Tuesday , November 21 2017
Breaking News

वर्तमानका पार्टीहरु सुध्रँदैनौं भने तिमीहरु सकिन्छौ, तिमीहरुको अस्तित्व समाप्त हुन्छ

हाम्रो राजनीतिमा चेतना होइन, उत्तेजना छ !

-रवीन्द्र मिश्र 

हाम्रो जुन किसिमको संस्कार थियो, जुन किसिमको समाज र जुन किसिमको देश थियो, हामी जस्तो खालका जनता थियौं, योभन्दा धेरै स्वस्थ्य देश र समाज हुनुपथ्र्यो। तर दुर्भाग्यवश मूलनीति अर्थात् राजनीति नै स्वस्थ हुन नसकेकाले समाज पनि स्वस्थ हुन सकेको छैन।

विश्वप्रकाश शर्माजस्ता राजनीतिकर्मी पनि यो देशमा छन्। उनीप्रति धेरै मानिसको श्रद्धा र विश्वाश छ । हिजो झापा आइपुगेपछि एकजना पाका व्यक्तिले विश्वप्रकाशजीको बारेमा टिप्पणी गर्दै भने– विश्वप्रकाश भ्रष्ट चाहिँ बन्न सक्दैनन्। उनको कुरामा मैले थपें– विश्वप्रकाश भ्रष्ट नबने पनि नष्ट हुन सक्छन्। किन त्यसो भनें मैले ? माछाहरुमा राम्रोलाई जलकपुर भनिन्छ। जलकपुरलाई हिले माछाको पोखरीमा हालेर हुन्छ? विश्वप्रकाश हिले माछाको पोखरीमा हालिएको जलकपुर हो। उनले आफ्नो वरिपरिको भाग सफा गरिरहेका छन् तर पोखरी नै सफा गर्न सम्भव छैन। विश्वप्रकाश जस्ताहरुलाई हामी सबैले भन्नुपर्यो– तपाईं जहाँ हुनुहुन्छ त्यो हिले पोखरी सफा गर्न तीस वर्ष प्रयास गर्नुभयो, बाँकी जीवनको अरु तीस वर्ष प्रयास गरे पनि सफा हुँदैन।

तपाईं हामीले यति दुख पाइसक्यौं, असल पात्र र असल ठाउँ छनौट गर्न सक्दैनौं भने भावी पुस्ताले पनि दुख पाउनेछ। विपन्नहरुलाई माथि उठाउने काम समाजका पढेलेखेकाहरुको हो। यति ठूलो स्वास्थ्य महोत्सव विपन्न आफैले गर्न सक्दैनन् त्यसैले तपाईंहरु अगाडि सर्नुभयो। दुर्भाग्यको कुरा के हो भने विश्वप्रकाशजी जस्ता मानिसहरुले सिंगो देशका लागि स्वास्थ्य महोत्सव गर्नुपर्नेमा झापाको यो सानो ठाउँमा महोत्सव गर्नुपर्यो। सिंगो देश निर्माणमा विश्वप्रकाश जस्ता मानिसले खोजेको भूमिकामा उहाँहरु सफल हुन धेरै गाह्रो छ। किनभने फोहोरको स्रोतमा बसेर सफाको अपेक्षा गर्नुको अर्थ हुन्न।

यसमा पात्रको समस्या कि प्रवृत्तिको? प्रवृत्ति कसले निर्माण गर्छ? पात्रले होइन र? पात्र नै ठिक छैनन् भने त्यो पात्रले निर्माण गर्ने प्रवृत्ति ठिक हुन सक्दैन। त्यसैले नेपालमा हरेक संस्थाहरु कमजोर हुँदै गएका छन्। हामी पात्रहरु ठिक छैनौं। हामी मञ्चबाट आदर्शको कुरा गछौं तर मञ्चबाट ओर्लिएपछि यो देश हाम्रो हो र हामीले जे गर्छौ देशका लागि गर्नुपर्छ भनेर थोरै मानिसले मात्र सोच्छौं। सिर्फ आफ्नो बारेमा सोच्छौं । यो हामी अधिकांश व्यक्ति र परिवारको चरित्र हो।

पढेलेखेकाले बिगारे

हेर्नुस्, यो देश पढेलेखेका मानिसले बिगारेका हुन्। झापाको गाउँमा हलो जोतेर खेति गर्ने या मजदूरी गरेर बसेका अथवा यहाँ साधारण निर्वाहमुखी काम गरेर बसिरहेका मानिसले देश बिगारेका होइनन्। पढेलेखेका र निर्णायक ठाउँमा बसेकाहरुले नै हो देश बिगारेको। त्यसकारण पात्र असाध्यै महत्वपूर्ण हुन्छ। पात्र असल हुन आवश्यक छ।

मैले महशुस गर्दै गरेको कुरा के हो भने राजनीतिलाई असल भनिएका मानिसहरुले सुधार्न प्रयास नगर्ने हो भने सबै जनता शारीरीक, मानसिक र मनोवैज्ञानिक रुपमा विरामी बनिरहनेछन् र आउँदो धेरै वर्षसम्म विरामी नै रहिरहने छन्।
आफ्नै खुट्टामा उभिने आयार्जनको व्यवस्था नहुनेले पूर्णकालीन राजनीति गर्न हुँदैन। आफ्नो आयआर्जन सुनिश्चित नगरी पूर्णकालीन राजनीति गर्यो भने त्यो व्यक्ति भ्रष्ट हुने र नेताहरुको अगाडिपछाडि लागेर चाकडि गर्ने बाहेक विकल्प छैन।

