Sunday , November 19 2017
Breaking News

पतिको भाई जति सबै लोग्ने भए पछि – – –

फाइल फोटो

हुम्ला सदरमुकाममा रहेको मानसरोवर बहुमुखी क्याम्पसमा स्नातक तह पढ्दै थिइन् बुरुङ्से गाउँकी याङजुङ लामा । स्कुल पढ्दादेखि नै उनी यहाँका लामा समुदायमा रहेको बहुपतिप्रथाको कट्टर विरोधी थिइन् । तर, अहिले आफैँ तीन दाजुभाइकी एक्ली पत्नी बनेर गर्भवतीसमेत भइसकेकी छिन् । २३ वर्षीया याङजुङ भन्छिन्, ‘परम्परै यस्तै छ । बुबाआमाको चित्त दुखाउनुभएन । त्यसैले मन नपरे पनि स्वीकार गरेँ ।’
गाउँमा बहुपतिप्रथा सामान्य मानिए पनि हुम्ला सदरमुकाममा भने त्यो चर्चाको विषय बन्छ । त्यही लाजले याङजुङ क्याम्पस पढ्न छाडेर गाउँमा बस्न थालेकी छिन् । पहिलो सन्तान जन्माएपछि सिमकोट फर्केर होटल चलाउने योजना छ उनको ।

बहुपतिप्रथा स्वीकार गर्ने याङजुङ एक्ली पढालेखा युवती होइनन् । बाहिरी दुनियाँले अनौठो मान्ने परम्परा हुम्लाका लामा समुदायमा भने सामान्य छ, त्यसैले अझै कायम छ । बहुपतिप्रथामा दाइले जसको सिउँदोमा टाँसी (चैाँरीको घ्यू) लगाएर बिहे गर्छन्, भाइहरूले उनैलाई श्रीमती स्वीकार गर्नुपर्छ । बहुपति बिहेको आफ्नै संस्कार हुन्छ । तर, अरू समुदायबीच धेरै चर्चा हुन थालेपछि पहिलेजस्तो धुमधामसँग विवाह हुन छाडेको वर्षौं भइसकेको छ । ‘पढेलेखेकाहरू सुटुक्क स्वीकार गर्छन् । लाज मान्छन्,’ बरगाउँ गाविसका पूर्वअध्यक्ष पदम लामा भन्छन्, ‘सकेसम्म बहुपति स्वीकारेको हल्ला सदरमुकाम नपुगोस् भन्ने ठान्छन् ।’

नेपालको हुम्ला जिल्लामा श्रीमानका सबै भाइलाई लोग्ने मान्नुपर्ने कुसंस्कार कायमै छ । ‘बहुपतिप्रथा’ भनिने यो महिलाविरोधी ज्यादती रोक्न सरकारको तर्फबाट कुनै प्रयत्न भएको देखिन्न ।

उच्च शिक्षा लिएका र स्वरोजगार केही युवाले विद्रोह गरेर अर्को बिहे गरेका छन् । तर, गाउँमा बहुपति चलन रोकिएको छैन । दुई वर्षअघि बरगाउँका धर्म लामाका तीन दाजुभाइले एउटी पढालेखा युवती भित्र्याए । धर्म, बुद्धि र च्या–नर्बु लामा पालो मिलाएर घर बस्छन् । एउटाको भागमा चार महिना पर्छ । एक्ली श्रीमतीले तीनजनालाई माया बा“ड्नुपर्छ, उनीहरूको शारीरिक आवश्यकता पूरा गर्नुपर्छ ।
गाउँकै नर्बु र यामबहादुर लामाले एउटै पत्नी स्वीकार गरेका छन् । त्यस्तै, लुन्डुप र राया लामाका पनि एउटै पत्नी छिन् । बरगाउँकै भैरवबहादुर र गोरख एउटै पत्नीसँग रमाए पनि उनीहरूका भाइ सुनाम लामाले भने विद्रोह गरेर अर्को बिहे गरेका छन् । त्यसो गरेबापत सुनाम परिवारबाट बहिस्कृत छन् । परम्परा तोडेर छुट्टै श्रीमती राख्नेहरूले पुख्र्यौली सम्पत्ति पाएका छैनन् न त पारिवारिक जमघटमा उनीहरूको सम्मान हुन्छ ।

गाविसका पूर्वअध्यक्ष पदम एक्ला छोरा हुन् । त्यसैले उनकी पत्नी निमा याङजुमलाई बहुपति स्वीकार्नुपरेन । उनीहरूका दुई छोरा छन्, गोविन्द र कार्बु । गोविन्दको बिहे भई दुई नातिसमेत भइसकेका छन् । तैपनि पदम कान्छो छोराले भाउजूलाई श्रीमती स्वीकार गरोस् भन्ने चाहन्छन् । ‘मेरो इच्छा कान्छोले स्वीकार गरोस् भन्ने छ । रहर गरेर बिहे गरे दुःख पाउँछ,’ उनले सुनाए, ‘एक हात, एक डाडु–पन्यु नभए महिला मिल्दैनन् । परिवार भाँडिन्छ, सम्पत्ति बाँडिन्छ ।’

‘बहुपतिप्रथा’बाट विद्रोह गरेर छुट्टै श्रीमती राख्नेहरू धेरैजसो गाउँबाहिर छन् । एक दर्जन त्यस्ता युवा सदरमुकाम सिमकोटमा डेरा लिएर बसेका छन् । विद्रोह गर्नेमा धेरैजसो कान्छो भाइ छन् । तर, बरगाउँस्थित लिमाटाङ गाउँका रिन्जी लामा अपवाद भएका छन्, जो परिवारका जेठो सदस्य भए पनि आफैँ विद्रोह गरेका छन् । परम्परागत मागीविवाह गरेर श्रीमती भित्र्याए पनि पछि उनी आफैँले विद्रोह गरे । दोस्रो बिहे गरेपछि उनी घर फर्किएका छैनन् । चार दाजुभाइ भए पनि बहुपति स्वीकार गरेकी श्रीमती अहिले माइला भाइसँग छिन् ।
शिक्षित युवती बहुपतिप्रथा रुचाउँदैनन् । तर, धेरैले परम्परा धान्ने र घर भाँडिन नदिने भन्दै त्यही नरुचाएको विवाह स्वीकार गरेका छन् ।

