Tuesday , November 21 2017
Breaking News

सुन काण्ड भित्रका रहस्य पर्दाफास गरे भरियाले, डीआईजी निरौलालाई पनि कमिसन दिन्थ्यौं

काठमाडौं, ३ माघ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार कर्मचारीको मिलेमतोमा पटक–पटक सुन तस्करी हुँदै आए पनि नेपाल प्रहरीका डीआईजी, एसएसपीलाई पनि कमिसनका आधारमा सेटिङ मिलाउने गरिएको तस्करीमा संलग्नहरूले बताएका छन् ।

गत बिहीबार मात्र साढे ३३ किलो सुनसहित नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले पक्राउ गरेका तीन युवक तथा भन्सारका कर्मचारीले सुरक्षा निकायकै संलग्नतामा यो काम भएको बताएपछि मिलेमतो रहेको स्पष्ट भएको हो ।

शनिवार बालाजु चमतिमा पक्राउ परेको १५ किलो सुन पनि आरके ज्वेलर्सका राजेन्द्र शाक्य, प्रमोद श्रेष्ठ, पवन अग्रवाल, गोविन्द अग्रवाललगायत उही ग्रुपको भएको बुझिएको छ । यो प्रकरणमा पक्राउ परेकाहरूले भनेका छन्– ‘कमिसन डीआईजी सावसम्म पुग्थ्यो, डीआईजीलाई मिलाएका छौं भनेपछि हामीले यो काम गरेका हौं ।’

भन्सारका २९ जना कर्मचारी निलम्बनमा पर्दा एकजना प्रहरी पनि निलम्बनमा नपर्नुले आईजीपीसम्म सेटिङ भएको अनुमान गरिएको छ । भन्सारका कर्मचारीदेखि प्रहरीका डीआईजीलगायत अन्यलाई मिलाउने जिम्मा भन्सार एजेन्ट मिनबहादुर केसी र हरि पोखरेलले गर्ने गरेको बुझिएको छ ।

उनीहरू दिपक मलहोत्राका सहयोगी भएको बुझिएको छ । स्रोतका अनुसार सुन तस्करी प्रकरणमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराका छोरा एटमको पनि संलग्नता रहेको बुझिएको छ । उनलाई सेटिङ मिलाइदिने पथलैया भन्सारमा रहेका रमेश तिवारीले गरिदिएको स्रोतले बताएको छ ।

डीआईजीलाई पनि कमिसन
सीआईबी स्रोतका अनुसार उनीहरूले कम्तीमा ८–१० पटक तीन सय किलोसम्म विमानस्थलबाट अवैध सुन भित्र्याइसकेको बताएका छन् । यो तथ्यले विमानस्थलका भन्सार कर्मचारी तथा प्रहरीको मिलेमतोमै सुन तस्करी हुँदै आएको प्रस्ट भएको छ ।

हाल विमानस्थल सुरक्षाको कमान्ड सम्हालिरहेका प्रहरी नायव महानिरीक्षक (डीआईजी) गोविन्द निरौला तथा एसएसपी श्याम खत्रीकै मिलेमतोमा सुन तस्करी भएको पक्राउ परेकाहरूले बयानमा जनाएको स्रोतले बताएको छ ।

नायव महानिरीक्षक (डीआईजी) निरौला तथा एसएसपी खत्रीको संलग्नता बेगर सुन आउन नसक्ने पनि सीआईबी स्रोतले जनाएको छ । विमानस्थलमा रहेको एक्सरे मेसिनमा प्रहरीको पहुँच नहुने भन्दै यतिबेला उनीहरू पन्छिए पनि तस्करहरूले सुरक्षा निकायको भूमिकालाई कमजोर नठानी उनीहरूलाई समेत कमिसनका आधारमा सेटिङ मिलाएको स्रोतको दाबी छ ।

एक भरियालाई महिनामा तीनपटक
पक्राउ परेका गोपालबहादुर शाहीले तीन महिनामा पाँचपटक दुबईबाट सुन ल्याइसकेका थिए । बयानका क्रममा उनले दुबईबाट पटक–पटक सुन ल्याएको बताएका छन् । तस्करहरूले नै भिजिट भिसामा उनलाई दुबई पठाई सुन ओसार–पसारमा प्रयोग गर्दै आएका थिए ।

विमानस्थलको आवागमनमा प्रहरीलाई चेकजाँचको अधिकार नभएकाले भन्सारसँग तस्करहरूले सेटिङ मिलाउने गरेका हुन् । यद्यपि, प्रहरीको पनि त्यसमा मिलेमतो हुन सक्ने आशंकामा छानबिन अघि बढाइएको छ । तर डीआईजी निरौलाले आफ्नो संलग्नता नभएको दाबी गर्दै आएका छन् । उनले आफू जोगिन सुन तस्करीको जिम्मा भन्सारका कर्मचारीले लिनुपर्ने सार्वजनिक रूपमा बताएका छन् ।

