Tuesday , November 21 2017
Breaking News

जवाफ देऊ सिके राउत, ‘हाम्रा बा कसरी शासक भए?’

सरगम भट्टराई
मेरा बा-आमाले भगवानको कृपा भन्दै खुरुखुरु एक दर्जनको हाराहारीमा सन्तान जन्माउँदा पश्चिमी पहाडमा २०३० को दशकमा अनिकालले गर्लम्म अंगालो हालेको थियो । मेरी ५ वटी दिदीहरु कहिल्यै स्कूल जान पाएनन् । मेरा दाजुले छोरा भएकैले कसो कसो गरी स्कूलको मुख देखे, त्यैपनि बाबाले त्यसबेलाका धरणीधर साहुबाट महिनाको सयकडा तीन ब्याज खोजेर ।
मलाई सम्झना छ, आमा लगातार बर्षेनी सुत्केरी हुँदा मावलीले पठाईदिएको चामलको भात पाक्दा हामी चार/पाँच भाइबहिनी रित्तो थाली लिएर अगेनाको वरिपरि बसेर घुटुघुटु थुक निलिरहेको ! सधैंभरी ढिडो पाक्ने हाम्रो घरमा भात पाक्नु भनेको सपनामा जस्तो कहिलेकाहिँ मात्र हुन्थ्यो ।
गरीबीमा सबै सहनुपर्ने रहेछ । बाले हामी छोराछोरीका खातिर कयौं दिन त्यहि आँटो ढिडो पनि नपुगेर सिस्नोको खोले खाएको सम्झँदा अहिले आंग जिरिङ्ग हुन्छ । कति दिन त बाआमा भोकै सुत्नु भएको रे । मेरी फुपुले खानेकुरा केहि नभएर तोरीको पिना पोलेर खाएको कुरा आँखा वरिपरि घुम्दा अहिले आँखा रसाईरहन्छ ।

खडेरी परेर पाखोबारी पनि केहि नउब्जिने रुखो भएपछि हामी छोराछोरी भोकै मर्ने डरले बाले मधेस झर्ने निर्णय गर्नुभो । ममुनि तीन भाइ बहिनी र ममाथि पाँच गरी नौ र बाआमा गरी एघार जनाको लस्कर थाङ्ग्ना भोगटा बोकेर मधेस झर्यौं ।
मेरा बा र हामीलाई मधेस झर्नलाई न त कुनै शासक, न त उनका मान्छेले नै उक्साएका थिए । न त हामी मधेस कब्जा गर्न नै आएका थियौँ । केवल आएका थियौँ त गरीबी र बेरोजगारीले थलिएर र असहज भूगोलले दर्फरिएर, आफ्नै देशमा अघोषित शरणार्थी भएर अस्तित्व रक्षाका लागि ।
मधेस त झरियो । डाक्टर सिके राउतले अस्ति भर्खरै टिभीमा भनेजस्तै न बा शासक भएर आएका थिए न त अप्रवासी भएर । आफ्नै देशको एक कुनाबाट अर्को छेउसम्म ज्यान बाँच्न र हामी बर्षौटेलाई बचाउन आएका थिए ।
हामी भर्खर झरेको मधेसमा श्रम गरी खाने आफ्नै खेत थिएन । त्यसबेला जमिन्दारको खेत अधियाँ पाईने भो । भात खान नपाएर मधेस झरेका हामी अबोलाहरुलाई कति खुशी भयो होला म शब्दमा बताउन सक्दिन । जे होस् सिन्कीको झोल नै भएपनि भातसँग खान पाउँदा हामी दंग थियौँ ।
खरले छाएको कटेरो जस्तै झुप्रोमा बाआमा र हामी नौजना खिनौरेहरु माया र प्रेमले अटाएका थियौँ । एक छेउ भान्सा, एकातर्फ माटोले बनाएको अलि अग्लो टाँडमा पराले डसना ।लस्करै बिछ्यौना ।
मैले कहिल्यै बिर्सने छैन ! हावा हुरीसहितको पानी आउँदा एक महिनाकी मेरी बहिनी ईशासहितकी सुत्केरी आमालाई हाम्रो खरको छानुले नओतेर छाता ओढेर ओत लगाएको ।
