प्रचण्ड दम्पतीलार्इ मन बुझाउने दुर्इ नाती यस्ता छन !!

काठमाडौँ– पुत्रवियोगमा विक्षिप्त बनेका पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सीता दाहालले आफ्नी जेठी बुहारी सिर्जना त्रिपाठीलार्इ लाजिम्पाट भित्राएका छन् । प्रचण्ड र सीताका एकमात्र पुत्र प्रकाश दाहालको हृदयाघातका कारण अप्रत्याशित निधनपछि सन्नाटा छाएको लाजिम्पाट निवासमा सोमबार दुई नातिले सँगै खेलेर शोकाकुल अभिवावकहरुको अनुहारमा सान्त्वना दिएका छन् ।

प्रकाशका दुर्इ श्रीमती सिर्जना र बिनाका एक–एक छोरा छन् । उनीहरूको नाम प्रसिद्ध र प्रलव हो । प्रचण्डका जेठा नाति जेठा प्रसिद्ध सिर्जना त्रिपाठीका छोरा हुन् भने कान्छा प्रलव बिना मगरका छोरा हुन् ।

प्रकाशले बिनासँग विहे गरेपछि छोरासहित अलग बस्दै आएकी सिर्जना पनि आइतबार प्रकाशको निधन भएकै दिनदेखि लाजिम्पाटस्थित प्रचण्ड निवासमै बस्न थालेकी छन् ।

प्रकाशको निधनको खबर फैलिएलगत्तै छोरा प्रसिद्धलाई लिएर नर्भिक अस्पताल पुगेकी सिर्जना प्रकाशको अवस्था देखेर तत्कालै बेहोस भएकी थिइन् । उनी होसमा आएपछि प्रचण्डकै निर्देशनमा नर्भिकमा गाडी पठाएर उनलाई आर्यघाट लगिएको थियो । आर्यघाटपछि उनलाई लाजिम्पाट लगिएको थियो ।

सोही दिन प्रचण्डले जेठो नाती र जेठी बुहारीलार्इ लाजिम्पाटमा बस्ने प्रबन्ध मिलाउन सचिवालयलार्इ निर्देशन दिएका थिए । कान्छी बुहारी बिना राजनीतिमा रहेका कारण प्रचण्डपत्नी सीता दाहाल लाजिम्पाटमा एक्लै हुने छिन् । अब उनको एक्लोपन सिर्जनाले नै हटाउने छिन् ।

बिना कञ्चनपुर १ बाट चुनाव लडेकी छिन् । चितवन ३ बाट चुनाव लडेका प्रचण्डलाई सघाउन छोरी रेणु दाहाल पनि भरतपुर जानुपर्ने स्थिति छ ।

प्रचण्ड निवासमा मंसिर ७ गते नै प्रकाशको श्रद्धाञ्जली कार्यक्रम राखिएको छ । सो दिन विभिन्न दलका शीर्ष नेता र कूटनीतिज्ञहरुलाई लाजिम्पाट बोलाइएको छ । त्यसपछि प्रचण्ड चितवन र बुहारी बिना कञ्चनपुर लाग्ने बताइएको छ । (हिमालय खबर बाट साभार)