एमाले बैठकमा लफडा कोमल वलीका कारण, शीर्ष नेताहरुबीच झण्डै कुटाकुट… !

काठमाडौं– चुनावअघि एमाले प्रवेश गरेकी लोक गायिका कोमल वलीलाई राष्ट्रियसभा सदस्यको उम्मेदवार बनाउने विषयमा एमाले सचिवद्वय विष्णु पौडेल र योगेश भट्टराईबीच भनाभन भएको छ ।

उम्मेदवारको टुंगो लगाउन अध्यक्ष केपी ओलीको निवास बालकोटमा बसेको स्थायी कमिटी बैठकमा भट्टराई र प्रदेश नम्बर ५ का इन्चार्जसमेत रहेका पाैडेलबीच भनाभन भएको हो । हात हालाहालको स्थितमा पुगेको लफडा ओलीले साम्य पारेका छन् ।

स्रोतका अनुसार बैठकले उपमहासचिव घनश्याम भुसाल र योगेश भट्राईले कोमल ओलीलाई उमेदवार बनाएको विषयमा नोट अफ डिसेन्ट लेखेका थिए । उनीहरुले नोट अफ डिसेन्ट लेखेसँगै पौडेल जंगिन पुगेका थिए । पौडेल जंगिँदा भुसालले कुनै प्रतिक्रिया नजनाएपनि भट्टराईले भने जवाफ फर्काएपछि भनाभन भएको एक स्थायी कमिटी सदस्यले बताए ।

ती स्थायी कमिटी सदस्यका अनुसार नोट अफडिसेन्ट लेखेपछि पौडेलले भट्टराई र भुसाललाई इंगीत गर्दै भनेका थिए, ‘५ नम्बर प्रदेशको इन्र्चाज म हो । मैले जे भने त्यो हुन्छ । अरुले चासो धेरै नराखेको राम्रो ।’ त्यसपछि नोट अफडिसेन्ट लेखेका भट्राईले पौडेललाई मुखभरीको जवाफ फर्काएका थिए । ‘हामीलाई पनि थाह छ, कसको कनेक्सन कहाँ छ भनेर । लोकमान कार्कीदेखि एनसेलसम्म कहाँ–कहाँ के भएको छ सबै थाह छ । हामीलेपनि हिसाब राखेका छौ । ठूलो कुरा नगरे हुन्छ । एक दिन सबै बाहिर आउँछ । सबै हिसाब असुलिन्छ’ भट्टराईको भनाई उदृत गर्दै स्रोतले भन्यो ।

यसविषयमा रातोपाटीले भट्टराईसँग सम्पर्क गर्दा प्रतिक्रिया दिन मानेनन् । उनले भने–जे भइरहेको छ, सबै राम्रो–राम्रो भइरहेको छ । यो भन्दा बढी म के नभूँ’, भट्टराईले भने ।

एमाले स्थायी समितिको बैठकले ५ नम्बर प्रदेशबाट कोमल वलीको नाम सिफारिस गरेपछि नेता कार्यकर्ताहरुले समेत सामाजिक संजालमा विभिन्न टिकाटिप्पणी गरेका छन् ।

एमाले नेता शंकर पोखरेलको पहलमा चुनावअघि कमल ओलीलाई संघमा टिकट दिने भन्दै एमालेमा प्रवेश गराइएको थियो । तर उनले त्यो समयमा टिकट नपाएपछि स्वतन्त्र उमेदवारी दिएकी थिइन् । तर पोखरेलले नै राष्ट्रिय सभामा लिने बचन दिएपछि उनले उमेदवारी फिर्ता लिएको चर्चा एमालेमा त्यो समयमा नै चलेको थियो ।

अन्ततः पोख्रेलले आफूले वलीलाई दिएको बचन विष्णु पौडेलको माध्यमबाट पुरा गराएर नै छोडे । जब कि पाल्पाबाट संघको लागि प्रमुख दाबेदार मानिएका युवा नेता ठाकुर गैरेलाई पनि त्यो समयमा राष्ट्रिय सभामा लैजाने बचन एमाले नेताहरुले दिएका थिए । तर गैरेको ठाउँमा वलीलाई उम्मेदवार बनाउन पौडेल र पोख्रेल सफल भएको एमालेभित्र चर्चा छ । – sancharkendra.com