अस्पतालको लापरबाही, सुत्केरीको गुप्तांगमा प्याडसहित टाँका

१६, बागलुङ : जैमिनी नगरपालिका-१, कुस्मिशेराकी ३० वर्षीया सुष्मा थापामगरलाई प्रसव बेथा लागेपछि परिवार र आफन्तले धौलागिरि अञ्चल अस्पताल बागलुङ लगे । उनी सामान्य रूपमै सुत्केरी भइन् । सुत्केरी भएको भोलिपल्ट अस्पतालले डिस्चार्ज गरिदियो ।

सामान्य रूपमै सुत्केरी भए पनि दुई सातासम्म उनको पीडा घटेन । पछिल्ला दिन झन् बढी पीडा हुन थाल्यो । ‘सुत्केरी हुँदाको घाउ निको हुँदै जानुपर्ने बेला सहिनसक्नु पीडा हुन थाल्यो’, उनले भनिन्, ‘त्यो दुखाइबारे नजिकका साथी र परिवारका सदस्यलाई सुनाउँदा उल्टै जिस्क्याए, पीडा त भइहाल्छ नि, अलि-अलि दुखाइ पनि सहन नसक्ने भन्न थाले ।’

उनलाई शारीरिक पीडा त थियो नै ! पिसाब गर्न पनि कठिन हुन थाल्यो । पहिलो सुत्केरी अनुभव भएकाले स्वाभाविक पीडा होला भनेरै सहिरहिन् । सुत्केरी भएको केही दिनपछि अस्पताल पुगेर डाक्टर-नर्ससँग पनि यसबारे परामर्श गरिन् । सामान्य परामर्शपछि उनलाई औषधि दिइयो । दुखाइ कम गर्न र घाउ सुकाउनका लागि दिइएका तिनै एन्टिबायोटिक औषधि खाइरहिन् । तर, बीसको उन्नाइस भएन ।

योनिबाट पिपजस्तो गन्हाउने पानी बग्न थालेपछि उनको चिन्ता थपियो । पुनः अस्पताल जाने निर्णयमा पुगिन् । ‘पिसाब लागेर शौचालय गएँ, सुरुमा सानो धागोजस्तो केही बिझायो’, उनले भनिन्, ‘धागो तान्दा प्याड पो निस्कियो ।’ बल्ल उनले गुप्तांगभित्रै प्याड छाडेर टाँका लगाइएको थाहा पाइन् । प्याड सुत्केरी भएको १२ औं दिन आइतबार मात्रै निकालिएको थियो ।

अस्पतालको चरम लापरबाहीको कारण सुष्मा र परिवारका सदस्यले अनावश्यक तनाव व्यहोर्नुपरेको उनका पति किरण थापा बताउँछन् । ‘सुत्केरीपछि सफा गर्नेक्रममा प्याड प्रयोग गरे पनि त्यसबेला ड्युटीमा रहेका स्वास्थ्यकर्मीले त्यो ननिकाल्नु गम्भीर लापरबाही हो’, उनले भने, ‘धन्न हामीले कुनै अप्रिय घटना व्यहोर्नु परेन । यस्तो संवेदनशील विषयमा भएको लापरबाहीमा संलग्नलाई अस्पतालले कारबाही गर्नुपर्छ ।’

घटनाबारे बुझ्दा अस्पतालका नर्सले बिरामीलाई उल्टै गाली गरेर थर्काएको सुष्माका आफन्त सीताराम थापाले बताए । ‘गल्ती स्वीकार गर्नु त टाढाको कुरा, उल्टै हामीलाई नै गाली गर्न लागे’, उनले थपे, ‘यस्तो घटनाले अस्पतालप्रतिको आकर्षण र विश्वासमा समस्या हुन्छ, स्वास्थ्यकर्मी र अस्पताल प्रशासन सबै जिम्मेवार बन्नुपर्छ ।’

धौलागिरि अञ्चल अस्पताल बागलुङका सुपरिन्टेन्डेन्ट डा.सागर राजभण्डारीले यस घटनाबारे आफू अनभिज्ञ रहेको प्रतिक्रिया दिए । ‘सुत्केरी भएपछि रक्त श्राव रोक्न प्याड प्रयोग गर्ने गरिन्छ तर त्यो केही समयपछि निकाल्नुपर्ने हो,’ उनले भने, ‘यसबारे त्यो दिन को—को ड्युटीमा थिए, राम्ररी बुझेर आवश्यक कदम चाल्छु ।’

– अन्नपूर्ण पोष्ट