि उ,वीर अस्पतालमा नर्सको रुपमा कार्यरत रहिछे।बाह्य कुरामा धेरै ज्ञान नभए पनि आफ्ना नातागोता र इष्टमित्र भित्र कसकि छोरीको बिहे हुन बाकीँ छ,कसको छोरा बिहे गर्न बाकीँ छ भन्ने कुराको भेषनारायण काकालाई राम्रो सङ्ग ज्ञान थियो।उनकै अगुवाईमा हाम्रो नाता-गोता भित्र छ-सात वटा बिहे सम्पन्न भैसकेका थिए।

कम्प्युटर इन्जिनियरिङ्गमा मास्टर गरिसकेपछि ब्याङ्लोरमा एक सफ्टवयेर कम्पनिका लागि काम गर्न थालेको छ महिना मात्र भएको थियो।मेरो बिहेको लागि घरमा कुरा चलेको अहिले मात्र होइन विगत छ महिना अगाडि देखिनै चलिरहेको थियो,जतिबेला म मास्टर सकेर जबको खोजीमा भौतारीरहेको थिए।त्यतिबेला भने काममा नलाग्दै बिहेको कुरा नगर्नुस भनेर बुबा-आमालाई भनिसकेको थिए।तर यो पाली भने बुबा-आमाको वचनलाई नकार्न सकिरहेकै थिएन।

अझ एक-दुई वर्ष जति वैवाहिक बन्धनमा बाधिन फिटिक्कै मन थिएन।किनकी त्यसबखत म एउटा प्रेम सम्बन्धबाट निक्कै प्रताडित थिए।त्यो घाउ निको नहुदै अर्को जोखिम मोल्ने मुडमा थिएन म।यदि त्यो घाउ निको पार्ने कुनै औषधि उपचार हुन्थ्यो भने तत्काल डाक्टर कहाँ गएर उपचार गराईसकेको हुन्थे।ठिक पनि भैसक्थे होला।तर विडम्बना मनको घाउ-चोट सुल्झाउने कुनै विधि आविष्कारनै भएको थिएन।त्यो घाउ सुल्झिनै सकिरहेको थिएन।हरबखत पिरोलिरहन्थ्यो।तडपाईरहन्थ्यो।कथाको यतै कतै त्यो सम्बन्धका बारेमा चर्चा गर्ने नै छु।

त्यसैले होला बिहेको कुरा निक्लदा झर्को लाग्थ्यो।बुबा-आमा सङ्ग पनि झर्किरहेको हुन्थे बेला-बखत।म बौलाईसकेको थिए।के गर्ने कसो गर्ने थाहै थिएन।मानसिक तनावले चुचुरो चुमिसकेको थियो।मस्तिष्कमा अनेक कुराहरु खेलिरहन्थे।कहिले कसो त लाग्थ्यो मेरो अस्तित्वनै मेटिदिउ यो संसार बाट।उसै बखत मेरा सोझा बा-आमाको तस्वीर मेरा दुई नयन वरिपरि नाचिरहन्थे!

साझँ हुन लाग्दै थियो।झ्यालको पर्दा उघारेर खुला आकास नियाले।चुरोट सल्काए।जसरी कुनै सुन्दर युवती आफ्नो अघिल्तिर देखेर जवान युवा आत्तिन्छ त्यसरी नै आत्तिदै आत्तिदै चुरोटको धुवालाई फोक्सो सम्म पुग्नै नदिई उडाइरहे।बस उडाईरहे।त्यसै बखत माउ चराहरु आफ्ना बचेराका लागि खाना लिएर गुडँ तिर जाँदै गरेको एउटा सुन्दर दृश्य देख्न पुगे। आफ्ना सन्तानप्रती बुबा आमालाई कत्ती माया हुन्छ भन्ने कुराको सन्देश राम्रो सङ्ग प्रवाह गरिरहेको थियो त्यो खुला आकाशमा देखिएको दृश्यले।एक्कासी घरको यादले पो सताउन थाल्यो।नसताओस पनि किन,बुबा-आमालाई नदेखेको २ वर्ष न भएको थियो जो।मनमा ठूलो आधी-बेहरी आए जस्तो महसुस भयो।बर्खायाममा रसाएको मुल झै रसाए यी नयनहरु।उत्तिनै बेला घरमा फोन लगाए।फोन आमाले उठाउनुभयो।

“आमा,ढोग गरे..”

“चिरञ्जीवी भए बाबू”

“के गर्दै हुनुहुन्छ आमा?”

“के गर्नु बाबू।तेरा बालाई साझँको टायममा धेरै नहिड्नु भन्दा मान्दै मान्नुहुन्न।अहिले माथी चोक तिर निस्कनु भाछ।मैले भने भर्खर खाना-साना बनाएर टि.भि हेर्दै थिए।तेरो के हुँदै छ त बाबु!”

“म त कोठामै छु आमा।अब एकछिनमा बाहिर निस्कन्छु खाना खान।”

“अनि बाबू भेषनारायणले एउटी नानिको कुरा ल्याएका थिए।हामी बुढा-बुढिलाई त एकदमै राम्री लागिन उनि।तलाई पो कस्तो लाग्यो कुन्नी।”

“राम्रै छिन आमा।”मैले यति मात्र भने।

“ल बाबू अब ढिला नगरी बिहे गर्न पर्यो।२९ कटेर ३० बर्षमा टेक्न थालिस।पछि बूढो भएसी केटि नपाईएला नि बाबू”,आमाले ठट्टा मिश्रित लवजमा भन्नुभयो।

“आमा पनि मजाक गर्नुहुन्छ भन्या।अब गरम्ला नि बिहे।कति आत्तिनुभाको के?”

“आत्तिन पर्यो नि बुहारी हेर्नलाई।यहि ताल हो भने नाति खेलाउन पाईन्न कि क्या हो छोरा।बुढा भएका बा-आमाको कुरा मान न बाबु”,आमा भावुक बन्नु भयो।

“नाति-नातिनी दुवै खेलाउन पाउनुहुन्छ आमा।अब बिहेको लागि भेषनारायण काका सङ्ग छिट्टै कुरा राख्छु!”,आमाका लागि यति भन्न बाध्य भए म।

“ल बाबू,कुरा गरिहाल है छिट्टै।यस्ती राम्री स्वभावकि केटि भेटिन्नन् झट्ट”,आमाले खुशी हुँदै भन्नु भो।

आमा सङ्ग पन्ध्र-बीस मिनेटको लामो कुरा-कानी पछि सिधै भेषनारायण काका लाई फोन लगाए।आमा-बुबाकै खुशी लागि भेषनारायण काकालाई उहाँले फोटो पठाउनु भएको केटी मनपरेको कुरा अवगत गराए।उहाँले जति सक्दो चाडो सिधै काठमाडौ आउन आग्रह गर्नुभयो।म राजी भए।त्यो अवस्थामा मैले चालेको कदम मेरो लागि कुनै हालतमा खुशीको कुरा छ्दैँ थिएन।यो सब आमा-बुबाको खुशीका लागि थियो।…

क्रमश :

लेखक : समीर बेल्बासे