Thursday , August 17 2017
Breaking News

‘श्रीमान बितेको १४ दिनमा मैले रातो लगाएँ’ – एक साहसी महिला

फागुन १०-

लाउचेली सिन्दुर लाउ
निको पार ह्रदयको घाउ
गायक बद्री पंगीनीको यो गीतले समाजका विधुवा आमा दिदी बहिनीहरुमा श्रीमानको मृत्युपछि सेतै लगाउनु पर्ने भ्रम केही हदसम्म भएपनि हट्न सफल भयो । पितृ सतात्मक राज्यसत्ताबाट प्रताडित आम महिलाहरु श्रीमानको मृत्यु पश्चात अँझै पनि खुलेर रातो कपडा कपडा लगाउन सक्दैनन् । सिन्दुर पोते अनि चुरा त धेरै परको कुरा । श्रीमतीको मृत्यु भएको १ वर्ष नबित्दै श्रीमान अर्का विहे गरेर रमाउछ तर श्रीमानको मृत्यु पश्चात भने श्रीमतीले सेतो पहिरनमा जीवन बिताउनुपर्छ । यो अन्याय हो भनेर महिलाहरुले आवाज नउठाएका पनि होइनन् तर आवाजले मात्रै परिवर्तन असम्भव छ व्यवहारमा परिवर्तन हुन जरुरी छ । अहिले त हम्मेसी महिलाहरुले श्रीमानको मृत्यु पश्चात रातो लगाउदैनन् भने आज भन्दा करिब १२÷१३ वर्ष अगाडीको अवस्था कस्तो थियो होला ?

समाज परिवर्तन गर्नु छ भने सुरुवात आफैबाट गर्नुपर्छ भन्ने भनाइलाई आत्मसाथ गर्दै एक साहसी महिला जसले श्रीमानको मृत्यु पश्चात पनि रातै लगाइन र समाजलाई चुनौती दिइन् । ती हुन् पुष्पलता आचार्य । वि.सं २०१५ सालमा लमजुङको रम्घा गाविसमा जन्मिएकी पुष्पलता आचार्यले आफ्नो श्रीमान आत्मराम आचार्यको मृत्यु हुदाँ १३ दिनसम्म अरुले जस्तै गरी काजकिरीया गरीन् । अनि १४ दिनको दिन उनले श्रीमानले उपहार स्वरुप दिएका सिन्दुर, पाते, चुरा लगाइन ।

उनी भन्छिन्– मेरो श्रीमानको मृत्यु २०५९ साल भदौ १६ गते भयो । म त्यसपछि गाउँ गए । त्यहाँ सासु ससुरा सँगै बसेर श्रीमान बितेको १३ दिनसम्म काजकिरीया गरेँ । त्यतिखेर म ४४ वर्षको थिएँ । चौध दिनमा घरमा सत्यनाराणको पूजा थियो । सबैले पहेलो टिका लगाए तर मैले रातो ! सबैजना छक्क परे कसैले मुख फोर्न सकेनन् त्यसपछि म काठमाण्डौ फर्किए । श्रीमान वित्नुपूर्व मैले लगाएका सबै चिज लगाएँ । सिन्दुर पोते, टिका, चुरा इत्यादी । त्यो देखेर मेरी आमा बेहोस हुनुभयो । उहाँ होसमा आएपछि बिस्तारै भन्नुभयो ‘छोरी ४५ दिनपछि लगाएको भए त हुन्थ्यो नी ? आमाले त्यसो भन्दा मैले आमालाई प्रतिप्रश्न गरे ४५ दिनपछि मेरो अर्का श्रीमान को आउँछ ? मेरो कुराले आमा चुप लाग्नुभयो ।

रातो लगाउनुको कारण

म श्रीमानको कान्छी श्रीमती थिए । मेरो सौता दिदी पनि हुनुहुन्छ । छोराछोरी छन् । मैले श्रीमानलाई पहिलै भनेको थिए यदि तपाइको मेरो भन्दा पहिला मृत्यु भयो भने तपाइले दिएको उपहार बाँचुन्जेल जोगाउने छु । चुरा, धागो, पोत, सिन्दुर भन्दा अरु के हुन सक्छ एउटी नारीको लागी श्रीमानको उपहार ? त्यसैले मैले अरु केही गरेको होइन श्रीमानको उपहारलाई उपयोग गरेको हुँ । अनी अर्का कुरा महिला पुरुष बिच जुन किसिमको असमानता छ त्यसलाई चिर्ने मेरो उद्देश्य हो ।

सामाजिक प्रतिक्रिया

काम राम्रो होस या नराम्रो सुरुवात गर्नेले ताली र गाली खानु स्वभाविक हो । राम्रो काम गर्नेले त आरोपको सामना गर्नुपर्छ भने मैले त पितृसतात्मक राज्यसत्ताको विपक्षमा काम गरेको थिए । आरोप आउनु कुनै ठूलो कुरा होइन । तर आरोपको सामना गर्न सक्ने की नसक्ने भन्ने ठूलो कुरा हो । त्यसैले आरोप र आलोचनादेखि म कहिलै पनि हतास भइन । मलाई थाहा थियो की मैले गलत काम गरेको होइन । एकदिन यही समाजले यो कुरालाई स्वभाविक ठान्नेछ भन्ने लाग्थ्यो । विस्तारै त्यो पनि हुदै गएको छ । अहिले मेरो कदमको चौतर्फि स्वागत भइरहेको छ यसमा नै आनन्दित छु ।

अहिलेको समय

आजभोली साहित्य सँगसँगै समाजसेवामा व्यस्त छु । साथै विधुवा महिला दिदीबहिनीहरुलाई रातो लगाउने अभियानमा पनि छु । आजसम्म कुनै संस्था खोलेर होइन व्यक्तिगत रुपमा यो काम गरिरहेको छु । अहिले लमजुङमा पुष्पलता बहुमुखी क्याम्पसको स्थापना भएको छ त्यसमा मैले २० लाख रुपैयाँ सहयोग गरे । त्यसैगरी पुष्पलता पुस्तकालय छ । अन्य विभिन्न संघ संस्थाहरुमा सहयोग गर्दै आइरहेको छु ।

आम महिलालाई शन्देश

सबैभन्दा पहिले आम दिदीबहीनीहरुलाई मेरो पहिलो आग्रह हो आत्मनिर्भरताको बाटो रोज । यदि आफु आत्मनिर्भरताको लागि आफै सक्षम भयो भने कसैले केहि गर्न सक्नेवाला छैन । जति जति हामी अरुमा परनिर्भर हुन्छौ त्यति नै हामी अन्याय र थिचोमिचोमा पर्छौ । त्यसैले आत्मनिर्भर हुन सिकौँ सकारात्मकताको बाटोमा अघि बढ्न कहिले पनि नहिचकिचाउँ ।

संसार न्यूज/प्रस्तुती: संगीता पनेरु

– हाम्रोसंचार बाट

Leave a Reply