अश्लिलता पस्किएर यूट्यूबमा विकृति फैलाउनेविरुद्ध संघको ध्यानाकर्षण

१० पुष, काठमाडौं । यूट्यूब च्यानलहरुमा विभिन्न अनलाइन टीभीको नाम दिएर अश्लिलता पस्किँदै विकृति फैलाइएको भन्दै संगीत कला पत्रकार संघले ध्यानाकर्षण गरेको छ । विभिन्न कलाकारहरुसँग लिइएको अन्तरवार्ता होस् वा अन्य सामाग्रीहरु जसमा अश्लिलता पस्किएर समाजमा विकृति फैलाइएको भन्दै संघले पत्रिकारिताको न्यूनतम मूल्य र मान्यता विपरीत समाजमा आँच आउने खालका गतिविधिहरुमा संलग्न व्यक्ति, संस्था र कलाकारहरुलाई बहिष्कार गर्ने निर्णय समेत गरेको छ । संघको आज बसेको कार्यसमिति बैठकले पत्रकारिता र संचारमाध्यमका नाममा गरिएको असामाजिक गतिविधिहरुले सस्तो लोकिप्रयता कमाउने नाममा विकृति फैलाएको हुँदा उक्त निर्णय गरेको भन्दै प्रेस विज्ञप्ति जारी गरेको छ ।

संघका अध्यक्ष सुमन पण्डित र महासचिव डीबी खड्काद्वारा हस्ताक्षति विज्ञप्तिमा त्यस्ता च्यानलहरुका नाममा पत्रकारिताको खिल्ली उडाएको भन्दै समाजमा आँच आउने खालका गतिविधि रोक्न सरोकारवाला निकायहरुलाई ध्यानाकर्षणसमेत गरिएको छ ।

म्युजिकखबर बाट साभार : 

प्रेस विज्ञप्ती
मितिः २०७४–०९–१०
अहिले प्रविधिको विकासले पत्रकारितामा नयाँ आयाम थपिएको छ । जसले गर्दा समाचार प्रेषण सहज र छरितो भएको छ । पछिल्लो समय डिजिटल सञ्चारमाध्यमहरुमा युट्युबलगायतको लोकप्रियता बढ्दो छ । तर, युट्युबलगायतका डिजिटलमाध्यमलाई मात्रै आधार बनाएर पत्रकारिताका नाममा विकृति, विसंगति बढ्दै गएको छ ।
विशेषगरी संगीत, कला (चलचित्र, नाटक, टेलिफिल्म) क्षेत्रलाई लक्षित गरेर सञ्चालन गरिरहेका ती डिजिटलमाध्यममा अन्तवार्ता र रिपोर्टका नाममा अश्लिल, द्ववीअर्थी, चरित्रमाथि आँच आउने खालका सामाग्रीहरु प्रेषण गर्ने प्रवृत्ति बढेको छ । सस्तो लोकप्रियता र अर्थोपार्जनका लागि पत्रकारिताको न्युनतम मूल्य मान्यता विपरित भइरहेका यस्ता हर्कतप्रति खेद प्रकट गर्र्दछौं । साथै यसको नियमनका लागि सूचना तथा सञ्चार मन्त्रालय, नेपाल प्रेस काउन्सिल, नेपाल पत्रकार महासंघको ध्यानआकृष्ट गर्न चाहान्छौं ।
नेपाल संगीत कला पत्रकार संघको २०७४ पुष १० गते बसेको बैठकले यस्ता कार्यमा संलग्नहरु (अन्तर्वार्ता वा सामाग्री उत्पादन गर्ने व्यक्ति, संस्था र त्यसलाई प्रोत्साहन गर्न अन्तर्वार्ता दिने र सामाग्री उत्पादन गर्न सघाउने)लाई आजैका मितिदेखि वहिष्कार गर्ने निर्णय गरेको निर्णय अवगत गराउन चाहन्छौं । पत्रकारिताका नाममा अश्लिलता, सामाजिक विसंगति र विकृति फैलाउने गतिविधिमा संलग्नहरुलाई यथाशिघ्र कारबाही गरी यसलाई निरुत्साहित गर्न सरोकारवाला निकायहरुसँग आग्रह गर्दछौं ।
सम्पूर्ण सञ्चारमाध्यम, पत्रकार र यससँग सम्बन्धितहरुको विसंगति विरुद्धको यस अभियानमा सहयोग रहनेछ भन्ने अपेक्षा गरेका छौं ।