Friday , August 18 2017
Breaking News

अपडेट: कञ्चनपुरमा नेपाली र भारतीयबीच झडप, एसएसबीले गोली चलाउँदा एक नेपालीको मृत्यु

महेन्द्रनगर: कञ्चनपुरको पुर्नवास नगरपालिका–८ आनन्द बजार नजिकै निर्माण गरिएको कल्भर्टको विषयलाई लिएर विवाद चर्किएपछि नेपाल र भारतीय पक्षबीच झडप भएको छ।

झडपका क्रममा भारतीय सीमा सुरक्षा बल एसएसबीले चलाएको गोली लागेर घाइते भएका पुर्नवास नगरपालिका-८ का गोविन्द गौतमको उपचारका क्रममा कैलालीको धनगढीस्थित सिटी अस्पतालमा मृत्यु भएको अस्पतालका चिकित्क डा. चन्द्रप्रकाश पाण्डले जानकारी दिए। गाैतमलार्इ ढाडमा गोली लागेको थियो। अन्नपूर्ण पोष्टमा खबर छ ।

यस्तै, दुई पक्षबीच भइरहेको झडपका क्रममा प्रदर्शनकारीले हानेको ढुंगा लागेर सशस्त्र प्रहरी बल (एपीएफ)का प्रहरी निरीक्षक रामबहादुर खत्री पनि घाइते भएका छन्। आनन्द बजार नजिक नेपाली पक्षले एक महिनाअघि कल्भर्ट निर्माण गरेको थियो।

तर, भारतीय सीमा सुरक्षा बल एसएसबीले कल्भर्ट निर्माण गरिएको स्थान भारतमा पर्ने भन्दै अबरोध पुर्‍याउँदै आएको थियो। गुगल म्याचले कल्भर्ट निर्माण गरिएको ठाउँ भारतमा देखाएपछि भारतीय पक्ष त्यसको विरोधमा उत्रिएका थिए।

कल्भर्ट निर्माण भइसकेपछि नेपालीहरुले माटो भर्न खोज्दा एसएसबीले बल प्रयोग गरेपछि दुई पक्षबीच झडप भएको हो। झडपका कारण अहिलेपनि त्यहाँको अवस्था तनावग्रस्त रहेको छ।

Leave a Reply