Tuesday , August 22 2017
Breaking News

दाजु ! कहाँबाट शुरु गर्नुहुन्छ देश बनाउन ? रबीन्द्र मिश्रलाई प्रश्न

सरगम भट्टराई

राजनीति धमिलिएको बेलामा सकारात्मकता बोकेर देश साँच्चै बनाउन भनेर राजनीतिमा लागि पर्नु भएकोमा म मेरा प्रिय आदर्श पात्र रबीन्द्र मिश्रलाई हृदयदेखि नमन गर्न चाहन्छु। मेरो यो आलेखको आशय उहाँ बिरुद्दका बिमतिलाई प्रश्रय दिन होइन, बरु उहाँको अभियानमा होस्टेमा हैँसे हो भन्ने स्पष्ट पार्न चाहन्छु।

केही वर्ष पहिलेदेखि देशमा एउटा फ़रक धारको बैकल्पिक शक्तिको आवश्यकताका बहसहरु शुरु भए जसको निचोड थियो: नेपालमा संवैधानिक र समावेशी लोकतन्त्र भित्र पद्दति (System), पारदर्शिता (Transparency), ईमान्दारी (Integrity) र उत्कृष्टता (Meritocracy) अर्थात STEM को चार खम्बामा सुसंस्कृत राजनीतिको जग निर्माण नगर्ने हो भने परिवर्तन हाम्रै कालमा हुन सक्दैन ।

यही तर्कलाई मूर्त रुप दिन बीबीसीको जागिर छाडेर एउटा फरक दल ‘साझा पार्टी’ लिएर राजनीतिमा आएपछि देश कहाँबाट बनाउन शुरु गर्ने भन्ने तपाईकै चिन्ता र चासोलाई नागरिकको आँखाबाट केही टिपोटका साथ समेट्ने प्रयास गरेको छु ।

रबिन्द्र दाजु तथा उहाँको टीम यी सबै बिषयको जानकार भएको बिश्वासका साथ उहाँका शुभचिन्तकका तर्फबाट धेरै सकारात्मक र केही खुच्चिंग प्रतिकृयाहरुले यो लेख लेख्न मलाई घच्घच्याए । केही प्रतिनिधि घटनाको उठान गर्ने अनुमति चाहन्छु: जो नेपाली समाज र राजनीतिका परिवर्तनका बाधक हुन् ।

पात्र नं : १

मेरा एक आफन्त छन्: राजन(नाम परिवर्तन) निजामती सेवाका राजपत्राङ्कित प्रथम श्रेणीका । उनी महिला तथा बालबालिका हेर्ने कार्यालयमा कार्यरत छन्। उनकी श्रीमती शिक्षिका छिन् । दुबैको कार्यालय जाने समय उही हो ।

हाकिम साहेब बिहान मुश्किलले सात बजे जाग्छन् ।

ए मेडम ! चिया बनेन ?

हजुर ! बन्दैछ । बल्ल त घर सफा गरेँ, कति धेरै लुगा धुनु थियो, तरकारी केही थिएन, बल्ल लिएर आएँ।

एक कप चिया बनाउन पनि यतिबेर ?

हाकिम साहेब भुनभुनाउँदै थिए, श्रीमतीजीले चिया लिएर आइन् ।

मेरो कोटमा आइरन गर्नु थियो ! हाकिम साहेबले बिस्तारै भने ।

श्रीमती केही बोलिनन्, मौन बस्नुको कारण ‘हुन्छ’ नै भन्नु थियो होला ।

भ्याई नभ्याई खाना पकाइन्, लुगा धोइन्, केटाकेटीलाई खाना खुवाएर स्कूल पठाइन् र आफू समेत तयार भएर, हाकिम साहेबनिर आएर भनिन्:

खाना खाने हैन ?

