Monday , October 23 2017
Breaking News

राष्ट्रपति भण्डारी र पूर्वराजा ज्ञानेन्द्र एउटै कार्यक्रममा सहभागी हुने

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारी र पूर्वराजा ज्ञानेन्द्र शाह एउटै कार्यक्रममा सहभागी हुने भएका छन् ।

सिजी ग्रुपले नवलपरासीस्थित सिजी इन्डस्ट्रियल पार्कमा निर्माण गरेको शाश्वत धामको उद्घाटन तथा धार्मिक सभामा फागुन २४ गते राष्ट्रपति भण्डारी र पूर्वराजा शाह सहभागी हुन लागेका हुन् । वर्तमान राष्ट्रप्रमुख र पूर्व राजा एउटै सार्वजनिक कार्यक्रममा सहभागी हुन लागेको यो पहिलो घटना हो ।

पूर्वराजाका सहयोगी फडिराज पाठकका अनुसार शास्वत धामको उद्घाटनपछि त्यहाँ आयोजना गरिएको धर्मसभामा पूर्वराजा शाह विशिष्ट अतिथिको रुपमा सहभागी हुने कार्यक्रम छ । पूर्वराजा शाह २३ गते चितवन गएर आराम गर्ने र २४ गते उक्त कार्यक्रममा सहभागी हुने तयारी छ । फागुन २५ शाह काठमाडौं फर्किने गरी कार्यक्रम तय भएको जानकारी पाठकले नेपाल तारालाई दिए ।

पूर्वराजा विशिष्ट अतिथिको रुपमा सहभागी हुने धर्मसभाममा कान्छी कामाकोठी पीठका शंकाराचार्य जयन्द्र सरस्वति र आर्ट अफ लिभिङका रवि शंकरलगायतका विशिष्ट व्यक्तित्वहरु सहभागी हुँदैछन् । पशुपतिनाथका पुजारीहरु पनि सहभागी हुँदैछन्। सिजी ग्रुपका अध्यक्ष विनोद चौधरीको विशेष पहलमा पूर्वराजा र राष्ट्रपतिको सहभागिता संभव भएको बताइएको छ।

पूर्वराजा शाह यसअघि विद्या भण्डारीकी छोरीको बिबाह कार्यक्रममा सहभागी हुन शितलनिवास पुगेका थिए । त्यो प्रसंगलाई लिएर पूर्वराजा शाह र राष्ट्रपतिबीच सम्बन्ध सुमधुर रहेको चर्चा चलेको थियो ।

यस्तो छ धाम
चौधरी परिवारले नवलपरासीको देवचुली–२, दुम्कौलीमा रहेको चौधरी ग्रुप इन्डस्ट्रियल पार्कको ८० बिगाहा जमिनमध्ये ७ बिगाहा धामलाई छुट्टाएका छन्। सन् २००३ मार्चमा धामको शिलान्यास गरिएको थियो।

सन् २००२ मा नेपाल भ्रमणमा आएका बेला शंकराचार्य जयेन्द्र सरस्वतीले चौधरी परिवारलाई नेपालमा धाम बनाउन आर्शिवाद दिएका थिए। खजुरवान शैली दक्षिणी भारतमा प्रचलित शैली हो। धाम परिसरका मन्दिर लगायत संरचना सिमेन्टले बनाइएको भए पनि झट्ट हेर्दा काठमा बुट्टा भरेर बनाइएका जस्ता देखिन्छन्।धामभित्र पूजाका साथै लाखबत्ती बत्ती बाल्न मिल्छ भने देशभरिका धार्मिक क्षेत्रको परिचय र तिनको विशेषता पनि थाहा पाउन सकिन्छ।

