Sunday , August 20 2017
Breaking News

कथाः सम्पत्ति र घरज्वाइँ

 

केशवी जोशी

‘पत्रकार महोदया’ हेलो भन्न नपाउँदै उनले एकै सासमा भनिहाले, ‘म जिल्ला अदालत जाँदै छु, ठीक ११ बजे, तपाईंका लागि नयाँ मुद्दा र मेरा लागि दुःखद छ । मिल्छ भने आउनुस् ।’

‘हस् म आउँछु ।’

‘लु आइहाल्नुस्’ भन्दै उनले फोन काटिदिए । छोरीको होमवर्क गराउँदै थिएँ । घडी हेरेँ,  आठ बजेर १५ मिनेट भैसकेछ । म हतारिँदै खाना पकाउनतिर लागेँ ।

मनमा अनेक कुरा खेल्न थाले । हैन, यी मानबहादुर दाइले के चाहिँ गर्न थाले ? सोचेँ, अरु साथीलाई सोधूँ । तर, पत्रकारितामा हुने ईर्ष्याले उपस्थिति जनाइहाल्यो, यदि केही नौलो रहेछ भने त ‘स्कुप’ हान्नुपर्छ ! साथीलाई गर्नै लागेको फोन राखिदिएँ । मानबहादुर दाइलाई नै फोन गरेर बुझ्न मन लाग्यो । कल गरेँ । तर, उनको मोबाइल करिब एक घण्टा जति व्यस्त रह्यो । सोचेँ, दाइले अरु पत्रकारलाई पनि बोलाउनतिर लागे क्यार । मनमनै गमेको कुरा मुखबाट निस्किहालेछ ।

‘कोले बोलायो मामु ? एक्लै को सँग बोल्सिँदै छ ?’ छोरीले सोधी

‘हैन हैन, कसैले हैन’ झस्कँदै उत्तर दिएँ ।

दाइको नम्बरमा फेरि डायल गरेँ । यस पटक भने फोन लाग्यो ।

‘अँ भन्नुस्’ उनले सोधे ।

‘तपाईं अहिले कता हुनुहुन्छ ?’

‘जिल्ला प्रहरी कार्यालयमा रिपोर्ट दर्ता गराउन ।’

‘के को दाइ ? केही चोरी भयो कि ?’

‘मेरो चरित्रहत्या भो ।’

‘हजुर ?’

‘बलात्कार के बलात्कार, तपाईं बुझ्न चाहनुहुन्छ भने यतै आउनुस्’ यति भनेर उनले फोन राखिदिए ।

keshabi-joshi

केशवी जोशी

अनौठो विषय थियो । के भन्न खोजेका हुन्, केही बुझिनँ । एक मनले सोचेँ, अहिले कुनै बलात्कारका घटना भएका छैनन् । कसको बलात्कार भएछ ? फेरि आफ्नै चरित्रहत्याको पनि कुरा गर्छन् । बौलाएछन् कि क्या हो ?

के के भन्छन्, के के गर्छन्, ठेगान छैन यिनको पनि । महिलाबाट पीडित छु भनेर यिनले सार्वजनिक ठाउँमा नै भन्ने गर्छन् । अब फेरि यिनको बलात्कार कसले गरेछ ? जे भए पनि समाचारका लागि एक अब्बल स्रोत हुन छुटाउन त भएन । मनमा दोधार थियो, जाने कि नजाने ।

‘खाना पाक्यो ?’ श्रीमानको आवाजले झसंग भएँ । मेरो छेउमा कतिबेला आए, पत्तै पाइनँ ।

‘के मा हो त्यत्रो गहिरो सोच ?’ उनले फेरि भने ‘के भो ?’

‘बलात्कार’ अनायासै निस्कियो मुखबाट ।

‘कसको ?’

‘अँ, म अदालत जानुपर्ने भो,’ मैले भनेँ ‘छोरीलाई स्कूल पुर्‍याइदिनुस् है !’

‘ल ल, अनि कसको बलात्कार भयो फेरि ? यी पतितहरु पनि कति बढेका हुन्’ होमवर्क गरिरहेकी छोरीलाई हेर्दै उनले भने, ‘छोरी एक्लै बाहिर नजानू है !’

