टुँडिखेलमा कन्सर्ट, सलमान खान र ज्याक्लिन काठमाडौं आउने तयारीमा

काठमाडौं – बलिउडका नायक सलमान खान सहित करिब एक दर्जन कलाकार एक कार्यक्रमका लागि नेपाल आउने भएका छन् । ओडिसी इन्टरटेनमेन्ट नामक संस्थाले आयोजना गर्न लागेको ‘दबङ्गः द सलमान खान लाइभ इन नेपाल’ नामक कार्यक्रममा सहभागी हुन नायक खान फागुन २६ गते नेपाल आउने भएका हुन् । राजधानीको टुँडिखेलमा हुने उक्त कार्यक्रममा करिब २५ हजार दर्शक सहभागी हुने आयोजकले अनुमान गरेको छ ।

ओडिसीका प्रबन्ध निर्देशक सिमान्त गुरुङका अनुसार फागुनमा हुने कार्यक्रमका लागि सलमान लगायतका बलिउडका कलाकार नेपाल आउन लागेका हुन् । उनले सलमानसहित प्रभु देवा, नायिका ज्याकलिन फर्नान्डेज, जरिन खान लागयतका कलाकार कार्यक्रममा सहभागी बन्ने जानकारी दिए ।

कलाकारहरुलाई ओडिसी इन्टरटेनमेन्टले नेपाल ल्याउन लागेको हो। उक्त कार्यक्रमभन्दा अगाडि नै सलमानका भाइ सोहेल होटल, सुरक्षा र कन्सर्ट हुने स्थान लगायतका विषयमा बुझ्न काठमाडौं आउने छन्। ओडिसीले कार्यक्रमको तयारी सुरु गरिसकेको र कलाकारलाई दिनुपर्ने पारिश्रमिक भुक्तानीका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग अनुमति माग्दै निवेदन दिएको समेत दिएको छ। – दस्तावेज