धेरै बर्षसम्म पानी पर्दा ओत लाग्न खाटमुनि पसेको र चुहिने ठाउँमा आमाले भाँडा थापेको मैले सपनामा अझै पनि देखिरहन्छु । आफूले सानोमा भोगेको दुःख सधैभरी सपनामा आईरहने रहेछ ।
त्यसबेला गाउँको नजिकै स्कुल थियो । बाले घरको काम गरेर पढ्नुपर्छ, ठूलो मान्छे बन्नुपर्छ भन्नु हुन्थ्यो । बा र दाजु दिदीहरुले अरुको खेत खनजोत गर्दा आएका ती पसिना सम्झँदा म अहिले त्यो गरीबीका दिन सम्झेर आँसु मात्र झार्न सक्दिन ।
दिनहरु बित्दै गए । त्यतिबेला भैंसी, बाख्रा पनि अधियाँमा पाल्न पाईन्थ्यो । जोर जाम गरेर सत्रवटा बाख्रा भए म बबुरोले हेर्नुपर्ने । भैंसी हेर्न दाजु जानुहुन्थ्यो ।
म बबुरोले बिहान स्कूल जानुअघि दुई घन्टा र साँझ स्कुलबाट आएपछि दुई घन्टा बाख्रा चराएरै पढ्न शुरु गरेँ ।
बाले कर्मकाण्ड जान्नुभएकोले कसैले बोलाउँदा यसो पुरेत्याई गर्नुहुन्थ्यो तर कतिपय ठाउँमा दिनभरि काम गरेर पाउने मजदूरी भन्दा पनि कम दक्षिणा पाएको देखेर मलाई कर्मकाण्ड सिक्नै जाँगर आएन ।
मलाई सम्झना छ, जतिबेला मैले मेरो सेतो नैनसुतको घुँडे कट्टु फाटेर टालो हाली लगाएर बिना चप्पल स्कुल जाँदा जमिन्दारका छोराछोरीले राम्रै लुगा लगाउँथे, हामीलाई लुगा हालिदिन न कुनै राज्य सत्ताका मान्छे आए न त बाले नै किनिदिन सक्नु भयो ।
मामा घर जाँदा बिमला माईजुले किनिदिएको कमिजले मेरा दुईवटा दसैं धँकेलेको अझै याद छ । बाको सबै जनालाई लुगा किनिदिने सामर्थ्य थिएन, त्यतिबेला त जिद्दी गरिएहोला नबुझेर तर अहिले पश्चातापले भत्भति पोल्छ मलाई ।
बा असाध्यै सोझो र संस्कृत मात्र अलिअलि पढेको मान्छेले न दाजुलाई राम्रो जागिर लगाउन सक्नु भो न त आफूले केहि फाईदा लिनुभो ।राज्यले दिएको एक थान नागरिकता पाएर त्यतिन्जेलसम्म पाँच कट्ठा खेत किन्न सक्ने हुनुभो । सापो । अठार घन्टासम्म काममा जोतिएरै जोडेको पाँच कठ्ठा खेत त हाम्रा लागि कान्तिपुरी नगरी भन्दा ठूलो लागेको थियो ।
Dr_CK_Rautदाजु पछि मैले पनि छुट्टीको बेलामा हलों पनि जोतेँ । आफ्नो मात्र होईन अरुको पनि । बाहुनको छोरोले हलो जोत्नु हुन्न भन्थे त्यतिबेला तर गरीबीमा सबै चल्यो । बा डल्लेठोमा बस्दा कोहि मान्छे आएको बेला बा झर्नुस्, मान्छे आए लाज हुन्छ भन्थेँ ।
बा, आमा, दाई र दिदीहरु मेला पर्वमा मजदूरी गर्न पनि गए । बाले त्रियासी बर्ष भएर दमले थलिए पनि अझै सकेको काम गर्नुहुन्छ । तर मैले अहिलेसम्म मैले बुझिरहेको छैन, झुत्रे झाम्रे मेरा बा शासक सिके राउतका नजरमा शासक कसरी भए ?