उनको आवाजमा मायासँगै डर मिसिएको थियो । मैले केही जवाफ दिइनँ ।

सञ्चार माध्यमले उचालेका मुद्दा र समाजमा बढ्दै गएका विकृतिका बारेमा उनी सधैं चिन्तित रहन्छन् । हामी पत्रकारले पनि समाज बिगार्ने काम गरेको उनको विश्लेषण थियो ।

‘म निस्किएँ है’ भन्दै म हिँडेँ ।

‘यी पत्रकारहरु घरकै मान्छेसँग नि सूचना लुकाउँछन्’, उनी मुर्मुरिँदै थिए ।

१० बज्न अझै आधा घण्टा बाँकी थियो । सोचेँ, पहिला पुलिस स्टेशन गएर कुरा के हो, बुझिहालूँ । ११ बजे अदालत पुगिहालिन्छ ।

पुलिस स्टेशनको गेटमा अँध्यारो अनुहार लगाएर बसेका थिए मानबहादुर दाइ, नाम चलेका व्यापारी । अरु बेला छुट्टै फूर्ति हुन्थ्यो उनको । हामीलाई आर्थिक समाचार लेख्न सिकाउँथे पनि । निर्माण व्यवसायी, डिलर, होलसेल, खुद्रा व्यवसायी सबैमा अटाएका थिए उनी । तर, आज उनी खिन्न मुद्रामा मोबाइल खेलाउँदै बसेका थिए । थानाका इन्सपेक्टर उनको अगाडि ओहोरदोहोर गरिरहेका थिए ।

‘दाइ नमस्ते !’ मैले उनलाई बोलाएँ ।

उनले पुलुक्क मतिर हेरे, आशा जागे जस्तै । आँखाले सहयोगको याचना गरेको प्रष्टै झल्किन्थ्यो ।

‘ए, रक्षा बहिनी, आउनुस् बस्नुस्’, उनले सिटबाट उठेर मलाई बस्न आग्रह गरे ।

यो विपना नै हो त ? मलाई अचम्म लाग्दै थियो । सधैं रवाफमा बस्ने मानबहादुर दाइ पत्रकारको खेदो खन्थे । निश्चित समय भन्दा एक मिनेट बढी मिल्दैनथ्यो उनीसँग । व्यावसायिक ज्ञानका भने भण्डार हुन् । उनी नबोलिदिए हामी पत्रकारको त खिचडी पाक्दैन ।

उनको एउटै कुरा मन पर्थ्यो मलाई, उनी महिलालाई सम्मान गर्थे । सायद उनी घरज्वाइँ बसेकोले महिलालाई यति सम्मान दिने गरेको होला भन्ने धेरैको अड्कल छ ।

‘रक्षाजी, बस्नुस्,’ इन्सपेक्टरले अर्को कुर्ची देखाए ।

‘धन्यवाद’ भन्दै म बसेँ ।

‘दाइ के भो, तपाईं चिन्तित देखिनुहुन्छ नि !’ मैले मानबहादुर दाइसँग जिज्ञासा राखेँ ।

‘उहाँले बलात्कार भएको रिपोर्ट दर्ता गराउनुभयो रक्षाजी,’ इन्सपेक्टरले मजाकिलो स्वरमा भने ‘उहाँको इज्जतको बलात्कार, उहाँले कमाएको सम्पत्तिको बलात्कार… ।’

उनले इन्सपेक्टरतिर हेरे । के बुझे कुन्नि, हामी दुईलाई छोडेर इन्सपेक्टर भित्र गए ।

त्यसपछि मात्र मानबहादुर बोले, ‘रक्षा बहिनी, मेरो बलात्कार भयो, मेरो सम्पत्ति चोरी भो, मेरो चरित्रहत्या भो, म बरबाद भएँ । एक्लो भएँ यो दुनियामा ।’ उनी भक्कानिएर रुन पो थाले ।

पुरुष भएर त्यसरी रुन नहुने सोचेँ, तर भनिनँ । पितृ सत्तालाई अँगालेको भन्लान् भन्ने डरले भन्न सकिनँ ।

जति आधुनिक हुन खोजे पनि आफू हुर्केको, देखेको, भोगेको र सुनेको कुरा त्याग्न गाह्रो हुने रहेछ । सायद, त्यहाँ उनको सट्टा उनकी श्रीमती भएको भए मलाई सहज लाग्थ्यो होला । केहीबेर रोए भने मन हल्का होला भन्दै म चुप बसेँ ।

१५ मिनेटसम्म पनि उनको आँसु थामिएन । म भने महिलावादीको ढोंग ओडेर उनलाई हेरिरन सकिनँ ।

‘दाइ रोएर आफूलाई कमजोर नबनाउनुस्, तपाईं जस्तो मानिसले यसरी रोएको सुहाउँदैन ।’

खल्तीबाट रुमाल झिकेर उनले आँसु पुछे । कति दिनदेखि ननिदाएर ओइलाएका उनका आँखाले केही भन्न खोजेर पनि भन्न नसकेको छनक दिइरहेका थिए ।