सरगम भट्टराई
हाकिम साहेब टीभी हेरिरहेका थिए ।
एकैछिन है म फ्रेस भएर आउँछु ।

श्रीमतीजी बल्ल कड्किइन्: हैन तपाई मात्रै अफिस जाने हो र ? बिहान ५ बजे उठेर मैले यत्रो काम गर्दा तपाई खाना खानसम्म भ्याउनुहुन्न ? अब फेरि खाना चिसो हुन्छ । अफिसमा त खुब ठूलाठूला गफ छाँट्नु हुन्छ रे त !

विस्तारै यो परिवारमा श्रीमतीजीका सहनशीलताका बाँध भत्कन्छन् । भत्कनै पर्थे ।

अब जागिरकै कुरा गरौँ

हाकिम साहेब मन नलागी नलागी कार्यालय जान्छन,अफिस पुग्दा पुरै आधा घन्टा ढिलो भैसकेको हुन्छ। कुर्सीमा बस्न नभ्याउँदै घन्टी बजाउँछन: किरिंग किरिंग !

एकै छिनमा कार्यालय सहयोगी आइपुग्छ ।

“सर मलाई बोलाउनु भएको हो ?” बडो शिष्टाचारले सोध्छ ।

हो हो ! एक कप मिठो चिया ल्याऊ न ।

हवस सर भन्दै कार्यालय सहयोगी जान्छ ।

हाकिम साहेब कम्प्युटरमा फेसबुक हेर्न थाल्छन्:

अमेरिकामा एउटा कार्यालयका म्यानेजरले आफै चिया बनाउँछन,आफ्नो टेबल आफै मिलाउँछन, कर्मचारीहरुसँग क्यान्टिनमा बसेर सँगै खाजा खान्छन् आदि आदि ।

हाकिम साहेब मख्ख पर्छन् ।

दिउँसोभरि हाकिम साहेबले महिला तथा बालअधिकारका सरोकारवाला संघ संस्थाका प्रतिनिधिहरुसंग हुने तालिम गोष्ठीमा अन्तर्क्रिया गर्छन् ।

साँझ अबेला घर फर्कन्छन् । फर्कँदा श्रीमतीजीले स्कूलबाट फर्केर खाना पकाइसकेकी हुन्छिन्, साथीभाइसँग पार्टीमा टन्न खाएर डकार्दै हिँडेका हाकिम साहेबलाई घरको खाना मिठो कसरी होस् र ! नानाथरी रेख लाउँछन् ।

श्रीमतीजी कहिले प्रतिकार गर्छिन्, कहिले चुपचाप लाग्छिन् ।

जे होस् यही दिनचर्या हो हाकिम साहेबको ।

यी त एउटा सामाजिक मनोबैज्ञानिक कुरा भए, जुन नेपाली समाजका सबै बर्गमा छ ।

उस्तै प्रकृतिका अर्का पात्र छन् राजेश (नाम परिवर्तन): अर्थ मन्त्रालय अन्तर्गत कुनै एक भन्सारमा काम गर्छन् । मासिक तीस हजार हाराहारीमा उनको तलब हुन्छ, सेटिंगबाट महिनाको ४ देखि ६ लाख सम्म रकम हात पर्छ । आफ्नोदेखि ससुरालीसम्मको माथि हेर्दा टोपी खस्ने घर देखेर मान्छे ओँठ टोक्छन् । चल्तापुर्जा दलको नजिक भएकाले अहिलेसम्म उनलाई कसैले औँला ठड्याएको छैन ।

पात्र नं २:

एउटा ब्यापारी छन् रामदास (सक्कली नाम अर्कै हो) शहरमा गनिएका । बीस बर्ष पहिले केही हजारबाट शुरु गरेको उनको ब्यापार अहिले करोडौँको भइसकेको छ। काम गर्ने मान्छे पनि थुप्रै छन्, सबैलाई चुत्थो तलब दिएर राखेका छन् । करोडको सामान पास गराउन केही लाख टेबलमूनि बाट भाग लगाएपछि झिनो संख्याको भन्सार बुझाएर आउछन् उनी,पोहोर सालको नाकावन्दीमा करोडौँको सामान गोदाममा लुकाएर कृत्रिम अभाव गराएको भन्दै प्रहरीले समात्यो,एकैछिनमा भाग वण्डा मिल्यो उनी स सम्मान रिहा भए,नभएको भए ब्यापारीको समूह आन्दोलनमा उत्रने धम्की त पहिल्यै आइसकेको थियो ।

पात्र नं ३:

मैले केही बर्ष पहिले चिनेका एउटा अमूक पार्टीका कार्यकर्ता छन् : राजु । उनी राजनीति गर्नुभन्दा पहिले भारततिर सानो ज़ागिर गर्थे । ६ महिना घर त ६ महिना भारत गरी परिवार पाल्ने मान्छे एउटा (अमूक) पार्टीमा लागे, चाप्लुसी गरी माथिसम्म पहूँच बनाए, कसैलाई राजनैतिक नियुक्तिमा जागिर लगाउने, विकास निर्माणमा आफ्ना मान्छे उपभोक्ता समितिमा राखेर कमसल काम गरी पैसा कुम्ल्याउने,स्थानीय ठेक्कापट्टा हडप्ने, झगड़ा मिलाउने आदि काम गर्दागर्दै काठमाडौंमा राम्रो घर ठड्याएका छन्, छोराछोरी काठमाण्डौको महंगो निजी स्कूलमा पढ्छन् । स्मरण रहोस उनको नियमित र देखिने आयश्रोत केही छैन ।

पात्र नं ४:

अर्का एकजना मित्र छन् मिनराज । १५ बर्ष अघि पुरानो मोटरसाइकल चढ्थे, घर सामान्य टायलको थियो, नियमित आयश्रोतको नाममा गाई पाल्थे र दूध बेच्थे । बर्षेनी ऋण धन र त्यही दुध बेचेको पैसाले ब्यवहार चल्थ्यो ।

माओवादी जनयुद्दले मान्छेहरु गाउँबाट शहरोन्मुख बजारतिर सर्दै थिए । मित्रले आफन्तहरुलाई जग्गा किन्दिँदै थोरै धेरै कमिशन हात पारे । क्रमश: एक दुई चार गर्दै १०-१२ जनाको जग्गा किन्दा बेचाउँदा हातमा १५- २० लाख परेपछि प्लटिंगतिर लागे, आफूले पाउने कमिशनको करको हिसाब त कानून नभएको देशमा कस्ले गरोस र ? अहिले बजारको सबै भन्दा ठूलो मल्टिकम्लेक्स भवन उनैको छ । मासिक एक लाखको हाराहारीमा भाडा मात्रै बुझ्छन् । घर कर त उनले बर्षको दुई चार हजार भन्दा तिर्दैनन् । कर कार्यालयमा उनको सेटिंग छ । उनले पनि बलियो राजनैतिक पार्टी समातेका छन् । स्थानीय समाजसेवीको पगरी उनैलाई छ । स्थानीय कार्यक्रममा माला र खादा अनि सम्मान पत्र उनैले थाप्छन् ।

पात्र नं ५:

मेरा एक मित्र छन् मेघराज । असाध्यै सात्विक, कतै भनसुन नगर्ने, कसैको कुभलो नचिताउने, शिक्षित अनि आफ्नै पौरखले बाँच्नुपर्छ भन्ने ।

मित्रको पढाइ पनि राम्रै हो, उ बेलाको उनको पढाइलाई राम्रै मानिन्थ्यो । केही समय एउटा संस्थामा जागिर खाए । फिल्ड गईरहनु पर्ने, काम भन्दा बढी रिपोर्टिंग गरिरहनु पर्ने । घरबाट जान–आउन टाढा थियो त्यसैले फिल्डमै डेरा लिएर बसे । दिन रात संस्थाको काममा खट्थे । तर, एकदिन आफै बिरामी भएर सदरमुकाम उपचार गराउन गए । हाकिम सापले देखेछन् र अर्को दिन लामो स्पष्टीकरण मागेछन् । उनका कामचोर साथीहरुले हाकिमकै चम्चागिरी गर्ने हुँदा कहिल्यै स्पष्टीकरण खाएनन्।

उनलाई दिक्दार लागेछ क्यारे । सहन नसकेर राजिनामा दिएछन् ।

घरमा गरी खाने सम्पत्ति थियो, पढेलेखेका मान्छेले, खेती गर्न हुन्न भन्ने थियो त्यतिबेला । तर उनले मेहनत गरेर खेती गर्न लागे । अहिलेको जस्तो ब्यवसायिक खेती र बजार थिएन त्यतिबेला । त्यसैले खेतीले उँभो लाग्ने कुरा भएन । बर्षभरिको आम्दानी चैँ १५- २० हजार भन्दा भएन । भाइबहिनीको पढाइ, आफ्नै बिहेबारी, बिरामी बुवाआमाको उपचार गर्न हम्मेहम्मे पर्यो । अन्तत: ऋण सापट गरेर लागे अरबतिर ।

उनी अहिले चालीस कटेपछि पनि अरबमै छन् । उनी स्वदेश फर्केर कहिले रमाउने होलान् ? उनीबाहेक धन हुने र नहुने कति धेरै मान्छे यूरोप, अमेरिका, अष्ट्रेलिया, कोरिया र जापानतिर पनि छ्यास छ्यास्ती छन् ।

पात्र नं ६,

अर्का एकजना छन् मैले देखे जानेका : १५ बर्ष पहिले मेनपावरहरुलाई एक दुईजना मान्छे खोजेर दिएबापत ५-१० हजार कमिशन पाउँथे । पछि एक दुईवटा काम गरेपछि मान्छेले विश्वास गर्न थाले । क्रमश: आफै मेनपावर खोले । उनको खाड़ीदेखि युरोप अमेरिकामा भिजिट भिसामा एयरलाईन्सदेखि एयरपोर्टका कर्मचारीहरुसँग उनको राम्रो सेटिंग छ । यो वीचमा उनको करोडौँको सम्पत्ति जोडिएको छ । धेरैजसो काम क्यास डिलमा हुन्छ । राज्यलाई झिनो कर तिरे भैहाल्यो । कैयौँ अलपत्र परेकाहरुको गुनासो आउँछ । सक्ने भित्रभित्रै मिलाउँछन, नसके गुण्डा लगाउँछन् । मान्छे बेच्ने उनको ब्यापार राम्रै चलेको छ । ठूला मान्छेको आशिर्वाद भएपछि जे पनि सम्भव हुँदो रहेछ ।

थप पात्रहरु:

पोहोर साल उपचार खर्च तिर्न नसकेर बिरामी अस्पतालको छतबाट हामफालेर मर्नेहरु यहीँ, दूरदराजमा सुत्केरीहरुको अत्याधिक रक्तश्रावबाट मृत्यु हुने यहीँ, कालीकोट र बाजुरामा अफ्रिकाकै झल्को मेटाउने गरी बाल बच्चा कुपोषित हुने यहीँ , उपचारको अभावमा मुटुरोगी किशोरीको मृत्यु हुने यहीँ । यस्ता दुख पाउने पात्र त कति छन् कति !

देशको राजनीतिमा पकड़ भएका धेरै नेताहरुले उपचार खर्चका नाममा करोडौँ खर्च गरेर विदेश जाने यहीँ,ठूलाबडालाई लाखौँ रुपैयाँ स्तन सामान्य रोगको उपचार गर्न सरकारले विनियोजन गर्ने पनि यहीँ ।

देशमा ईमानको कुनै गन्ध देखिँदैन, सक्नेले तलदेखि माथिसम्म लुकाएर हुन्छ या नीतिगत रुपमा हाकाहाकी लुटेर खाइरहन्छ । बिरोधका स्वरहरु उठ्छन्, मथ्थर हुन्छन् । फेरि उठ्छन्, फेरि मथ्थर हुन्छन् । मानौं बिरोधले औपचारिकता पूरा गर्छ, अनि हराउँछ । फरक मुद्दाहरु मिडियामा भाइरल हुन्छन, मूल मुद्दा ओझेलमा पर्छ ।

रबिन्द्र दाजु, हजुरले देश बनाउन कहाँबाट शुरु गर्ने होला ?