यो देशमा यस्तो प्रवृत्ति भइसक्यो कि हरेक नागरिक कुनै न कुनै राजनीतिक दलमा आवद्ध भएको घोषणा गर्दा उसले गर्व गर्छ। कुनै पनि सुसंस्कृत राजनीति भएको देशमा अधिकांश नागरिक स्वतन्त्र हुन्छन्। उनीहरुले गुणदोषको आधारमा भोट दिन्छन्, कुनै दलप्रति प्रतिवद्ध नागरिक थोरै मात्र हुन्छन्। चलायमान मतदाताले राम्रो दल छानेर भोट दिन्छन्।

चेतना र उत्तेजना

हाकाहाकी मध्य दिनको घाममा डनहरुलाई टीका लगाएर नेताहरुले आफ्नो पार्टी प्रवेश गराउँछन्। यस्ता नेताहरुले देश बनाउँछन् भनेर पत्याउनुहुन्छ? त्यस्ता नेताहरुले देश बनाउँछन् भन्नुहुन्छ भने मलाई माफ गर्नुहोला, तपाईंहरु भ्रममा हुनुहुन्छ। खराब पात्रहरुको बीचमा बसेर प्रवृत्ति सुधार्न सकिन्छ भन्ने भ्रममा नपरौं।

अहिले गाउँगाउँमा चेतनाको नाममा उत्तेजना फैलाइएको छ। हामीले अधिकार पायौं भनेर गर्व गरेर बसेका छौं। शिक्षकलाई कालोमोसो दल्नु चेतना होइन। चौबाटोमा दसजनाले लठ्ठी बोकेर यातायात रोक्नु चेतना होइन। दसजना सांसदले संसद वैठकमा कुर्सीले हान्नु र वेल घेराउ गर्नु चेतना होइन। राष्ट्र बैंकका गभर्नरलाई ताला लगाएर थुन्नु चेतना होइन । गलत काम गर्नुलाई नै चेतना हो भन्ने भ्रममा नबसौं। चेतना र उत्तेजनालाई एकै नठानौं। अधिकार र विकासलाई सँगसँगै लग्न सकिएन भने न अधिकार स्थापित हुन्छ न विकास सम्भाव हुन्छ।

हामीले खोजेको अधिकार पायौं होला तर चेतना सँगसँगै उत्तेजना पनि बढायो। अब उत्तेजना घटाउने काम यी दलहरुले गर्न सक्दैनन्। अहिले भएका दलहरुलाई सुधार्न प्रयास गर्यौं भने हामीले आफ्नो जीवनकालमा परिवर्तन र विकास देख्न सम्भव छैन।

इथियोपियाको उदाहरण

कतिपय राजनीतिकर्मीहरुले भन्ने गरेका छन्– यूरोप विकास हुन दुई तीनसय वर्ष लाग्यो। तर, अब हामी दुईतीनसय वर्ष पर्खन सक्दैनौं। अहिलेको विश्वमा बीसतीस वर्षमा देशले विकासको फड्को मारेको धेरै उदाहरण छन्। इथियोपियाकै उदाहरण हेरौं। द्वन्द्व, भ्रष्टाचार र गरिबीको पर्यायका रुपमा हामीले चिनेको इथियोपिया अहिले दस प्रतिशतको हाराहारीमा तिब्र आर्थिक बिकास गरिरहेको छ । इथियोपियाली एअरलाइन्स अफ्रिकाको सबैभन्दा सफल एअरलाइन्स हो। असीवटा बोइङ छ, पचास वटा थप्दैछ।

केही दशक अघिसम्म नेपाल जत्तिकै प्रतिव्यक्ति आय भएको दक्षिण कोरियाको प्रतिव्यक्ति आय ३१ हजार डलर पुगिसक्यो, हाम्रो सातसय डलर भन्दा थोरै छ। २५ वर्ष बीचमा चीनले यूरोपको जनसंख्या जतिलाई गरिबीको रेखाभन्दा माथि लगिसक्यो। यो पचास साठी वर्ष बीचमा सिंगापुर कहाँबाट कहाँ पुगिसक्यो । सिंगापुर स्थापना हुँदा त्यो देश रहन्छ कि रहँदैन भन्ने थियो, अहिले अमेरिकाको भन्दा धेरै प्रतिव्यक्ति आय भइसक्यो।

भूपरिवेष्ठित इथियोपियाले गर्न सक्छ भने हामीले किन सक्दैनौं ? तर, यिनै दलहरुको हातबाट नेपाल बनाउन सकिँदैन। यो देश अहिलेकै नेताहरुले बनाउँछन्, यी नेताहरुलाई दवाब दिएरै बस्नुपर्छ भन्नुहुन्छ भने म असहमत छु। कोही न कोही, कहिँ न कहिँबाट अवश्य निस्कन्छन् र देश बनाउन अघि सर्छ। त्यसरी निस्किएका उदाहरण संसारमा धेरै छन्। अब नागरिकहरुले पार्टीभन्दा माथि उठेर सोंच्नैपर्छ। होइन भने तपाईं पार्टीमा लागेकाहरु बदलिनुहोला तर देश बदलिनेवाला छैन।

वर्तमानका पार्टीहरुलाई तिमीहरु सुध्र, सुध्रँदैनौं भने तिमीहरु सकिन्छौ, तिमीहरुको अस्तित्व समाप्त हुन्छ भन्ने नयाँ शक्ति जरुर अगाडि आउनेछ।

साभार नेपालखबर

२३ फाल्गुन २०७३

Leave a Reply