कसरी पूजा गर्दा सरस्वतीको कृपा तुरुन्त प्राप्त होला ?? भिडियो सहित

स्वर, सङ्गीत, ताल, लयकी श्रोत स रे ग म प ध नि सं देखि नृत्यकला, कार्यकुशलता, ज्ञानको भण्डार, वास्तुकला, शिल्पी, प्रविधि, हातको सीप, वाणीको माधुर्य, गला र कलाको आकर्षणको केन्द्र र निरन्तर साधनाबाट साध्य प्राप्तिमा प्रेरित गर्ने सरस्वतीका विभिन्न साधना र पूजाका विधान छन् । बौद्धधर्मीहरूले उनैलाई मञ्जुश्रीका नामले चिन्दछन् भने उनका विभिन्न स्वरूपको चिन्तन गर्दै बालबालिका अक्षरारम्भ गर्दछन् अनि बुद्धिजीवीहरू विशेषज्ञता प्राप्त गर्ने प्रयासमा तल्लीन हुन्छन्। वाहन राजहंसले दूध र पानीलाई सहजै छुट्याउन सकेझैँ ठीक वा बेठिकको सही पहिचान गर्नसक्ने ज्ञान, बुद्धि, संयम र विवेक प्रदान गर्ने देवी सरस्वतीको कृपाप्रसाद प्राप्त भएकाले मानव मस्तिष्कको अथाह ज्ञान प्रयोग गर्दै आजको संसार विज्ञानमय बनेको छ र जनसाधारणले सर्वसुलभ सुविधा प्राप्त गरेको छ । संस्कार, सभ्यता र संस्कृतिकी श्रोत महादेवी सरस्वती जयन्तीका दिन नाक, कान, छेड्नेदेखि अन्य उद्यमशीलताका कार्यहरू आरम्भ गर्दा कुनै साइत जुराउनु पर्दैन । विद्यार्थीहरू घरै बसेर पनि सरस्वती साधना गर्छन् भने विद्यालय, महाविद्यालय वा आफ्ना पराक्रम स्थलहरूमा वा मन्दिर विशेषमा उनको उपासना गर्ने गर्छन् । धातु या मूर्तिमा वा प्रतिमा या उनका चित्र अङ्कित फोटाहरू सजाएर आफ्नो साधनालाई निरन्तरता दिने सन्दर्भमा साधकहरू देवीलाई मन पर्ने दही, दूध, घ्यू, मह, चिनी, नैवेद्यहरू, फलफूल, मिठाई, कपुर, वस्त्र, भेटी, चन्दन, अगरु, बेल, मूला, लड्डु नरिवल आदि अर्पण गर्ने गर्छन् ।

सामान्यतया प्रातः कालका समस्त दैनिक कृत्यबाट निवृत्त भए पछि भगवती सरस्वतीको पूजा र आराधना गर्न सङ्कल्प गर्नु पर्दछ । श्री पञ्चमीको मध्याह्नकालमा प्रारम्भमा पूजाको मण्डपमा गई दियो बाली, कलशस्थापना गरी विघ्नहर्ता भगवान् गणेशको आह्वान, ध्यान र पूजा गर्नुपर्दछ । त्यसपछि भगवती सरस्वतीको पूजा गर्नुपर्दछ । सरस्वतीको पूजा गर्दा सेतो फूल, चन्दन, अक्षता, नैवेद्य, वस्त्रादि सम्भव भएसम्म सबै सेतो रङ्गकै जम्मा पारी चढाउनु पर्दछ । सरस्वतीको पूजा गरेपछि हाँस, वीणा, तबला, मसीदानी, कलम, पुस्तक र पुस्तिका (कापी) को पनि विधिवत् पूजा गर्नुपर्दछ । त्यसपछि भगवती सरस्वतीको आरती गरी दण्डवत प्रणाम गरी आशीर्वाद ग्रहण गर्नुपर्दछ । पूजाको समाप्तिपछि प्रसाद वितरण गर्नुपर्दछ ।

श्रीपञ्चमीका दिन कामदेव र रतिको पूजा पनि गरिन्छ । वसन्तका प्रतीक कामदेव र उनकी स्त्री रतिको विशेष स्मरण गर्ने दिन वसन्तको आगमन उत्सव वसन्तराग गाउने चलन समेत रहेको पाइन्छ । जीवनलाई शृङ्गारिक बनाउन वसन्त रागले प्रेरणा दिन्छ । काव्यविनोदी, स्रष्टा, सर्जक, साहित्य, कलाका साधकहरूका लागि वसन्तराग साधनाको श्रोत नै हो ।

उत्साह, लगनशीलता र अथक प्रयासलाई नै सफलताको प्रेरक मान्ने देवी विद्याकी खानी नै हुन् । सबैभन्दा उत्तम धन भनेको विद्या नै हो जसका धेरै प्रकार छन् । जसमध्ये चार वेद, चार उपवेद, सयौँ वेदाङ्गहरू, शिक्षा, कल्प, व्याकरण, निरुक्त, छन्द, ज्योतिष, मीमांसा, न्याय, धर्मशास्त्र, अठार पुराण, अठार उपपुराण, पञ्चमवेद, महाभारत, आयुर्वेद, धनुर्वेद, गान्धर्व वेद, स्थापत्यवेद (वास्तुशास्त्र) र अर्थशास्त्र प्रमुख छन् । विद्या प्रकाश हो, अविद्या अँध्यारो, अज्ञानताको पर्दा नउघारी भक्तिको उदय सम्भव हुन्न, भक्तिमा ज्ञान र वैराग्यको क्षमता हुन्छ । भक्ति र शक्तिको सङ्गम भए विद्या विज्ञान बन्न पुग्छ र यसको सदुपयोग हुन्छ । विद्याहीन व्यक्ति भाग्यबाट पनि टाढा रहन्छ । नैतिकता, लज्जा, त्याग, सेवा र समर्पण भाव नै विद्याका गहनाहरू हुन् । सरस्वतीको सेवाले व्यक्ति सफल त हुन्छ नै, हामीले सफलताका साथ असल हुन पनि सिक्नुपर्ने हुन्छ । सारांशमा ज्ञानविज्ञान र साधना तथा कला र गलाका पारखीहरूका लागि सरस्वतीको साधना गर्ने प्रमुख दिन श्रीपञ्चमी भनौं वसन्त पञ्चमी नै हो ।

ज्योतिष कृष्णप्रसाद कोइरालाद्रारा लिखित राशिफल र साथमा बिबिध जानकारीको सम्पर्क नम्बर ९८५२०५९७६४/९८१४३४८१११  www.jyotishsathi.com