ऐकम्बरेश्वर मन्दिरको गर्भमा रहेको संग्रहालयमा नेपालका पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न धार्मिक स्थलको परिचय र त्यहाँको विशेषता राखिएको छ। अछामको वैद्यानाथबाट
नौमुठे गाईको गोबर, माटो र त्रिशुल, नेपालगन्जको बागेश्वरीबाट सतीदेवीको वाकपतन भएको गर्तगृहको जल, प्युठानको स्वर्गदारीबाट अलौकिक गाईको गोबर र विभूति, पाल्पा, स्याङ्जा र गुल्मीको संगम रुरुबाट कालिगण्डकीको शालीग्राम, मुक्तिनाथको जल मनकामनाबाट राम शाह अंकित चिनारी त्यहाँ ल्याएर राखिएको छ।

मन्दिर बाहिरको कुण्डमा बागमती, गंगा लगायत पवित्र नदी र धामको जल राखिनेछ। मन्दिरभित्र शिवलिंग स्थापना गरिएको छ। शंकराचार्य मठका कालिगढले बनाएको उक्त शिवलिंग कालो ग्रेनाइटबाट बनेको हो। शिवलिंगका अलावा मन्दिरभित्र १६ वटा देवी देवताका मूर्ति राखिएका छन्।

विवाह, ब्रतबन्ध, श्राद्ध, काजकिरिया, पूजा लगायत कर्मकाण्ड गर्न गुरुकुलमा अहिले २९ जना विद्यार्थी पढिरहेका छन्। सामान्य विद्यालयबाट पाँच कक्षा उत्तीर्ण उनीहरू तीन वर्षसम्म कर्मकाण्डी विद्या अध्ययन गर्नेछन्। गुरुकुलभित्र उनीहरुले डेक्स बेन्चमा नभई कुश आसनमा बसेर पढ्छन् र हवन कुण्डमा कर्मकाण्डको अभ्यास गर्छन्।

पढाइ, छात्राबास, स्वास्थ्य उपचार लगायत सुविधा विद्यार्थीलाई हुन्छ। ४५ जनालाई पढाउने क्षमता भएको गुरुकुलबाट हरेक वर्ष १५ जना पण्डित उत्पादन गर्ने लक्ष्य छ।

धामभित्र रहेको अर्को विशेष कुरा पाण्डुलिपी स्रोत केन्द्र हो। धाम परिसरमा रहेको थ्रीडी प्रविधिको मुभी सेन्टरमा विभिन्न मुख्य धार्मिक स्थलमा भइरहेका गतिविधि हेर्ने र पूर्विय संस्कारका धार्मिक कृतिमा आधारित दृश्य सामग्री देखाइने छ। धाम परिसरमा आर्ट अफ लिभिङको योग सेन्टर, प्राचीन सामग्रीको स्टल, अखण्ड ज्योति, समुद्र मन्थन, लाखबत्ती बाल्ने ठाउँका साथै शाकाहारी भोजनालय पनि बनाइएको छ।

धाम परिसरभित्र गौशाला पनि निर्माण गरिएको छ। सर्वसाधारण र विशेष व्यक्तिको प्रवेशका लागि दुई गेट रहेको धामको अग्रभागमा अर्जुनको रथ हाँकिरहेका कृष्णको मूर्ति राखिएको छ। धाम परिसरमा जोडिएको लाइट सिस्टमले राति मन्दिरलाई सप्तरंगी बनाउँछ। साउन्ड सिस्टम धाम परिसरभरि जोडिएको छ। धामभित्र १२ राशी र २७ नक्षेत्रअनुसारका रुख पनि रोपिएका छन्।

निर्माणको अन्तिम चरणमा रहेको धामको आउँदो फागुन २४ गते राष्ट्रपति विद्यादेवी भण्डारी, शंकराचार्य जयन्द्र सरस्वती र आर्ट अफ लिभिङका संस्थापक रविशंकरको उपस्थितमा उद्घाटन हुँदैछ। शंकराचार्य मठ, आर्ट अफ लिभिङका साथै उद्घाटनमा पशुपतिका पुजारीहरू पनि सहभागी हुनेछन्।उद्घाटनपछि धामभित्र सर्वसाधारणको प्रवेश खुला गरिनेछ।

नेपाल तारा बाट साभार :

Leave a Reply