म पनि बालविवाहको शिकार भएको थिए : रेखा थापा

सानै उमेरमा छोरीको बिहे गरिदिए पुण्य कमाइने, शिक्षा तथा पालनपोषणमा लगानी गर्नु नपर्ने र दाइजो पनि कम दिए पुग्ने जस्ता पुरातन एवम् प्रतिगमनकारी सोचका कारण बालविवाह गर्ने चलन तराईका विभिन्न स्थानमा अझै कायम रहेको छ । यस्तो कुरीति हटाउन रुपन्देही गैडहवा गाउँपालिकाका बालबालिकाले कम्मर कसेका छन् । उनीहरूले बालविवाह अन्त्यका लागि संकल्प अभियान सुरु गरेका हुन् ।

यो भिडियो पनि हेर्नुहोला

साथी सञ्जालमा रहेका किशोरकिशोरी र गैडहवा गाँउपालिकाको सक्रियतामा रुपन्देहीमा आयोजित कार्यक्रममा चर्चित सिने नायिका रेखा थापा पनि सरिक थिइन् । आफू पनि जानअनजानमा बालविवाहको शिकार बनेको स्वीकारोक्ति सहित बालविवाहले आफ्नो स्वास्थ्य, शिक्षा र आत्मनिर्भतामा असर गरेको भन्दै नायिका थापाले बालविवाह रोक्न आग्रह गरिन् । बालविवाह अन्त्यका लागि संकल्प सम्मेलन नाम दिइएको कार्यक्रमलाई सम्बोधन गर्दै उनले सानै उमेरमा विवाह भएमा बालबालिकाको स्वास्थ्य, शिक्षाजस्ता महत्वपूर्ण पाटोमा अत्यन्त प्रतिकुल असर पर्ने भएकोले यो कुरीति रोक्न सरोकारहरुसँग माग गरिन् । अब आफू यो अभियानमा सरिक भइरहने प्रतिबद्धता पनि रेखाले जनाइन् । अब फिल्म बनाउँदा महिला हिंसा अन्त्य कसरी गर्ने भन्ने विषयवस्तुमा आधारित रहने चलचित्र निर्मातासमेत रहेकी थापाको भनाई थियो ।

बालविवाह अन्त्यका लागि संकल्प अभियान कार्यक्रममा बोेल्दै अभियन्ता नरबहादुर कार्कीले बालबालिका योग्य र शिक्षित नागरिक बन्नबाट वञ्चित हुने, सीप र क्षमता विकासमा पछाडि पर्ने र आत्मनिर्भर बन्न नसक्ने हुँदा त्यसको अन्त्यका लागि सबैले हातेमालो गरेर अगाडि बढ्नुपर्ने बताए । बालविवाह अन्त्यका लागि भन्दै सरकारी पक्ष र संघसस्थाहरूका थुप्रै प्रयास देखिए पनि समस्या कम नभएपछि त्यसको विरुद्धमा बालबालिका आफै सक्रिय भएर लागेको कार्कीले बताए ।

कार्यक्रममा नमूना एकीकृत विकास परिषदका अध्यक्ष ज्ञानु पौडेलले गाउँ एवम् नगरपालिकाले बालविबाह रोक्ने अभियानको जिम्मा लिनुपर्ने तर्क गरिन् । बालविवाह रोक्न कडा कानुन ल्याउनुपर्ने उल्लेख गर्दै उनले पहाडमा भन्दा तराईमा यो बढी पाइएकोले तराइकेन्द्रि अभियान शुरु गरेको जानकारी उनले दिइन् ।

ज्ञात रहोस्, रुपन्देहीका गुप्ता, ठहरे, कुर्मी, लोध, हरिजन, बाजिया, कलवार, पासी, पासवान, मौर्य, थारुलगायतका जातिमा बालविवाह गर्ने चलन ज्यादा छ ।  -घटना र विचारबाट