कहाँ बसेर चलाउदैछन् ट्वीटर ? ‘मोस्ट वान्टेड’ को सूचीमा रहेका सिलवालले फेरी गरे अर्को ट्वीट !

काठमाडौं, ९ माघ ।

आइजीपी बढुवासम्वन्धी कार्यसम्पादन मूल्यांकन किर्ते अभियोगमा प्रहरीको फरार सूचीमा रहेका नेकपा एमाले सांसद तथा पूर्व डिआइजी नवराज सलवालले आफूविरुद्ध इन्टरपोलले डिफ्युजन नोटिस जारी गरेपछि नेपालमा निरंकुश शासन कायमै रहेको प्रतिक्रिया दिएका छन् ।

सिलवालले सामाजिक सञ्जाल ट्विटरमा कानून र शासनको खिल्ली उडाएर शक्तिको दुरूपयोग गर्नेहरूलाई जनताले दण्डित गरिसके पनि अझै निरंकुश शासन शैली कायमै रहेको प्रतिक्रिया दिए ।

उनले भनेका छन्, ‘कानूनको शासनको खिल्ली उडाएर शक्तिको दुरूपयोग गर्नेहरूलाई जनताले दण्डित गरिसकेका छन् । अझै पनि उसको निरंकुश शासन शैली कायमै छ ।’

आइतबार नेपाल प्रहरीको सिफारिसमा सिलवाललार्इ खोजी गर्न इन्टरपोलले डिफ्युजन नोटिस जारी गरेको थियो । डिफ्युजन नोटिस पछि अभियुक्तलार्इ सिलवाललार्इ जुनसुकै मुलुकका प्रहरीले पूर्व पक्राउ गर्न सक्छन् । नेपालमा अपराध गरेर विदेश भागेका अपराधिलार्इ पक्राउ गर्नको लागि यो नोटिस इन्टरपोलले जारी गर्ने गरेको छ ।

सिलवालले यसअघि पनि ट्वीटबाटै सरकारले शक्तिको दुरुपयोग गर्दै आफूविरुद्ध प्रतिशोध साधेको आरोप लगाएका थिए । त्यसको डटेर सामना गर्ने पनि उनले घोषणा गरेका थिए ।

यसअघिकाे ट्विटरमा उनले लेखेका थिए, ‘म जनताको प्रतिनिधि हुँ र कानूनको परिपालक एक जिम्मेवार नागरिक पनि हुँ । समय सकिन लाग्यो भन्ने हतारोमा राजनीतिक प्रतिशोध साध्न शक्तिको गलत प्रयोग गरी आफ्नो विपक्षीलाई प्रहार गर्ने जुन नौटंकी प्रदर्शन हुँदैछ, सत्यको जगमा त्यसको डटेर सामना हुनेछ ।’

तर उनि कहाँ बसेर ट्वीटर चलाउदैछन भन्ने बारेमा प्रहरीले समेत पत्ताे पाउन सकेकाे छैन ।

यसैबीच सांसद नवराज सिलवालविरुद्ध डिफ्युजन नोटिस जारी गरेको समाचारप्रति नेकपा एमालेले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

ललितपुर क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित सांसद सिलवालविरुद्ध डिफ्युजन नोटिस जारी गरेको विषय जनताको अभिमतको अपमान भएको एमालेको स्थायी कमिटीले ठहर गरेको हो ।

बैठकपछि पार्टी सचिव प्रदीप ज्ञवालीलले जारी गरेको विज्ञप्तिमा सिलवालविरुद्ध पूर्वाग्रह र प्रतिशोधबाट निर्देशित भएर गतिविधिहरु भइरहेको पनि पार्टीले आरोप लगाएको छ ।

नेपाल प्रहरीको इन्टरपोल शाखाले आइतबार नोटिस जारी गर्दै सिलवाल हाल देशभित्र नभएकोले अन्तर्राष्ट्रिय स्तर खोजी गर्न लागिएको बताएको छ । इन्टरपोलले सिलवाललाई ‘मोष्ट वान्टेड’को सूचीमा राखेर खोजी गर्ने जनाएको छ ।

अदालतले कार्यसम्पादन मूल्यांकन (कासमू) कीर्ते गरेको विषयमा छानबिनको लागि सिलवाललाई खोजिरहेको छ । तर सिलवाल भने प्रहरीले छानबिन शुरु गर्नुअघि देखि नै उनी फरार छन् । सिलवाललाई पक्राउ गर्न देशभरी कै प्रहरी अलर्ट छन् ।

विज्ञप्तिमा भनिएको छ,
ललितपुर– क्षेत्र नं १ बाट नेकपा (एमाले) का तर्फबाट प्रतिनिधिसभा सदस्यका रुपमा निर्वाचित नवराज सिलवालविरुद्ध नेपाल प्रहरीको आग्रहमा इन्टरपोलले ‘डिफ्युजन नोटिस’ जारी गरेको भनी प्रकाशित समाचारप्रति बैठकको गंभीर ध्यानाकर्षण भएको छ । इन्टरपोललाई समेत अतिरञ्जित सूचना दिई भइरहेका यस्ता क्रियाकलापले जनताको अभिमतलाई अपमानित गरेको र नवनिर्वाचित जनप्रतिनिधि विरुद्ध भइरहेका यी गतिविधिहरु पूर्वाग्रह र प्रतिशोधबाट निर्देशित छन् भन्ने निष्कर्ष सहित बैठकले सरकारलाई यस्ता गतिविधि बन्द गर्न ध्यानाकर्षण गरेको छ ।

  • sancharkendra.com