नेपालकै लोकप्रिय साङ्गीतिक ब्याण्ड नेपथ्यले यसरी झुमायो दमक (भिडियो सहित )

दमक । सबैका लागि सङ्गीत’ मूल नाराका साथ देशका विभिन्न स्थानहरुमा र विदेशमा समेत लाइभ कन्सर्ट गर्दै आएको नेपालकै सर्वाधिक लोकप्रिय साङ्गीतिक ब्याण्ड नेपथ्यले आफ्नो २५ औं साङ्गीतिक यात्रा पूर्वको दमकबाट सुरु गरेको छ ।

शुक्रबार साँझ दमकस्थित सरस्वती माविको प्राङ्गणमा नेपथ्यले शानदार प्रस्तुति दिँदै आफ्नो साङ्गीतिक यात्राको रजत जयन्ती मनाउन प्रारम्भ गरेको हो । पुषको चिसोले कठ्याङ्ग्रीएको दमकलाई नेपथ्यका संस्थापक गायक अमृत गुरुङ र उनको टोलीले साँझ दुई घण्टा साङ्गीतिक रापले तताए ।

नेपथ्य टोलीले दुई घण्टाको लाइभ कन्सर्टमा आफ्नो सदाबहार गीतहरु छेक्यो छेक्यो देउराली डाँडा, रेशम, हिमाल चुचुरे, जीवन हो घाम छायाँदेखि खान्न म त लामपाते सुरती, मै नाचेँ छमछमी, तालको पानी, भेडाको ऊनजस्तो, अगनै भरी लगायत गीत गाएर दर्शक स्रोतालाई नचाएका थिए । नेपथ्यलाई साथ दिन दमक र आसपासका करिब तीन हजार दर्शक सहभागी थिए । अधिकांश युवा पुस्ताको सहभागिता रहेको कन्सर्टमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालित गरिएको थियो ।

भिडियो हेर्नका लागी :
[youtube https://www.youtube.com/watch?v=SXVNB-Ehmeg]