Monday , December 11 2017
Breaking News

पोष्टमोर्टम नगरी प्रकाश दाहालको मृत्यु ‘हर्ट अट्याक’ ले भयो भन्नु गैरजिम्मेवार: मुटुरोग विशेषज्ञ

माओवादी अध्यक्ष पुष्पकमल दाहालका पुत्र प्रकाशको मृत्यु ‘अाकस्मिक हृदयघात’ का कारण भएको भन्नु गैरजिम्मेवारपूर्ण भएको वरिष्ठ मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मीले बताएका छन्।

‘के कारणले मृत्यु भएको हो भन्ने त थाहै लाग्न पाएन,’ डा. रेग्मी भन्छन्, ‘र, पोस्टमार्टम नै नगरेर अन्त्येष्टि गरिदिएपछि अब त्यो कारण पत्ता लाग्ने बाटो पनि सदाको निम्ति बन्द भएको छ।’

रेग्मीकाअनुसार ‘हृदयगति बन्द’ भएर मृत्यु भएको भनियो भने त्यसलाई मुटुसँग जोड्न सकिन्छ। तर, जसको पनि मृत्यु हृदयगति रोकिएपछि नै हुने भएका हुनाले त्यो रोकिनुको कारणचाहिँ पत्तै लाग्न पाएन।

‘हृदय गति रोकिनुको थुप्रै कारणमध्ये एक हर्ट अट्याक पनि हुनसक्छ,’ उनको भनाइ छ, ‘तर, पोष्टमोर्टम नगरिकनै अाकस्मिक हृदयघात बाटै मृत्यु भएको हो भनिनु अपरिपक्वता हो।’

त्यसो त यो उमेर समूहका मानिसहरू दिनदिनै मुटुरोगकै कारण मृत्यु भइरहेको केस भने पछिल्लो समयमा अत्यधिक बढेको डा. रेग्मी स्वीकार्छन्।

यतिबेला गंगालाल अस्पतालमै पनि दैनिकजसो औसत चार जना मुटु रोगका बिरामी पचास वर्षभन्दा मुनिका आइरहेको र त्यसमध्ये आधाको मृत्यु भइरहेको उनले बताए।

‘हार्ट अट्याक त्यत्तिकै हुँदैन,’ उनी भन्छन्, ‘पहिले त त्यसका पूर्वाधारहरू शरिरमा देखिनु पर्छ।’

‘हर्ट अट्याक’बाहेक यसरी मुटुको धड्कन अचानक रोकिने अन्य कारण के हुन सक्छ?

‘अत्यधिक रक्सी सेवन, अचानक रक्तचाप बढेर ठूलो मष्तिष्कघात भएको हुन सक्छ,’ डा. रेग्मी भन्छन्, ‘वैदेशिक रोजगारीमा जाने थुप्रै नेपालीको मृत्यु पनि यसरी सुत्यासुत्यै हृदयगति रोकिएर हुने गरेका छन् जसका थुप्रै कारण हुने गर्छ।’

तर, ‘हार्ट अट्याक’भन्नु सजिलो हुने भएकाले जसले पनि यो नाम प्रयोग गरिदिन्छन्। यो बहुप्रचलित शब्द भएकाले मान्छेले सजिलै विश्वास गरिदिने र यसो गर्दा मृत्युको कारण सजिलै छोपिने गरेको पनि उनले बताए।

‘यो केसमा पोस्टमार्टम गराउनै पर्थ्यो,’ डा. रेग्मी भन्छन्, ‘यति तन्नेरी मान्छे यसरी किन मृत्यु भयो भनेर मेडिकल साइन्सले पनि थाहा पाउनु पर्ने कुरा थियो।’

विदेशमा यस्तो खालको केसहरुमा अनिवार्य पोस्टमार्टम हुने गरेको उनले थपे।

डा. रेग्मीका अनुसार कसै कसैको मुटुमा ‘ब्रुगाडा सिन्ड्रोम’भन्ने पनि हुन्छ, जसमा एक किसिमको करेन्ट बग्ने सिस्टमको डिफेक्ट पनि हुन सक्छ। जन्मजातै आउने त्यस्ता बिरामी अचानक इमोसनमा आउँदा, अलिकति मदिराको मात्रा बढ्दा पनि मृत्यु नै हुनेगरी मुटुको धड्कन बिग्रन पनि सक्छ।

‘त्यसबाट अचानक मान्छेको मृत्यु नै भइदिने सम्भावना बढी हुन्छ,’ डा. रेग्मी भन्छन्, ‘बरु हर्ट अट्याकबाट अचानक मृत्यु हुने सम्भावना कम हुन्छ।’

पोस्टमार्टम गरिदिएको भए मृत्युको कारण पत्ता लाग्ने डा. रेग्मीको कथन छ। जस्तो कि हर्ट अट्याक भनिएको छ। त्यसको निम्ति मुटु खोलेर हेर्नेबित्तिकै तीन वटा मुख्य रक्तनली हेर्दा कहाँ रगतको थेग्रा जमेको रहेछ भनेर हेर्न सकिन्थ्यो। अनि बल्ल हर्ट अट्याक भन्न सकिन्थ्यो।

‘मुटुमा समस्या नदेखिएको भए मस्तिष्क खोलेर हेर्न सकिन्थ्यो,’ उनी भन्छन्, ‘रक्तश्राव देखिए स्ट्रोक भएको रहेछ भनेर थाहा पाइन्थ्यो।’

त्यसैगरी रगतको टिस्युहरूको बायोकेमिकल जाँच गरेर स्ट्रोक किन भयो भनेर कारण खोज्न सकिन्थ्यो। कुनै औषधिकै मात्रा अचानक धेरै खाइदिएको पो हो कि भन्ने पनि पत्ता हुनसक्थ्यो। कुनै कारणले पेटको ठूलो नसा ‘आओर्टा’ मा क्षति भएर पेटभरि रगत जमेकै कारण पनि मृत्यु हुन सक्थ्यो।

‘यस्ता असंख्य कारण पत्ता लगाउन मिल्ने पोस्ट मार्टम गराउँदै गराइएन,’ उनी भन्छन्, ‘त्यसो नभएको अवस्थामा ‘हर्ट अट्याक’भन्ने सजिलो उपाय अपनाइयो।’

सेतोपाटि बाट

प्रकासित मिति :२०७४ मङ्सिर ६ बुधबार

Leave a Reply

%d bloggers like this: