Sunday , December 17 2017
Breaking News

एक पटक फेरि मेरो एकल खुट्टाको नृत्यको भिडियो…. नीलम ढुंगाना

एक पटक फेरि मेरो एकल खुट्टाको नृत्यको भिडियो….
मन परेमा शेयर गरि हौसला बढाइदिनुहोला….
गित: ठमेल बजार
नीलम ढुंगाना


बि सं २०४९/०१/०८ गते बुवा दधिराम ढुंगाना र आमा खुमादेवी ढुंगानाको कोखबाट तेर्ह्थुममा जन्म भएको थियो निलम ढुंगानाको । सानैबाट “हुने बिरुवाको चिल्लो पात”भने झै उनिलाई नाच्न एकदम मन लाग्थ्यो । तर बि.सं २०६४ साल माघ २३ गतेको दिनले उनको जिवनमा ठुलो हुरी लिएर आयो , साथीसँग हिड्दै गर्दा उनिहरुलाई एउटा ट्रकले ठक्कर दियो , उनको साथीको सोही दुर्घटनामा मृत्यु भयो भने भाग्यले निलम बाच्न सफल भइन तर उनले आफ्नो एउटा खुट्टा गुमाउनु पर्‍यो । तर पनि उनले हिम्मत नहारी निरन्तर आफ्नो कलाकारीतामा लागेर आज देश कै एक गहना बन्न सफल भएकी छिन । घर सुन्दरपुर दुलारी भए पनि हाल काठ्माण्डौ बस्दै आएकी निलमसँग आवर बिराटनगर डट नेटका बिबेक दाहालले गरेको कुराकानी ।

१. नाच्न कहिले देखी सुरु गर्नु भयो र हजुरको प्रेरणाको हुनुहुन्छ ?

– सानै देखि नृत्य गर्थे तर एकल खुट्टाको नृत्य चाही सन २०१३ डिसेम्बर ३ देखि बिराटनगर कै स्टेज बाट सुरु गरेको हु । मलाई पहिलो पटक नृत्य गर्न प्रेरित गर्ने त मेरो परिवार, म संगै नेपाल अपाङ्ग महिला संघमा काम गर्ने दिदी भिमा खतिवडा नै हो ।

२. अलिकती हजुरको तितो बिगतको कुरा गरौ , कसरी हुन गयो तपाईंको जिवनमा यस्तो दुर्घटना ?

– २०६४ माघ २३ गतेको दुर्घटना हो। साथी र म हिड्दै गरेको बेलामा पछाडीबाट एउटा लोडेड ट्रकले दुई जनालाई नै हानेको थियो। साथिको मृत्यु भयो मेरो चै त्यही खुट्टा चुडियो ।

३.यदी तपाईंको जिवनमा त्यो घटना नभएको भए आज तपाईंलाई हामी कहाँ पाउने थियौ ?

– मेरो पहिले देखि नै कहिँ कतै कलाकारिता कै बारेमा सोच थियो। अहिले एकल खुट्ट नृत्याङनाको रुपमा परिचित छु, यदि त्यो दुर्घटना नभएर म साङ्ग ब्यक्ती नै भएको भए म कलाकारिता मै स्ट्रगल गर्दै हुन्थिए होला तर यतिको परिचित हुन चै अलि समय लाग्थ्यो होला सायद ।

४ . गर्व गर्नु हुन्छ तपाईं आज एक खुट्टाले नाच्ने कलाकार भन्दा अरुले ?

– खुसी नै लाग्छ आफू परिचित भएकोमा तर अत्यन्तै गर्व गर्ने स्थिति चै भै हालेको छैन किनभने यति नै पर्याप्त छैन अझ गर्नु धेरै छ….

५.तपाईंको ख्याती त एकदमै बढेको छ अहिले , कस्तो लाग्छ तपाईंलाई ?
– खुशी लाग्छ सबै को माया पाएकी छु ।
६.के लाग्छ तपाईंलाई मानिसहरुले तपाईंको नृत्य मन पराएका हुन कि तपाईंप्रती साहनुभुती देखाएका हुन ?
– यदि दर्शकले नृत्य मन नपाराइदिनु भएको भए त सायाद म यो ठाउँमा आइपुग्ने थिइन होला तर तपाइले भनेझै पहिला कहीं कतै सहानुभूतिले पनि हुन सक्छ तर त्यो त्यति ठूलो कुरा भएन अपाङ्गता भएको ब्यक्तिलाई हेरीने जुन दृस्टिकोण छ त्यस्लाई चिरेर अघि बड्न त्यति सहज छैन। पहिला अपाङ्गता भएको केटी भनेर दिइने साहानुभुती, मेरो नृत्य देखिसकेपछी वाहवाहि र स्याबासीमा बद्लिन्छ तब मेरो अपाङ्गता हैन नृत्यको मुल्यांकन दर्शकले गर्नु हुन्छ जस्तो लाग्छ।

