कस्तो अनौठो संस्कार : दुई किशोरीबिच बिहे गरिदिएर पाप पखाल्ने

रुकुम-मुलुकमा वालविवाह गर्नेलाई कार्वाही गर्ने कानुन बनिसकेको भएपनि गाँउघरमा भने अझै त्यस्ता घटनाहरु घटिरहेका छन् । भर्खरै मात्र रुकुम पश्चिमको सानीभेरी गाँउपालिका ९ मा वालविवाह भएको छ ।

तर सानीभेरीमा गरिएको वालविवाह वास्तविक नभएर वालविवाह अन्त्य गर्नका लागी सन्देश दिने उद्देश्यले आयोजना हुने अनौठो खालको मेला हो । हरेक बर्ष झैं यस बर्ष पनि सानीभेरी गाउँपालिका वडा नं. ९ मगरराङजामा स्थानिय पापिनी मेलाको अवसर पारी दुई किशोरी वीच दुलाहा दुलही बनाई विवाह गर्ने गरिएको छ ।

स्थानिय भाषामा वयलडाँडी भनिने यस मेलामा गरिने किशोरीहरुको विहे साँच्चिकै भने होइन । गाउँभन्दा माथी बाट पञ्चेबाजाका साथ दुलाहा दुलही मेला लाग्ने स्थानमा ल्याइ विधिवत रुपमा पुजापाठ गरीसकेपछी पापिनी नाँच नाची मेला आरम्भ हुने गर्दछ ।

पापीनी नाचमा गाउँका युवायुवतीहरु मगर पहिरनमा पञ्चेबाजामा गोलो घेरा बनाई लहरै रुपमा नाच्ने गर्दछन् र यो मेलाको सबैभन्दा महत्वपूर्ण आकर्षण मानिन्छ । यो मेला परम्परा देखि नै हरेक वर्ष माघको पहिलो साता लाग्ने गर्दछ । मगर जातीको बाहुल्य रहेको गाउँको नाम नै मगरराङ्जा रहेको छ ।

जसमा ८० प्रतिशत मगर जातीको बाहुल्यता रहेको छ । पापिनी मेलामा आ–आफ्नै उमेर समूहका समूह बनाई विभिन्न किसिमका सांस्कृतिक प्रस्तुती देखाउने गरिन्छ । राष्ट्रिय कलाकारलाई चुनौति दिने नृत्यले मेलामा जाने सवैको मन लोभ्याउने गर्दछ । एकल तथा समूहमा गरिने नृत्य हेर्दा म्युजिक भिडियो भन्दा कम हुदैनन् ।

क्यामेरा र कम्प्युटरको सहायता बाट नाँचिने बनावटी नाँचलाई हामी वास्तविकतामा उतारेर कृतिम कलाकार र कलाकारीता क्षेत्रलाई नै एक पटक चुनौति दिने गरेको मेला व्यवस्थापक तथा आयोजक राम बहादुर कुँवर मगरले बताए ।

उनका अनुसार सानीभेरी गाउँपालिका लगाएत रुकुम पश्चिममा छुट्टै पहिचान सहितको मेला बनाउने सोच रहेको छ । यसै गरीसानीभेरी गाउँपालिका अध्यक्ष नरबहादुर पुन सहितको गाउँपालिकाको टोलिले मेलाको अवलोकण गरेको छ ।

अवलोकणमा उपाध्यक्ष इन्दिरा ओली, प्रमुख प्रशासकिय अधिकृत दिपेन्द्र रावल वडा नं. ९ का वडा अध्यक्ष शेर बहादुर खड्का लगाएतको टोलिले मेला अवलोकण गरेका हुन् ।

मेला उद्घाटनको औपचारीक कार्यक्रमको प्रमुख आतिथ्यता ग्रहन गर्दै अध्यक्ष पुनले पापिनी मेलालाई स्थानिय स्तरमा चर्चित बनाउने, यहाँको कला संस्कृतीलाई देश विदेशमा चिनाउनु पर्ने र यस्तो कला संस्कृतिलाई जोगाइ राख्न गाउँपालिकाले सवै किसिमका सहयोग गर्ने बताए ।

  • नारी खबर बाट साभार