करोडको डिभोर्स

गत चैतमा भक्तपुरको बालकोटमा रहेको घरको कथा सुनाउँदै हास्य अभिनेता मनोज गजुरेलले भनेका थिए, ‘मेरी मैनाको दुःख मिसिएको हुनाले यो घर मलाई प्यारो लाग्छ ।’ उनले यसो भन्दा उनकी मैना अर्थात् मीना उनीसँगै थिइन् ।
मनोज अहिले त्यो घरमा एक्लै छन् । उनकी मैना बानेश्वरमा । यी दुवै जोडी तनले मात्रै हैन, मनले समेत छुट्टिइसकेका छन् । काठमाडौं जिल्ला अदालतले यी दुवैको मन विभाजित हुने सरकारी कागजातमा ल्याप्चे लगाइदिइसक्यो । यी दुवैको २२ वर्ष लामो वैवाहिक जीवनमा पूर्णविराम लाग्यो ।

मनोजकी ‘मैना’ अर्थात् मीना ढकाल गजुरेलको नाम छोट्टिएको करिब एक महिना भइसक्यो । उनी गजुरेल शब्दबाट कानुनी रुपमै मुक्त भइन् । गजुरेल र ढकालका अनुसार आपसी सहमतिमै डिभोर्स भएको हो । यी त बाँडिए नै, उनीहरूसँगै २२ वर्षे यात्राको २ नाशो समेत बाँडिए । २० वर्षका छोरा बालकोटमा गजुरेलका साथी भएका छन् । १३ वर्षकी छोरी बानेश्वरमा आमाको साथी ।

डिभोर्सपछि आपसी समझदारीअनुसार मीनाले अंशबण्डाबापत मनोजबाट एक करोड २५ लाख रुपैयाँ पाएकी छन् । जसमध्ये ६० लाख छोरीको हो । जानकारका अनुसार अदालती प्रक्रियामा अंश बापतको रकम छोरीको मात्र उल्लेख गरिएको छ ।

प्रेम र विवाह मान्छेका नितान्त व्यक्तिगत मामिला भए पनि मनोज–मीनाको ‘ट्रयाजेडी’ बहसको विषय बनिरहेको छ । चिया पसलदेखि रक्सी भट्टीसम्म यी दुवैको दुखद् कहानीको खासखुस सुनिन्छ ।डिभोर्सको कारक र कारणबारे मीना आक्रामक रुपमा मिडियासँग खुलेकी छन् भने मनोज मौन नबसे पनि डिफेन्सिभ देखिन्छन् ।

ब्लफ–कलले जुराएको जोडी
२२ वर्षअघि काठमाडौं, पुतलीसडकमा वारिपट्टि मनोजको स्टेसनरी पसल थियो, पारिपट्टि मीनाको अफिस । मनोजले मीनालाई देखे, मनपराए । साथीमार्फत् मीनाको अफिसको नम्बर लिए । त्यसपछि सुरु भयो ब्लफ कल । दुई महिनासम्म ब्लफ कल गरेपछि बल्लतल्ल विराटनगरमा जन्मिएकी मीना ताप्लेजुङका मनोजसँग भेट्न राजी भइन् । त्यतिबेला मीनालाई फकाउन मनोजले गर्ने ‘ब्लफ कल’लाई एक टिभी कार्यक्रम ‘लभ एन्ड लाइफ’मा ‘लभ कल’को संज्ञा दिएका थिए ।

भेटघाटपछि प्रेम टुसायो । फक्रिन ६ महिना लाग्यो । दुवैको प्रेममा बाधा नभएको हैन । मनोज उपाध्याय, मीना जैसी । मनोजकी आमा कट्टर । उनी मीनासँग छोराको सम्बन्धप्रति सकरात्मक भइनन् तापनि मनोजले बिहे गरिछाडे ।
बिहे गरेको २२ वर्षसम्म पनि जैसी भएकाले आफूले छोएको सासुआमाले कहिल्यै नखानु भएकोमा छुट्टीएपछि पनि उनको उस्तै दुखेसो रहेछ । ‘यो मामिलामा आफूलाई क्रान्तिकारी ठान्ने मनोज र उहाँका दाजुभाइले पनि आमालाई मनाउन सक्नुभएन,’ शुक्रबारसँग मीनाले भनिन् ।

कसरी चुँडियो सम्बन्धको डोरी
२२ वर्ष दुवैले एकै छतमुनि बिताए । कहिले आक्रोश, कहिले प्रेमपूर्ण सम्बन्ध रह्यो । उमेरसँगै व्यक्तिमा परिपक्वताको गणना हुन्छ तर सम्बन्धमा वर्ष महत्वहीन हुने रहेछ । यही पुष्टि ग¥यो मनोज–मीनाको टुटेको यात्राले । मनोजले सोमबार शुक्रबारसँगको कुराकानीमा भने, ‘हामीबीच पहिलेदेखि नै सामान्य ठाकठुक परिरहन्थ्यो । माइती, घरपरिवार र समाज हेरेर २२ वर्षसम्म यो सम्बन्धलाई जसोतसो टिकाइराख्यौँ तर अब त बच्चाबच्ची हुर्किसके । उनले पनि म अब ‘सेल्फ डिपेन्डेन्ट’ हुन्छु भनिन् । असन्तुष्टि बोकीबोकी बस्नुभन्दा डिभोर्स गर्नु नै ठीक भनेर सहमत भएँ ।’ मनोज यो ‘ट्रयाजिडी’लाई ‘डिभोर्स’ भन्न रुचाउँदैनन् । उनको परिभाषामा यो ‘ह्याप्पी इन्डिङ’ हो ।