यसबाहेक बिजुली र पानीको मिटर उल्टो घुमाउने,विद्यालयमा नपढाएर राजनीति गर्ने, संस्थान डुबाएर बोनस खाने, यातायात, भन्सार, नापी र मालपोत कार्यालयका घुसशास्त्रीहरु र बिकासे कार्यक्रमका काम भन्दा रिपोर्ट ठूला बनाउनेहरुको नाड़ी कसरी छाम्ने होला ?

देश विदेशमा बस्ने नेपालीले रकम जम्मा गरेर सुन्दर बस्ती बनाउँछन् । सरकारका प्रतिनिधिले उद्घाटनमा भाषण छाँट्छन् । राज्यले पुनर्निर्माणमा सिन्को भाँच्दैन । एकथरी जनताकै नाममा राजनीति गर्नेहरुले त्यही समाजसेवालाई बदनाम गराउन भरमग्दुर प्रयास गर्छन् ।

तपाईलाई यस्ता आरोप लाग्नेछन् :

अहिले यस्तो अवस्था पनि छ: तपाईलाई कुलीन, करोड़पति बाहुनको छोरा अब राजनीतिमा आएर पछि परे\पारिएका जात तथा बर्गको भाग फेरि खोस्न कतैबाट सञ्चालित,अमूक शक्तिको एजेन्ट, बेलायती ग्राण्ड डिजाइन, राजनीति गरेर फेरि कमाउन आएको आदि आदि भनेर मनै चसक्क हुने गरी आरोप पनि लाग्नेछन् ।

तपाईले गर्ने हेल्प नेपाल नेटवर्कको समाज सेवालाई पनि हिसाबको ‘ह’ नहेरी हल्लाकै भरमा पैसा खायो भनेर आमाको कसमसम्म खान बाध्य तुल्याउने पनि यहीँ नै छन् ।

यस्ता धेरै पात्र छन् जसले बितृष्णा मात्रै ल्याउँछन्, तर पनि औंलामा गन्न सकिने पात्रहरुकै कारणले देश थामिएको छ,अडिएको छ । धर्म, जात, बर्ग, क्षेत्र, पेशा, ब्यापार, राजनीति र समाजसेवा सबैतिर एकछत्र विभाजन आएको छ, सात्विकता च्याँपेर होइन, एकले अर्कालाई सरापेर देश चलेको छ, एकले अर्कालाई अपराधी क़रार गरेर देश चलेको छ ।

मलाई चिन्ता लागिरहेको छ : खोई कहाँबाट शुरु गर्नुहुन्छ तपाईँ ?

देश बनाउन कहाँबाट शुरु गर्ने भन्ने बहस सोच्दासोच्दै मन आतिन्छ । बुद्ध र सगरमाथा भजाउँदै जता टेक्यो, त्यतै प्वाल पार्नेहरु यत्रतत्र देखिन्छन् । यस्तो अवस्थामा सक्नेहरु युरोप अमेरिका र नसक्नेहरु अरब देशहरुमा दिन दिनै भासिएको भासियै छन् । तिनीहरुलाई घर फर्काउने पो कसरी होला ? तिनीहरुलाई रोक्ने पो कसरी होला ?

धनीहरु धन जोगाउन र गरीबहरु ज्यान जोगाउन पलायन भएको भयै छन् ।

परिवर्तन हाम्रै जीवनकालमा गर्ने भनी अपवाद बनेर बेइमानको बगैंचामा इमानको फूल फूलाउन खोज्ने तपाईलाई असफल बनाउने क़सम खाएकाहरु पनि छन् होला । तिनीहरुको षड्यन्त्र चिर्न ४० लाख नेपाली युवाहरु घर फर्काएर तिनीहरुको व्यवस्थापन गर्ने कार्य झन् चुनौतिपूर्ण छ ।
– अनलाइनखबर बाट साभार :

Leave a Reply