साँच्चै ! डाक्टर तिमी त माफ़िया रहेछौ !

यहाँ भुर्र उडेर ज्वरो जचाउन जानेहरु छन ! तिमि किन झाडा-पखला रोक्न दुर्गम जान्छौ ? साँच्चै ! डाक्टर तिमी त माफ़िया रहेछौ !

✍️सरगम भट्टराई

ए डाक्टर !
तिमी त एउटा नाथे डाक्टर मात्र पो हौ त !
किन देशका बिद्वेशका अवशेष खोज्छौ?
अस्पत्ताल जाऊ, हाज़िर लगाऊ
खुरु खुरु नीजि क्लिनिक चलाऊ
गरीबहरुका मुटु गलाऊ
भनसुनको मनसुनलाई नरोक
खाई पाई आएकाको मुखमा आगो नझोक
किन सधै सत्याग्रह गर्छौ?
यहाँ त असत्याग्रह चलिरहेको छ
बिधि मिच्नेहरु छ्यास छ्यास्ती छन्
तिम्रो मृत्यु पर्खेर बस्नेहरु
तिम्रा मुटु रोकिएको हेर्न आतुर छन्
तर तिमी न मर्छौ
न टसमस गर्छौ
न माफ़ माग्छौ, न हार्छौ
न माफ़ गर्छौ
धेरैको नजरमा भगवान भए पनि
केहीको नजरमा घटिया भएछौ
साँच्चै डाक्टर ! तिमी त माफ़िया रहेछौ।
——————————-

तिमी त महामूर्ख रहेछौ
न आफू कमाउँछौ
न कमाउन दिन्छौ
न एक्लै रमाउछौ
न केहीलाई रमाउन दिन्छौ
तिम्रो सत्याग्रहलाई झूठ सावित गर्न
धेरै तुफानहरु चलिरहेछन्
तिमी बिधि भन्छौँ
यहाँ बिधि हेर्नेहरुका गिदी खराब छन्
उनीहरु आफू मर्दैनन्
तर अरु मार्छन्
तर तिमी त
हुरीमा पनि धपधपी बलिरहेकै छौ
न हिंसा नै गर्छौ
न आफ्नो कुनै चिन्ता नै गर्छौ
बरु लाखौँको सलेतो बनेका छौ
साँच्चै डाक्टर ! तिमी त माफ़िया रहेछौ ।

——————————-

तिमीले तलब बोकेर ओखती गर्न झर्छौ
यहाँ निरन्तर खती गर्नेहरु छन्
तिमी झाड़ा पखाला रोक्न दुर्गम हिड्छौ
यहाँ भुर्र उडेर जरो जचाउन जान्छन्
यहाँ देशको ढुकुटी खान्छन्
ढ्यार्र डकार्छन्
अनि उल्टो तिमीलाई हकार्छन्
तिमीलाई बेईमान साबित गर्न
तिम्रो ईमानमा बेईमान भर्न
अचेल हुलका हुल लागेका छन्
किनकी
तिनीहरुको झूठको खेतीको
तिमी असिना बनेका छौ
तिमी भ्रष्टको नजरमा घटिया रहेछौ
साँच्चै डाक्टर ! तिमी त माफ़िया रहेछौ।
——————————-

ए मूर्ख डाक्टर !
जनताको छोरा डाक्टर हुनुपर्छ भन्ने तिमी को?
कर्णालीमा अस्पत्ताल खोल भन्ने तिमी को?
न्याँय माग्न अनसन बस्छौ
अन्याँय फाल्न अनसन बस्छौ
कसैलाई रोक्न अनसन बस्छौ
तर लूट्नेहरु लूटेकै छन्
तिम्रै आँखा अघि मान्छे लूटिएकै छन्
बरु जाऊ लूट्न जाऊ तिमी पनि
बनाऊ आफ्नो इमारत
भुलिदेऊ तिम्रो निष्ठा
हामी सम्झने छौँ:
एकादेशमा एउटा पागल डाक्टर थियो
तिमी भ्रष्टहरुको गजलमा
मिल्दै नमिलेको क़ाफ़िया रहेछौ
साँच्चै डाक्टर! तिमी त माफ़िया रहेछौ !
– २०७४ माघ १