सुन तस्करीमा अन्तर्राष्ट्रिय गिरोह
सीआईबीले सुन लिएर आएका शाही तथा सुन लिन गएका दिलबहादुर थापा र सन्तोष काफ्लेलाई पक्राउ गरेको थियो । थापा र काफ्लेको साथबाट सुन बरामद भएको थियो । सो सुन पनि विमानस्थलबाटै तस्करी भई आएको हो । तर, प्रहरीले मुख्य तस्करलाई अझै पहिचान गर्न सकेको छैन ।

सुटकेसभित्र बोतल आकारको फलामको डिब्बाभित्र कार्बन पेपर र कालो टेपले बेरेर सुन भित्र्याइएको थियो । थापा र काफ्लेबाट बरामद सुन शाहीले ल्याएको शैलीमा प्याक गरिएका थिए । पटक–पटक सुन भित्रिनुले यसमा भन्सारका उच्च कर्मचारी मात्र होइन, प्रहरीका उच्च अधिकारीहरूको मिलेमतो रहेको देखिएको छ ।

सुन तस्करीमा अन्तर्राष्ट्रिय गिरोह संलग्न रहेको अनुसन्धानमा आबद्ध प्रहरी अधिकारीहरूले बताएका छन् । दुबई, भारत र नेपालमा गरी तीन तहको गिरोहले सुन तस्करी गर्दै आएको छ । दुबईमा रहेको समूहले विभिन्न सामानभित्र लुकाएर सुन सुटकेसमा प्याक गर्ने र शाहीलगायत नेपाली युवाहरूले लिएर आउने गरेको प्रहरीको भनाइ छ ।

उनीहरूले काठमाडौंमा आएर अर्काे भरियालाई सुन दिन्थे, जसले उक्त सुन मालिककोमा पु¥याउने गरेका थिए । सोही सुन नेपाल र भारतका सुन बजारसम्म पुग्थ्यो । एक महिनापछि घर जान लागेका प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले यो विषयमा आँखा चिम्लिदिँदा डीआईजी निरौलासहित अन्य प्रहरी अधिकारीहरूको जागिर जोगिने अवस्था आएको छ भने आईजी अर्यालको पनि संलग्नता हुन सक्ने आशंका गर्न थालिएको छ ।

सुन तस्करसँग कुन कुन प्रहरी अधिकृत ?
भारतमा सुनको माग उच्च रहेकाले नेपालको बाटो हुँदै सुन त्यतातिर पठाउने गरिएको पाइन्छ । यदि प्रहरीले नेपालका प्रमुख नाकाहरूमा कडाई गर्नुका साथै राजस्व अनुसन्धान विभागको सक्रियतामा मुख्य सुुन बजारमा नियमित अनुगमन र सूक्ष्म निगरानी गर्न सकियो भने हालको सुन तस्करी कमी भई देशको अर्थतन्त्रमा पनि यसले सकारात्मक प्रभाव पार्न सक्ने निश्चित रहेको विज्ञहरू बताउँछन्, आजको तरुण साप्ताहिकमा समाचा्र छ ।

भूकम्पपछि तातोपानी नाकाको त्यति चहलपहल छैन, नत्र त्यतातिर हरेक महिनाजसो तस्करीका ठूलो परिमाणका सुन फेला पर्ने गरेको थियो । यसबाहेक देशका अन्य नाकाबाट पनि अवैध सुन नेपाल भित्रिने क्रम रोकिएको छैन । तस्करहरूले भरियालाई माध्यम बनाउँदै विभिन्न बहानामा सुन ओसार्ने गरेका छन् ।

प्रहरीले चेकजाँच र सुराकीकै आधारमा सुनलगायतका अन्य अवैध सामान बरामद गर्दै आए पनि पछिल्ला दिनमा यस्तो कार्य नरोकिएकाले यो प्रहरीका लागि ठूलै टाउको दुखाईको विषय भएको छ ।

विगतमा महानिरीक्षक अर्यालका सहपाठी तथा पूर्वडीआईजी गोपाल भण्डारी, एआईजी विज्ञानराज शर्मा र त्यसपछिका विवादास्पद डीआईजी विजयलाल कायस्थलगायतका सबैको सुन तस्करीका माफियासँग राम्रै हिमचिम थियो र हालसम्म पनि छ । यस्तै, पूर्वएआईजीहरू कल्याणकुमार तिमल्सिना, किरण गौतमलगायतको पनि सुन तस्करहरूसँग राम्रै उठबस रहेको बताइन्छ ।

Leave a Reply