मैले जसोतसो अरुको घरमा भाँडा माझेरै पढेँ, सानो काम गरेरै पढेँ । न मैले कसैलाई पढ्न जानबाट रोकेँ न त बाले नै । त्यसबेलाको राम्रै नम्बर ल्याईयो । आईए, बिए, एमए सबै उत्तीर्ण भएँ । बैनी भाइले पनि दुःखसुख पढे ।
म दीक्षित हुनेबेलासम्म देशको राजनीतिले काँचुली फेरि सकेको थियो, सरकारी जागिर खाने रहर र बाध्यता दुबै थियो । मैले लोकसेवामा खुलातर्फ असी नम्बर ल्याएर गुल्टिएँ । तर म संगसंगै पढेको कक्षामा सधैं फेल भईरहने जमिन्दारको छोरा रामदयाल मधेसी, जनजातिको कोटामा हाकिम बन्यो । मेरै अगाडि फूर्तिसाथ अफिस जाने आउने गर्थ्यो ।
समावेशी आरक्षण त यस्तो पो रहेछ । बल्ल सोध्न मन लाग्यो- ए ! सिके राउत जवाफ देऊ ! मेरा बा र म शासक कसरी भयौँ ?
मैले फ्रस्टेसनमा आएर राहदानी बनाएँ अनि घरखेत गरेर विदेश भासिएँ । बाआमाको बुढेसकालको टेक्ने लौरो थिएँ म, भाँचिएँ ।
साँच्चै के सिके राउतले भनेजस्तै मेरा बा र हामी शासक वर्ग र आप्रवासी हौँ त ? आज पैतिस बर्ष भो मधेस झरेको न मधेसीमा दर्ज भयौँ न त पहाडीमै । अचेल बाले बोल्दा नेपाली भन्दा अवधि राम्रो बोल्नु हुन्छ । नातागोताकोमा जाँदा बालाई जिस्क्याएर मधेसी भन्छन् अझै पनि ।
मेरा बा लगायत हामी श्रम गरी खाने वर्गहरुलाई जातको चिम्नी भित्र हालेर शासक वर्गको संज्ञा दिनेलाई मैले नबुझेको एउटा प्रश्न सोध्न चाहन्छु- हैन मेरा बा शासक कसरी भए ?
सिके राउतहरुले नदेखेको या नदेखेजस्तो गरेको कर्णाली र सेरोफेरोमा त अझ म र मेरा बाले भोगेको भन्दा सयौँ गुना गरीबी छ, असमानता छ । तिनीहरुलाई पनि शासक वर्ग देख्ने कस्तो दृष्टि दोष होला ?
मधेसमा विभेद पक्कै छ र त्यसको जिम्मेवार पटकपटक सत्तामा गएका बाबुहरुको पनि छ भन्ने जान्दा जान्दै वालापनमा छुट्टै राज्य माग्ने सिकेहरुले हाम्रा बाहरुलाई आप्रवासी र शासक भनेको मलाई मात्र हैन मेरा लाखौँ मधेसीलाई पनि कत्ति चित्त बुझेको छैन ।
समस्या जरोमा छ । हाँगा मुसारेर मात्रै कहाँ होला र । सिके दाईले आज मधेसमा साम्प्रदायिकताको आगो बाल्दै छन्, भोलि हाम्रा जातका चार पाँच नेतामाथि जाँदा हामीलाई शासक वर्ग भन्नेलाई मधेसीले नै प्रश्न सोध्ने छन्- ‘लेकिन वह गरीब पण्डितबा कैसे शासक होई गवा ?’
त्यसबेला सिके दाईको अध्यात्मिकता देख्न पाईएला नि ! (Sajhapost.com)

Leave a Reply