Sunday , August 20 2017
Breaking News

एक दृष्टिविहिन परिवारको चित्कार ‘जीवन यस्तै हो भने हामी जस्तालाई भगवानले जीवन नदिउन’

सप्तरी जिल्लाको गमहरिया प्रवाहा गाविस ४ पटीटोलको एक परिवार । जुन परिवारका बयस्क पाँच र एक बालक अन्धोपनाका शिकार भएका छन् । तस्विर: अवधेशकुमार झा/कान्तिपुर ।

एक अवोध बालक आफनै घरमा खेलिरहेका छन् । तर, उनको  जिउमा एक टालो कपडा छैन । उनी गम्हरिया प्रबाहा ४ का शिवनारायण मण्डलका छोरा भुपेन्द्र हुन् । घरका सबै बयस्क नेत्रहीन छन् । उनलाई पनि साँझ आँखा देख्न छाडेको छ ।  चरम गरिवीको मार खेपिरहेका यिनको परिवारसंग यिनलाई लगाईदिने कपडा त के खुवाउने समेत केही छैन । कमाउने उमेरका सबै नेत्रहीन भएपछि कयौं छाक भोकै बस्नुपरेको बाबु शिवनारायण बताउँछन ।

शिवनारायण र उनकी पत्नी गीता मात्र होइन् १६ सदस्यीय परिवारका सबै ५ जना बयस्क नै अन्धोपनाको शिकार भएपछि परिवारको खानाको ब्यबस्थापन गर्न समेत धोधौ परेको छ । शिवनारायण मण्डल बच्चै देखि दृष्टिविहीन छन्, उनकी श्रीमती गीता, दाजु शम्भुकुमार, बहिनी जयकला र बहिनीकी श्रीमान् पनि दृष्टिविहीन छन् । शिवनारायणका छोरा भुपेन्द्रलाई पछिल्लो केही दिनदेखि साँझपख देख्न छोडेको छभने बहिनी जयकला नेत्रहीन सँगै शरिरीक अपाङ्गता समेत छिन् ।

शिवनारायण मण्डलका छोरा भुपेन्द्र

घरमा कमाउन सक्ने सबै अन्धोपनाको शिकार भएपछि अहिले कति छाक भोकै बस्नुपर्ने बिबसता रहेको शम्भुले बताए । उनले भने,‘कसैले दिए भने खाने हो नभए भोकै बस्ने हाम्रो दिनचर्या नै भएको छ ।’ टिनको छानो तर चारैतिरको पर्खाल समेत नभएको घरमा बस्दै आएका १६ सदस्यीय मण्डल परिवारमा दुखको सागरै छ । ‘हामीले न त संसारै हेर्न पायौं न त आफना परिवारलाई नै हेर्न पायौं’ भावुक हुदै शम्भुले भने ।

‘यदी जीवन यस्तै हो भने हामी जस्तालाई भगवानले जीवन नदिउन्’ गीता भन्छिन्, ‘हामीलाई त भगवानले यस्तै बनायो हाम्रा सन्तानलाई पनि यही समस्याले पिरोल्न थालेको छ, खाने अन्न त छैन कहााट उपचार गराउनु ?’ ‘कम्तीमा छोराको जीवन आफुहरु जस्तो हुँदैन भन्ने सोच्थें, तर भगवानले उसाई पनि छाडेनन’, भुपेन्द्रका वुवा शिवनारायणले भने, ‘आफुहरु त जसोतसो जीवनको अन्तरालसम्म आईपुगे, यो अवोधको अवस्था कस्तो होला ।’

पारिवारीक आर्थिक अवस्था अत्यन्तै दयनीय रहेका कारण छोरालाई उपचार गराउन समेत नसकेकोमा मण्डल परिवारलाई निकै पछुतो छ । ‘खाना त पुग्दैन कहावाट उपचार गराउनु’ उनले भने, ‘कोही दयालु हात वा सरकारले हाम्रो उपचार र पेट पाल्न मद्दत गरिदिएहुन्थ्यो ।’

१६ जनाको मण्डल परिवारमा काम गर्न सक्ने एक मात्र व्यक्ति शम्भुकी पत्नी सुकुमारीदेवी मण्डल हुन् । उनी पनि अपाङ्ग छिन् तर दृष्टिविहीन छैनन् । १० बर्षकै उमेरमा आगलागीमा परि सुकुमारी अपाङ्ग भएकी हुन् । उनको दुवै स्तन छैन । ‘घरका सबै अन्धो भएकाले वहाँहरुको स्याहारमै मेरो समय बित्छ’ सुकुमारीले भनिन्, ‘शारिरीक अशक्त भएकाले म पनि काम गर्न जान सक्ने अबस्थामा छैन् । तर, परिवारमा बच्चाहरु भोकै बसेको हेर्न सक्दैनौ, सानोतिनो मजदुरीको काम गरेर अन्न ल्याउछु तर त्यो सधै अपुग हुन्छ ।’

सुकुमारीलाई शारिरीक अशक्तता लिएर काम गर्न जाने कि १६ जनालाई खाना वनाएर खुवाउने/स्याहार सुसार गउने भन्ने समस्या छ । ‘भगवानले त हामीलाई दुखी बनायो बनायो, राज्य र समाजले पनि हाम्रो दुखलाई हेरेन’ उनी दुखेसो पोख्छिन् ।

तराई क्षेत्रमा अहिले शितलहरसंगै चल्ने गरेको सिरौटे हावामा मण्डल परिवारमा लगाउने न्यानो लुगा छैन् । ओछयानमा पराल मात्र छ । ओढन पुरानो त्यो पनि सबैलाई पुग्न सक्ने खालको नरहेको शम्भुले बताए । ‘घरमा एकातिरबाट कुकुर पस्दा अर्को तर्फवाट निस्कन्छ’ शम्भुले भने, ‘कमसेकम दैनिक गुजारा गर्ने र बस्न सक्ने ब्यबस्था भईदिए हुन्थ्यो ।’

मण्डल परिवारमा अन्धोपनाका शिकार भएकाहरुले यस अघि राज्यवाट अपाङता भता पाउँदै आएपनि पछिल्लो समय त्यो पनि पाउन छाडेका छन् । गाबिस कार्यालयले रातो कार्ड भएमात्र अपाङताको सामाजिक सुरक्षा भत्ता पाउने र रातो कार्ड नरहेकाले दिन नसक्ने भन्दै फर्काउने गरेको शम्भुले बताए ।

यस अघि मण्डल परिवारलाई गाबिसवाट पाउने सेवासुबिधा दिंदै आएपनि गतवर्षदेखि राज्यले रातो कार्ड भएकालाई मात्र सुबिधा दिन निर्देशन दिएपछि उनीहरुलाई सेवा सुबिधा दिन नसकिएको गाबिस सचिव हरेराम यादवले बताए । उनले महिला तथा वालवालिका कार्यालयवाट मात्र पूर्ण अपाङताको रातो कार्ड दिने गरिएको र सो अनुरुप नै सेवा सुबिधा उपलब्ध गराइने गरिएको बताए । महिला तथा बालबालिका कार्यालयकी प्रमुख चन्द्रकला श्रेष्ठ केन्द्रले जारी गरेको निर्देशन अनुसार दृष्टिविहीनहरुलाई रातो कार्ड दिने व्यवस्था नरहेको बताए ।

साभार कान्तिपुर /अवधेशकुमार झा
३ माघ २०७३

Leave a Reply