२२ वर्षीया छिरिङ जाङ्मु लामा बहुपति विवाह आफ्नो जातिको संस्कार भए पनि स्वीकार नगर्ने बताउँछिन् । ‘महिलालाई धेरै भार हुन्छ । घरको काम, धेरै भाइहरूको यौनतृष्णा मेटाउन गाह्रो हुन्छ,’ उनी भन्छिन् । उनी लामा महिलामा पाठेघरको समस्या हुनुको एउटा कारण बहुपतिप्रथालाई ठान्छिन् । प्लस टु पढ्दै गरेकी लामा अहिले स्थानीय गैरसरकारी संस्थामा सामाजिक परिचालक छिन् ।
बरगाउँ– ७ की २१ वर्षीया छपाल लामा भने अलि फरक सोच राख्छिन् । बहुपतिप्रथाले अरू जे–जस्ता समस्या ल्याए पनि महिलालाई घरमूली बनाएकोमा उनलाई राम्रो लाग्छ रे । ‘भाइ–भाइ छुट्टिनुपर्दैन । अंशबन्डा हुन्न । सबैको कमाइ एकै ठाउँ आउने हुँदा आर्थिक अवस्था सुध्रिन्छ,’ उनी भन्छिन्, ‘पुरानो संस्कार हो । फाइदा–बेफाइदा दुबै बराबर छन् ।’

बरगाउँ– ६ की क्यामा लामा बहुपतिप्रथाले महिला शोषणमा परेको बताउँछिन् । जेटीए अध्ययनरत उनी बहुपति विवाहले महिलालाई शारीरिक र मानसिक तनाव हुने ठान्छिन् । ‘धेरै भाइहरूको चित्त बुझाउनुपर्ने बाध्यता एकातिर हुन्छ भने अर्कोतिर घर सम्हाल्नुपर्छ,’ उनले भनिन्, ‘आफ्नो इच्छा नलागेको मान्छेलाई पनि लोग्ने मान्नुपर्ने परम्परा युगसुहाउँदो छैन ।’
सिमकोट– ८ बुरुङ्सेकी २० वर्षीया जुम्कित लामा बहुपति विवाहलाई राम्रो मान्दिनन् । मानसरोवर उमाविमा कक्षा १२ मा अध्ययनरत उनी अहिले पनि बहुपति विवाह गर्नुलाई लोभमा पर्नु ठान्छिन् । ‘आफ्नो इच्छाविपरीत सबै भाइहरूलाई लोग्ने मान्नुपर्ने चलन महिलाअधिकारविरोधी छ । यसलाई राज्यले रोक्नुपर्छ,’ उनले भनिन् ।

बहुपतिप्रथामा विद्रोहको सुरुवात ५० को दशकको अन्त्यतिरबाट सुरु भएको मानिन्छ । ०४८ सालको निर्वाचनमा हुम्लाबाट निर्वाचित सांसद छक्कबहादुर लामाले ०५० सालतिर प्रेमविवाह गरे । पाँच भाइकी एक्ली श्रीमती घरमा हुँदाहुँदै एकल श्रीमती भित्र्याएका उनी एकैसाथ विवाद र चर्चामा तानिए । ‘बिहे गरेर पढ्न गए । घरकी श्रीमती भाइहरूसँगै छिन्,’ समाजशास्त्रीसमेत रहेका लामा भन्छन्, ‘म घुमिरहनुपर्ने मान्छे । बायोलोजिकल निडले पनि अर्को बिहे गर्नुपर्ने भयो ।’ कान्छा भाइले पनि विद्रोह गरेर एकल बिहे गरे । त्यसयता हुम्लामा बहुपतिप्रथामा विद्रोह सुरु भएको मानिन्छ । उच्च हिमाली भेगमा रहेको ‘क्याराभान’ अर्थतन्त्रले बहुपतिप्रथा उपयुक्त रहे पनि आधुनिकतासँगै त्यो हट्नुपर्ने उनी ठान्छन् ।

०६८ को जनगणनाअनुसार हुम्लाको जनसङ्ख्या ५० हजार आठ सय छ । त्यसको करिब २४ प्रतिशत लामा समुदाय छ । त्यसमध्ये झन्डै ६० प्रतिशत निरक्षर छन् । अझै पनि करिब १५ प्रतिशत लामामा बहुपति विवाह गर्ने चलन कायमै रहेको पाइएको छ ।
त्यसैले शिक्षा र आधुनिकीकरणले युवा पुस्ताले उक्त प्रथा नरुचाए पनि पुरानो पुस्ताको दबाबका कारण हुम्लाका लामा समुदायमा अझै केही वर्षसम्म यो प्रथाको अस्तित्व रहने बहुपतिप्रथाका शोधकर्ता खेमु केसी बताउँछन् । उनी भन्छन्, ‘बहुपति धेरै पुरानो संस्कृति हो । जतिसुकै परसंस्कृति ग्रहण बढ्दै गए पनि जरो गाडेको प्रथा हट्न अझै केही वर्ष लाग्नसक्छ ।’

सञ्चारिका फिचर सेवा/कान्तिपुर- जनक नेपाल

४ माघ २०७३

Leave a Reply