‘बहिनी हिजो राति मेरो बलात्कार भो । मलाई घर छोडेर जान भनियो । मर्ने धम्की र त्रासले नाइँ भनेर भन्न सकिनँ । नामर्दको पगरी बाँधियो मेरो शिरमा । घरज्वाइँ बसेको बिर्सेर राजा पल्टिएको आरोप लगाइयो । हिजोको अन्तिम रात मेरा लागि कहालीलाग्दो बन्यो । हो बहिनी हिजोसम्म हो, मैले हेपाइ सहेर पनि परिवार बाँधेर राख्न खोजेको ।’

लगातार बोल्न थाले । साद घाँटी सुक्यो क्यार, मसँग भएको पानीको बोतल मागेर दुई घुट्को पिए ।

‘तर, म असक्षम छोरो, असक्षम बुवा, असक्षम ज्वाइँ र असक्षम श्रीमान् भए । मैले व्यापार-व्यवसाय सम्हाल्न सकेँ, तर परिवार सम्हाल्न सकिनँ । आज मेरो उपर दिएको मुद्दाको छिनोफानो हुँदै छ । सम्बन्धविच्छेदको मुद्दा । तर, मैले सम्पत्तिका लागि अर्को मुद्दा दर्ता गराएको छु ।’

एकछिन रोकिएर फेरि भने, ‘प्रेममा परेपछि धेरै सम्झौता गरिँदो रहेछ । प्रेम विवाह गरेको मैले । प्रेममा परेपछि अन्धो भएँ । आफ्नो बुवाको सम्पत्ति छोडेर घरज्वाइँ बस्न आएँ । छोरा जस्तै गर्थे । उनको व्यापार-व्यवसाय सम्हाल्दै माथि पुर्‍याएँ । घरजग्गा, सम्पत्ति सबै जोडेँ । अहिले चार-पाँच कम्पनीहरुमा करोडौंको लगानी छ । श्रीमतीको विश्वासले उसकै नाममा गरिदिएँ । यही ठूलो गल्ती गरेँ । अहिले उसले सम्बन्ध विच्छेद गर्न दबाब दिएकी छे । त्यसका लागि अदालतमा मुद्दा हालेकी छे ।’

केही सम्झे जस्तो गर्दै लामो सास फेरे ।

‘जीवनको उर्वर २५ वर्ष आफ्नो मान्दै त्यही ससुरालीमा बिताएँ । अब यो उमेरमा कता जाने ? कमाएको सम्पत्ति र इज्जत एकैसाथ सखाप भयो । सहयोगको लागि गुहारेँ । तर, यो पितृसत्तात्मक समाजमा पुरुष पनि पीडित छ भनेर कसले पत्याउँछ ? मैले नचाहेर पनि यौनसम्बन्ध राख्नुपर्छ भनेर कसले पत्याउँछ ? पुरुषमा पनि यौन चाहना कम हुनसक्छ भनेर कसले पत्याउँछ ? श्रीमानको घर गएका महिलाहरुले सम्पत्तिको आधा भागको दाबी गर्छन् । मैले चाहिँ गर्न पाउदिनँ ? म जस्ता घरज्वाइँ बस्ने पुरुषहरुले उक्त सम्पत्तिमा हक खोज्न मिल्छ कि मिल्दैन ? अहिलेका महिला अधिकारकर्मीहरुसँग म यही प्रश्न सोध्न चाहन्छु । मसँग सम्पत्तिको नाममा केही छैन । म छोराछोरीलाई पाल्न सक्दिनँ भनेर मेरा छोराछोरी पनि उनले नै जिम्मा लिने रे ! एउटा बाबुलाई छोराछोरीबाट टाढा राख्न मिल्छ ?

‘तपाईँ जस्तो सक्षम मानिसले यसरी हिम्मत हार्न मिल्छ र दाइ,’  उनलाई बीचमै रोकेर भनेँ, ‘तपाईं अझै आफ्नो खुट्टामा उभिन सक्नुहुन्छ, आफ्नो व्यवसाय चलाउन सक्नुहुन्छ, अर्को बिहे गर्न सक्नुहुन्छ, महिलाको जस्तो समस्या त तपाईंलाई अवश्य हुँदैन ।’