७.कहिले कही किन चाही मलाई नै भग्वानले यस्तो बनाए भनेर एकलै बसेर दुख मनाउनु भएको वा रुनु भएको छ कि छैन ?
– नढाटिकन भन्नू पर्दा मलाई कहिल्यै हत्तपत्त रुनै आएन किनभने मेरो यस्तो अवस्था छ अब म के गर्ने होला भनेर रोएर बस्नु पर्ने स्तिथी कहिलै पनि मेरो परिवारको कुनै पनि सदस्यले महसुस गर्न दिनुभएन। तर अपाङता भएको सुरुवाती दिनहरुमा चै नृत्यको बिषयलाई लिएर अलि चिन्तित हुन्थे किनभने मेरो लक्ष्यमा एक किसिमले भोटे ताल्चा नै लागेको अनुभूति हुन्थ्यो। पछि त्यो सोचाइलाई पनि चिरेर अधि बड्न सके। यो अलवा मलाई मेरो शारिरीक अवस्थाले पिरोलिएर बस्नु पर्ने स्थीती मेरो परिवार र मैले स्वयम् पनि आउन दिइन किनभने म भन्दा पनि अति गम्भीर अवस्थाका अपाङ्गता भएका ब्यक्ती देखेकी थिए। मैले मेरो अवस्थामा रोएर पिर मानेर बसे भने त्यो त म स्वयमको लागि अति लज्जास्पद कुरा हो।
८. जिवन के जस्तो लाग्छ आज यहाँ सम्म आइपुग्दा ?
– यत्रो पृथ्वी छ, पुरै ब्रह्माण्ड छ र यस भित्र हामी मानिस कति साना छौ तर एक पटक मात्र बाच्न पाउने अवसर सानो कुरा हैन। त्यो दुर्घटना भएको दिन मेरो अन्तिम दिन भएको भए मेरो अस्तित्व कहाँ रहन्थ्यो र ? तर मैले फेरि अवसर पाए त्यसैले अब मैले मेरो जिवनलाई अर्थपुर्ण बनाउनु पर्छ भन्ने मेरो बुझाई छ ।
९. मानिसहरु साना साना दुखमा आत्महत्या सम्म गर्न पुग्छन , तपाईं माथि यस्तो घटना घट्यो तर तपाईंले यस्लाई अवशर ठानेर अगाडी बढ्नु भयो, के भन्नु हुन्छ आजका युवाहरुलाई जो सानो सानो दुख पर्दा आफ्नो जिवन नै त्याग गर्छन ?
– जीवनप्रतीको सबै आ-आफ्नो बुझाई हो। कसैले हार मानेर आत्महत्या गरेका पनि छन् तर आत्महत्या भन्दा ठूलो हार त जिन्दगीमै केही होइन तपाईले जित्नलाई त जिउदो हुनै पर्छ ।
१० . नेपाल र नेपाल बाहिर पनि आफ्नो कलाकारिता देखाउन जानुभयो , कस्तो पाउनु भयो नेपालीहरुबाट माया ?
– मैले अहिलेसम्म नेपालका थुप्रै जिल्लाहरुमा पुगेर आफ्नो कला देखाउन पाए। नेपालका थुप्रै स्टेजहरु टेके तर अहिले सम्म बिदेशमा गएर बिदेशमा भएका नेपालीहरुलाई आफ्नो कला देखाउने अवसर चै पाएको छैन। निरन्तर आफ्नो काममा लागि नै रहनेछु र त्यो अवसर पक्कै पनि छिटै मिल्ने छ भन्ने कुरामा आशावादी छु। यस्को अलवा सामाजिक संजालले चै मेरो कला धेरै भन्दा धेरै सामु पुर्याउन मद्दत गरेको छ जस्तो लाग्छ।

११. कलाकारीताबाट नै जिवन धन्न सकिन्न नेपालमा भन्छन नि ? तपाईंलाई कस्तो लाग्छ ?
– जीवन नै धान्न कलाकारितामा लाग्छु भन्ने सोचले लाग्नु भयो भने चै पक्कै पनि कलाकारिताले तपाइको जीवन धान्दैन। तपाईं आफ्नो कामलाई १००% दिनुस, असफलता हुन्छ जस्तो लाग्दैन। मेरो सन्दर्भमा भन्नू पर्दा मैले पैसालाई दोश्रो प्राथमिकतामा राखे, यसको मत्लब मलाई पैसा नै चाहिन्न भन्ने कुरा हैन। जीवन निर्वाह त मैले पनि गर्नु पर्छ। तर मलाई यो बेला पैसा भन्दा पनि स्टेज र दर्सकको मोह छ। यो संगै म आफुलाई धान्न सक्ने आर्थिक कमाई पनि हुन्छ। आफ्नो काममा निरन्तरता र लगनशीलताका साथ लगे कुनै पनि कामले भोको राख्दैन जस्तो लाग्छ मलाई।

१२. अन्त्यमा के भन्न चहानुहुन्छ आफ्ना शुभचिन्तकहरुलाई ?
– कलाकारिता सुरु गरेको पुरापुरि २ बर्ष पनि नबित्दै छोटो समयमा नै यति धेरै शुभचिन्तकहरु पाए। समाजमा आफू रुचाइनुको खुसी त सबैलाई हुन्छ। मेरा दर्शक, शुभचिन्तकबाट सदैव माया र आशीर्वाद मिलीरहोस, कहिँ कति गलती भएछ भन्ने सुझाव र सल्लाह पनि मीलिरहोस, यहाँहरुले दिनुहुने हौसलाले नै मलाई जिवनमा अघि बढ्ने साहश मिल्नेछ। र अपाङता भएका ब्यक्तिहरुलाई दयाका पात्र मात्र हैन मलाई झै अवसर दिनुहोस पक्कै पनि अपाङ्गता भएका ब्यक्तिहरुमा अरु साङ्ग ब्यक्तीहरु सरह केही गरि देखाउने योग्यता, आट र साहास हुन्छ। सदैव सकारात्मक सोचौ! धन्यवाद!
आवर बिराटनगर डट नेटका बिबेक दाहालले गरेको कुराकानी

Leave a Reply

%d bloggers like this: