Sunday , August 20 2017
Breaking News

परदेश पसेका पचास लाख साईलाहरुको मनै रुवाउने ब्यथा: महेश नेपाल

लेखक: महेश नेपाल

…म त गुराँसको देशको मान्छे तर यो कुरा चाहिँ पछि गरौलाकी मैले खाने चामलको रंग किन्न,
म आफू चाहिँ अरब आएको छु।
…मलाई जन्मदिने मेरो देउतालाई छाडेर आएको यो अरबमा…बालुवा संग लड्दा लड्दै जवानी पग्लिन्छ,
घरमा रुँदा रुँदा श्रीमतिको शिरानी पग्लिन्छ।
यो देश सगरमाथाको शिखरमा उभिएको सबैभन्दा अग्लो मान्छे म आज खाडीमा गाडीएको छु।
कसैले बाहिर निकाल मलाई, म मर्नु अघि मेरा बुढा भएका बुबाका हातका नङ नदुखाईकन काट्न चाहन्छु।
म मर्नु अगाडि मेरी आमाले पकाएको मालिगाईको बिगौती चाख्न चाहन्छु ।
म मर्नु अघी मेरी छोरीले उसकी हजुर आमाले चुलेसीले तिखारिदिएको पेन्सिलले पहिलो पल्ट लेखेको ठूलो ‘क’ हेर्न चाहन्छु ।

म मनु अघि मेरो घरको पश्चिम पटिको मेवाको बोटमा बोक्रा ताछ्नै नमिल्ने गरि पाकेको मेवालाई दुईटुक्रा पारेर चम्चिले एकटुक्रा आफू खाँदै अर्को टुक्रा मेरो दाँत पलाउनै बाँकी छोरालाई खुवाउन चाहन्छु ।
यो देश मेरी आमाले बनाएको सानो काठको बाकस भर्ने पैसा बोकेर म अरबबाट घर फर्किएँ भने त ठिकै हो, तर त्यो भन्दा ठूलो रातो बाकसमा म आफैँ भरीएर फर्कीएँ भने ???

चर्चित कवि नवराज पराजुलीले मुटु भक्कानीने गरि ‘सगरमाथाको गहिराई’ कबितामा भने जस्तै, स्वर्ग जस्तै देश नेपालको वर्णन र गर्व पछि गरौँला । बर्तमानमा भने आफ्नो सुन्दर भबिष्य मरुभुमिमा छ कि भनेर परदेश पसेका र ल्हासामा सुन भएर पनि कान बुच्चै बनाउन बाध्य लाखौँ युवाहरुको पीडा ओकल्न मन लाग्यो । स्वर्गजस्तै आफ्नो मातृभुमीलाई मरुभुमी बनाउँदै मरुभुमिमा पसिना सिञ्चित गरेर लहलह बिकाश झुलाउने पौरखी हातहरुको ब्यथा खोल्न मन लाग्यो ।

पचास डिग्रीको रापिलो घाम, आफ्नो ज्यानले धान्नै मुस्किल पर्ने गार्‍हो काम, घर छाड्नु पर्दाको पीडा र साहुको ॠणले झन भत्भती पोल्दा अर्को ५० डिग्री तापक्रम थपिन्छ । यस्तै उखरमाउलो गर्मीमा आफ्नो भबिष्य खोजिरहेका साहिँला हरुका बालबच्चा, आफ्नो जवानीलाई बन्धक राखेर आफ्नो जीवन साथी पर्खीरहेकी साहिँलीहरु र पिँडिको डिलमा बसेर आफ्नो आशाको त्यान्द्रोको पर्खाईमा रहिरहेका लाखौँ बुबा-आमाहरुको ब्यथा म शब्दमा कसरी उतारौँ ?

अहिले चारैतिर साईली गितको चर्चा छ । लाखौले साईली हेरेका छन । लाखौ साहिँला-साहिँलीहरुको ब्यथा गाउन सकेकोले ‘साहिँली’ गित हिट भयो । यो गित भित्र लुकेको कारुणिकताले मान्छेको मनलाई छोयो । अब परदेश पसेका लाखौँ साहिँलाहरुको सरकारलाई प्रश्न छ सरकार साहिंला साहिँलिहरुलाई स्वदेशमै फिट कहिले गराउँछस ? जवानी परदेशमा सकेर ४० कटेपछी स्वदेशमा रमाउनपर्ने बाध्यता कहिले अन्त्य बनाउँछस ?

नौजवान पठाएर बाकसमा लास कतिञ्जेल बुझ्छस सरकार?

मुड्किले चट्टान फुटाउन सक्ने बलिया र देशमै सुन फलाउन सक्ने हिम्मत भएका नौजवान हरुलाई पराईलाई सुम्पिने ए सरकार ! तँ हरेक नेपाली जस्तो पल पल भक्कानिँदै रुन्छ्स कि रुँंदैनस ? तँ अभिभावक होस, तँ हरेक जनताको आमा बुवा होस, तँ जनताको आशा होस, बिश्वास होस । हामिले तँलाईनै हो गाली गर्ने, तँलाई नै हो सम्मान गर्ने अनि तँलाई नै हो गुनासो गर्ने । किनकी तँ देशको प्रतिनिधि होस । तैँले गर्ने सानो प्रयास जनताको लागी लाख हुन्छ । तँ हरेक कुरालाई राजनितिक रंग नदे ।

हरेक पटक मुटु चल्दा नेपाल धड्किनेहरु, हरेक पटकको स्वासमा नेपाल सम्झिनेहरु र हरेक सेकेण्ड, पल्स-पल्स नेपाल मिसगर्ने हरुको ब्यथा बुझ्नुपर्छ तैंले । हिजो इराकबाट पाठ सिक्नुपर्थ्यो सिकिनस फेरि त्यस्तै अफगानिस्तान घटना दोहोरियो । बारम्बार यस्ता अप्रीय घटना दोहोरी रहेका छन । हाम्रा चेलीहरु कति पटक बिधुवा बन्ने? हाम्रा बाल्बच्चाहरु कतिन्जेल टुहुरो बन्ने? हाम्रा बुबा-आमाहरु कतिन्जेल सन्तान बिहिन बन्ने? अनि हाम्रो देश कतिन्जेल युवा बिहिन बनाउने? कतिन्जेल आँसुमा पौडी खेल्छस सरकार ?

नौजवान हरुका आँसु पलपल पराई भुमिमा बगिरहँदा तँ किन कोशी, कर्णाली बेची रहन्छस सरकार ? आँट गर पराई भुमिमा पसिना बगाई रहेका नौजवान हरुलाई स्वदेश फर्काएर तिनै कर्मठ हातहरुको सीपले नेपाल झिलिमिली बनाउने । हिजोको ईराक,अफगानिस्तान को पिडाले तँलाई छुनु पर्दैन ? हरेक दिन एयरपोर्टमा ५ वटा रातो बाकस झर्छन । प्लेन चढेर उडेको साहिँलो बाकसमा फर्किन्छ ।

साहिलाको पर्खाईमा सुन्दर भबिस्यको कल्पना गर्दै बसेकी साहिलिको सिउँदो उजाड बन्दा तेरो पनि आँसु न अडीनुपर्ने हैन सरकार ?तँ कायर होस, तँ लोभी होस, तँ स्वार्थी होस, तँ हिम्मतहारा होस । तँ नौजवानलाई मरुभुमी पठाउँछस र रेमिटेन्सको लोभमा बुझ्छस लास ।

हरे ! कतिका त उतै कुहिन्छन लास खाडी, मलेसिया या कोरियामै । तँ सुन बेचेर फलाम लिन्छस । हामिलाई जवाफदे ए सरकार ! तेरो स्वार्थ कहिले पूरा हुन्छ? तँ जन्माउन जान्छस पाल्न जाँन्दैनस । तिमिहरुको जुँगाको लडाईंमा हामी कतिन्जेल मरिरहने ? हामिलाई थाहा छ हाम्रो सरकारको हुत्ती कत्ती छ । हरेक परदेशमा हुने नेपालीहरुले सरकारको नाडी छामेका छन ।

देश छाडेर हजारौं माईल टाडा रहेका हरेक नेपालीको जिम्मा हाम्रो राज्यले लिन सक्दैन किनकी देशकै सिमा भित्रनै हरेक दिन मन कुँडिने गरि हत्या, बलत्कार, चोरी भैरहेका छन । आफ्नै देश टुक्राउँछु भन्ने हरुले खुलेआम नाङ्गो नाँच देखाउँदा तिनलाई केही बोल्न नसक्ने, तिनको तिघ्राको रौं सम्म हल्लाउन नसक्ने र उल्टै संरक्षण दिएर राख्ने सरकारले परदेशी युवाको जिम्मा लिन सक्दैन । तर सरकारको आश गर्न छाड्न पनि त भएन ।

देशमा स्थनिय चुनाव आउँदैछ रे । रेमिटेन्सको लोभमा राज्यद्वारा लखेटिएर रुँदै रुँदै पराई भुमिमा पसिना बगाईरहेका ५० लाख जोसिला युवाले अब आउने चुनावमा पनी भोट हाल्न पाउँदैनन । गाउँमा बाँकि रहेका सोझा बुबा-आमा र भाइ-बहिनिहरुलाई सके फकाएर वा धम्क्याएर नभए पैसामै भएपनी किनेर चुनाव तिमिले नै जित्ने छौ चतुरे काका । साहिँलाहरु फेसबुकमा झगडा गरेरै बस्नेछन किनकी तिनिहरु बिदेशमा छन । तिमी देश मिलाई-मिलाई मज्जाले लुट्नु ।

सरकार पचास लाख युवाहरुको आग्रह छ तैंले देशमै रोजगारी दिन नसकेपनी परदेशी हरुलाई बिदेशबाटै भएपनी आफुलाई मन परेको र राष्ट्रप्रेमी र बिकाशप्रेमी जन प्रतिनिधि चुन्ने अवसर दे । हामीले सक्षम जनप्रतीनिधी छान्न सके देशको मुहारमा कायापलट भएर रातारात देश फर्किने वातावरण बन्थ्योकी ?

जय देश ।।।
– यूस नेपाल न्युज

Leave a Reply