पूर्वराजा ज्ञानेन्द्र शाहलाई भारतमा राजसिंहासनमा राखिँदै

पूर्व राजा भारत सवारी हुदा चल्यो नारा राजा आउ देश बचाऊ

राजाकै हैसियतमा निम्तो, राजकैरुपमा सम्मान !
काठमाडौँ: नेपालमा २०६२/०६३ सालमा भएको जनआन्दोलपछि झन्डै तीन शताब्दीसम्म शासन गरेको शाह वंशीय राजतन्त्र ढल्यो । शाह वंशका अन्तिम राजा बने ज्ञानेन्द्र शाह । शाह वंशीय शासन ढलेसँगै नेपालमा गणतन्त्र स्थापित भयो ।

गणतन्त्र आएसँगै ज्ञानेन्द्र शाह नारायणहिटीको राजसिंहासनबाट झरेर सामान्य नागरिकमा रुपान्तरण हुन पुगे । नेपालमा राजतन्त्रको अन्त्य भएको नै १२ वर्ष हुन लागिसकेको छ ।

यो १२ वर्षको अवधिमा ज्ञानेन्द्रले पटक पटक आफ्नो भूमिका खोजिरहेका छन् । उनले आफूले नारायणहिटी छोड्दा दलहरुसँग सम्झौता भएको प्रतिक्रिया दिँदै तर त्यसको पालना हुन नसकेको बताइसकेका छन् ।

यसको स्पष्ट अर्थ भनेको उनी अहिले पनि कुनै न कुनै भूमिकाको खोजीमा छन् । पछिल्लो पटक गत पुसमा उनी आफू सत्तमा हुन्जेल हेयको दृष्टिले हेरिएको नेपालगन्ज सहरमा झन्डै एक महिनासम्म बसेर काठमाडौँ फर्किए ।

त्यहाँ रहँदा उनी कट्टर हिन्दुवादी भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई भेट्न पुगे । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका भित्रिया मध्ये एक योगीसँगको भेटमा उनले नेपालमा हिन्दु राज्यदेखि राजतन्त्रबारे पनि छलफल गरे ।

योगीले त्यहाँ उनलाई हिन्दुराज्य फर्काउनका लागि आफ्नो भूमिका हुने आश्वासन दिएको त्यतिखेरै भारतीय सञ्चारमाध्यमले सार्वजनिक गरेका थिए । त्यहाँ उनलाई विश्वका हिन्दुहरुका प्रतीककारुपमा योगीले सम्मान पनि गरे ।

त्यसअघि नेपालमा हिन्दुराज्य पुनर्स्थापनाको माग गर्दै चुनावी अभियानमा होमिएका पूर्वपञ्चहरुका पार्टी राप्रपाहरुले मंसिरको निर्वाचनमा हार भोगिसकेका थिए । त्यसपछि पनि नेपालमा हिन्दु राज्यको नारा उठिनै रहेको छ । हालै बसेको प्रदेश सभाका केही बैठकमा राजतन्त्र र हिन्दुराज्यको नारा नै लाग्यो ।

यही राजनीतिक घटनाक्रममा पूर्वराजा शाह आइतवार दुई साता लामो भ्रमणका लागि भारत तर्फ लागेका छन् । अन्य बेला प्राय: सुटुक्क भ्रमणमा निस्कने पूर्वराजा शाहले यो पटक विज्ञप्ती नै निकालेर भ्रमणमा निस्किए । रोचक कुरा त के छ भने गौ संरक्षणमा सक्रिय श्री मार्ग सं‌स्थाले नेपालको राजाकै रुपमा उनलाई निम्तो पठाएको छ भने सम्मान पनि त्यही हैसियतमै दिँदैछ ।

विज्ञप्पती निकालेसँगै भारततर्फ लाग्न त्रिभुवन विमानस्थल पुगेका उनले त्यहाँ पनि सञ्चारकर्मीसँग नेताकै शैलीमा आफ्ना धारणा पनि राखे । उनले त्रिभुवन विमानस्थलमा ‘रुखका पात झरे पनि जरा कहिल्यै नफेरिने’ भन्दै राजतन्त्रको सान्दर्भिकता नसकिएको संकेत गरे । उनी सोमवार दुई साताका लागि भारततर्फ लागेका छन् । सबैभन्दा पहिला उनी भारतको उडिसास्थित गौ संरक्षणमा सक्रिय एउटा हिन्दुवादी संस्थाको कार्यक्रममा भाग लिन पुग्दैछन् ।

जहाँ उनलाई नेपालका राजाकै हैसियतमा निम्ता गरिएको छ । गौ स‌ंरक्षणमा सक्रिय सामाजिक एबम् सांस्कृतिक क्षेत्रसँग जोडिएको हिन्दुवादी संस्था श्री मार्गले आयोजना गरेको एउटा अन्तराष्ट्रिय महोत्सव र धार्मिक महायज्ञमा प्रमुख अतिथिकारुपमा सहभागी हुन त्यहाँतर्फ उडेका हुन् ।

उडिसामा बुधबारदेखि हुने यस समारोहमा उनलाई नेपालका बहालवाला राजाकै स्थान र सम्मान दिन लागिएको छ । सामाजिक एवं सांस्कृतिक क्षेत्रमा सक्रिय शं‌कराचार्यसँग जोडिएको संस्था श्री मार्गको आयोजनामा हुने यस समारोहमा संसारभरबाट हिन्दुहरुको उपस्थिति हुँदैछ ।

शुक्रबार आयोजित पत्रकार सम्मेलनमा श्रीमार्गको तर्फबाट सचिव शिवाशिश सतपथी र सदस्य समीर समलले यो कुराको जानकारी दिएका हुन् । समलले ज्ञानेन्द्रलाई राजसिंहासनमा राखी अभिषेक गर्ने कार्यक्रम रहेको पत्रकार सम्मेलनमा बताएका छन्। ‘हिज मेजेस्टी द रोयल किङ अफ नेपालको ‘राज सम्वर्द्धन’ सर्वसाधारण र गण्यमान्य व्यक्तिहरुले बुधबार गर्नेछन्’, श्रीमार्गका सदस्य समालले पत्रकार सम्मेलनमा भनेका छन् ।

‘यो अभियान युवाहरुलाई जाग्रित गराउन केन्द्रित छ । भारतको अर्थतन्त्र, कृषि र पोषणमा समेत योगदान गरिरहेको भारतीय देसी गाईको संरक्षणमा केन्द्रित रहेर कार्यक्रमको आयोजना गर्न लागिएको हो,’ शतपथीले सोमबारको पत्रकार सम्मेलनमा भनेका थिए ।

पूर्वराजा ज्ञानेन्द्र उक्त समारोहको पूर्णाहुती समारोहमा समेत सहभागी हुँदैछन् । त्यही अवसरमा उनी गोविन्द गौ माताको मन्दिरमा पनि दर्शन गर्न जानेछन् । त्यक्रममा गौमाता मन्दिरको शिलान्यास पनि गरिनेछ।

उक्त मन्दिरले राठीपुर नजिकै तीन एकड बढी जग्गामा गौशाला सञ्चालन गरेको छ । समलका अनुसार ज्ञानेन्दले राजाहरुबाट मात्रै गरिने गुह्य पूजा पनि गर्ने भएका छन् ।

गौ पूजन समारोहमा सहभागी भएसँगै भेटघाटमा पनि व्यस्त हुनेछन् । जगन्नाथ मन्दिरमा राजालाई भगवानकै अवतारको रुपमा पूजा गर्ने चलन छ । हिन्दु धर्मावलम्बीको प्रमुख तीर्थस्थल जगन्नाथ मन्दिर यही राज्यमा छ। जगन्नाथ मन्दिरमा नेपालका शाह वंशीय राजाका लागि पूजा गर्ने विशेष अधिकार रहेको बताइन्छ ।

उडिसामा नवीन पटनायकले सन् १९९७ मा स्थापना गरेको हिन्दुवादी दलको बहुमत छ । त्यहाँ बिजु जनता दलले बहुमतसहित सरकार चलाइरहेको छ। उडिसामा बिजु जनता दलले भारतीय जनता पार्टीलाई समेत टिक्न दिएको छैन ।

यहाँ सन् २०१४ मा भएको विधान सभा चुनावमा जम्मा १७४ सिटमध्ये बिजु जनता दलले ११७ सिटसहित बहुमत ल्याएको थियो । अर्कातिर भारतीय जनता पार्टीले भने केबल १० सिटमात्रै जितेर तेस्रो भएको थियो । यस्तोमा बिजु जनता दलले बहुमतसहित सरकार बनायो । यहाँ सोनिया गान्धी नेतृत्वको कांग्रेसले १६ सिट जित्दै दोस्र दल बनेको थियो । – अन्नपूर्णपोस्ट