मीनाले पनि मनोजसँगको सम्बन्धको अन्त्य आफ्नो जीवनको नयाँ यात्राको प्रारम्भको रुपमा लिएकी छन् । फेसन डिजाइनर मीनाले आफ्नो रुचिमा मनोज सधैँ बाधक रहेको गुनासो गर्दै भनिन्, ‘उहाँको सफलतामा मेरो ठूलो भूमिका छ, मैले उहाँका लागि धेरै गरेकी छु तर मैले भने उहाँको कहिल्यै साथ पाइनँ ।’ उनले भनिन्, ‘मलाई सधैँ उहाँले घरमै थन्किएर बसेको देख्न चाहनुभयो । एकपल्ट ब्युटीपार्लर र दुईपल्ट बुटिक खोलेँ तर असहयोगले चलाउन सकिनँ ।’

मनोजप्रति गुनासो गरिरहँदा पनि उनी यतिलाई नै डिभोर्सको खास कारण भएको बताउँदिनन् । आफूलाई झुक्याएर लामो समयसम्म मानसिक रोगको औषधि खुवाएर कमजोर बनाई बेडबाट उठ्नै नसक्ने अवस्थामा पु¥याएको उनको आरोप छ । ‘साथी डाक्टरकहाँ लगेर गलत औषधि खुवाएर मलाई कमजोर बनाएको पछि थाहा भयो,’ उनले स्पष्टीकरणको भाषामा भनिन्, ‘यत्रो वर्ष अन्यायमा परेको त थिएँ, तर नियोजितरुपमा औषधि खुवाएर जीवनमाथि खेलवाड गरिएको रहेछ भन्ने खुलेपछि सँगै बस्ने आँट गर्न सकिनँ ।’

मीनाको यो आरोपलाई भने मनोज निराधार भन्छन् । ‘निद्रा नलाग्ने, जिउ दुख्ने भएपछि चिनेजानेका साथीसँग सल्लाहअनुसार नसाको भिटामिन प्रयोग गर्दा निको हुन्छ भन्ने सुझावअनुसार केही औषधि प्रयोग गरेको हो तर उनले भनेजस्तो कमजोर बनाउन खोजेको होइन ।’

‘दुनियाँ हसाएँ, घरमा रुवाए’
कहिले प्रचण्ड, कहिले केपी ओलीको अवतार । कहिले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प त कहिले लालबाबु पण्डित । दर्शक र स्रोतालाई हँसाउन दिनरात लागिरहे गजुरेल । मीना भने उनले दुनियालाई त हँसाए तर आफ्नै जीवनसंगीलाई हँसाउन नसकेको बताउँछिन् । उनले आइतबार यस सम्वाददातासँग भनिन्, ‘मनोजले दुनियाँलाई हँसाए तर आफ्नै श्रीमतीलाई हँसाउन सकेनन् ।’ ‘मिनाजीलाई सायद त्यस्तो लाग्यो होला,’ स्पष्टीकरणसँगै भावुक हुँदै मनोज भन्छन्, ‘तर मैले क्षमता, योग्यता, बुद्धि र विवेकले भ्याएसम्म हँसाउनका लागि जोक नभने पनि परिवारमा चाहिने आधारभूत आवश्यकता र प्रेम सेयर गरेको थिएँ जस्तो लाग्छ ।’

बिहेलगत्तै खटपट
शुक्रबारसँगको कुराकानीमा मनोज र मीना दुवैले २२ वर्षदेखि नै आफूहरुको सम्बन्धमा खटपट रहेको स्वीकारे । यत्रो वर्ष खटपटमै बसेको जोडी एक्कासि कसरी डिभोर्सको सहमतिमा पुग्यो? ‘खटपट त २२ वर्षदेखि नै थियो,’ मीनाले भनिन्, ‘झगडा हुन्थ्यो । २–४ वर्ष यता मैले फिजिकल टर्चर नपाए पनि मेन्टल टर्चर धेरै पाएँ ।’ मीना अलि आक्रामक देखिए पनि मनोज भने नरम देखिन्थे । ‘म जिन्दगीको यस क्षणमा मीनाजीका राम्रा–राम्रा कुरा मात्र सम्झन चाहन्छु, नराम्रा बिर्सन चाहन्छु,’ उनले भने ।

पुनःमिलनको सम्भावना ?
शारीरिकसँगै कानुनी रुपमा समेत यी दुवै अलग भइसके तर दुवैलाई जोड्ने दुई ज्यान अझै छन्, छोरा र छोरी । डिभोर्सपछि पुनः यात्रा जोडिने गरेका पनि छन् । मनोज–मीनाको हकमा के होला ? मनोजले सम्भावना देखाए तर मीनाले असम्भव । ‘२२ वर्ष उहाँलाई सपोर्ट गरेर बस्दा पनि मलाई असहयोग गर्नुभयो,’ उनले भनिन्, ‘अब पनि उहाँको घरमा बसेँ भने बाँचुञ्जेल मलाई आत्माले धिक्कारिरहन्छ ।’ ‘हामी २२ वर्षदेखिसँगै बसेका छौँ,’ मनोज आशावादी हुँदै भन्छन्, ‘स्वभावतः क्षणिक आवेशमा आए पनि माया त मनमा गढेर बसेको हुन्छ । अहिले आ–आफ्नो इगोका कुरा होलान्, इच्छाका कुरा होलान् तर भोलि मिलन हुन पनि सक्छ।’यो खबर अनिल यादवले नागरिकन्युजमा लेखेका हुन्।

प्रकाशित मिति : २०७४ माघ १४,आइतबार