मधेसी दललाई उपराष्ट्रपति, सभामुख र चारमन्त्री दिने वाम प्रस्ताव

काठमाडौं, माघ १७, वाम गठबन्धनले बनाउने नयाँ सरकारको समर्थनका लागि मधेसी दललाई उपराष्ट्रपति, सभामुख र चार मन्त्रीको प्रस्ताव अघि सारेको छ। यो खबर हामीले आजको जनता पोस्ट दैनिकबाट लिएका हौ।

वाम गठबन्धनको तर्फबाट नेकपा एमालेका नेता अग्नि खरेल यस्तो प्रस्ताव लिएर संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) का नेतालाई भेट्न पुगेका छन् ।

समाचार अनुसार दुई तिहाई बहुमतको सरकार बनाउनका लागि गठबन्धनका दुई घटक नेकपा एमाले र नेकपा माओवादी केन्द्रको यो प्रस्ताव मधेसी गठबन्धनलाई आएको राजपा अध्यक्ष मण्डलका सदस्य महेन्द्र राय यादवले बताए ।

राजपा र फोरमको २१ प्रतिनिधिसभा सदस्यको समर्थन पाए वाम गठबन्धनले केन्द्रमा दुई तिहाई बहुमत पुर्याउने छ । राजपा र फोरमले संविधान संशोधनको विषयमा वाम गठबन्धनले आफ्नो धारणा अघि सारेको खण्डमा समर्थन हुने बताउँदै आएका छन् ।