‘हो, तपाईं जस्ता पत्रकार र महिला अधिकारवादीकै कारण हो, छोरीको भ्रुणहत्या गरिने । बुढेसकालको सहारा छोरा मात्रै हो । छोरी त बिहेपछि अर्काको घर जाने जात हो । यही भ्रम तोड्न चाहन्थेँ म । छोरीले बुहारी भएर बुढेसकालको सहारा बन्न मिल्छ भने छोराले ज्वाइँ भएर किन मिल्दैन भन्ने सोच राख्थेँ । समाज बदल्न चाहन्थेँ । घरज्वाइँ बनेर उदाहरण बन्न चाहन्थेँ  । २० वर्षअघि व्यवस्थापन विषयमा स्नातकोत्तर गरेको थिएँ । जस्तो जागिर पनि खान सक्थेँ । तर, पारिवारिक काममै तन-मन लगाएर बसेँ । आज यस्तो दिन आयो ।’

‘दाइ, यो पुरातन सोच एकैचोटि त कसरी हट्ला र ? तपाईं जस्ता कति यसका शिकार भए होलान् र अझै कतिले हुनुपर्ने हो !’

‘सकिँदैन बहिनी सकिँदैन । म आफ्नै घरमा त उदाहरण बन्न सकिनँ । मेरी श्रीमतीले पनि छोरा चाहियो भनेर कति भ्रुणहत्या गरी, मैले आफू जस्तै घरज्वाइँ बसाउला नि भन्दा पनि उसले मानिन । सायद उसलाई म घरज्वाइँ बसेको मन परेको थिएन कि ? मैले बुझ्न सकिनँ । उसले कहिले यो विषयमा कुरा गरिन । मैले उसका आमा-बुवालाई एक्लै छोड्न चाहिनँ । मेरो आमाबुवा दाइसँग बस्नुहुन्छ । उहाँहरुको चाहना घरज्वाइँ नबसोस् भन्ने थियो । तर, मैले मानिनँ । म समाज बदल्न चाहन्थेँ । छोराछोरी समान हुन्, एक जनाले आमाबुवाको ख्याल राख्नुपर्छ भन्थेँ । तर, म गलत थिएँ । मैले सम्पत्ति नकमाएको पनि हैन् । चाहेको भए, अलग्गै घर बनाएर बस्न सक्थेँ । सबै व्यापार-व्यवसाय आफ्नो नाममा गर्न सक्थेँ । तर, गरिनँ । श्रीमतीको विश्वास चाहिनेभन्दा बढी थियो मलाई, ज्वाइँ पनि छोरा नै त हो भन्ने पागलपन थियो ममा । कतिलाई आफू जस्तै बन्न सल्लाह पनि दिएँ । आज म समाजलाई के भनूँ ? कसरी चिताको बाटो हेरिरहेका आमाबुवाको शरणमा जाऊँ ? आज मभित्रको म नै मरेको छ… ।

‘अनि दाइ, तपाईंको वकिलले के भन्छन् नि ?’ बीचमै सोधेँ ।

लामो सास लिँदै उनले भने, ‘माइतीको सम्पत्ति सबै श्रीमतीको नाममा छ । त्यो उनको पेवा हो, मेरो त्यसमा भाग लाग्दैन भन्छन् ।’

‘ए, भनेपछि कानुनले घरज्वाइँको बारेमा पनि सोच्नुपर्ने भएछ’, मैले सोधेँ ‘तपाईंले अहिलेसम्म यो कुरा किन बाहिर ल्याउनुभएन त ? कुरा सम्बन्धविच्छेदसम्म पुगिसकेछ ।’

‘अब, सँगै सुतेपछि त खुट्टा लागिहाल्छ नि । सँगै राखेका भाडा पनि कहिलेकाहीँ ठोक्किन्छन् । अझै कुरा मिलि पो हाल्छ कि भन्ने आश थियो’, उनले केही सम्झे जस्तो गरेर घडी हेरे । कुर्चीबाट उठ्दै भने ‘बाँकी कहानी अर्को चोटि भनूँला बहिनी, अहिले अदालतको समय हुनै लाग्यो, जाऔं ।’

‘मैले कसरी सहयोग गर्न सक्छु त दाइ ?’

‘घरज्वाइँका बारेमा पनि सोच्नुस् । घरज्वाइँ बस्न केटाहरु नहिचकिचाऊन्, छोरीको भ्रुणहत्या नहोस्, छोरी जन्माएर बुढेसकालमा कुनै पनि आमाबुवाले एक्लै बस्नु नपरोस् । समाजले घरज्वाइँलाई हेर्ने नजर बदलियोस् र मैले जस्तो समस्या अरु घरज्वाइँले नभोगून् । यसबारेमा आवाज उठाइदिनुस् । ‘

सँगैको अर्को गेट अदालतको थियो । हामी अदालतको गेटतिर लाग्यौं । गेटमा पुग्ने बित्तिकै उनले मतिर हेरेर भने, ‘चिन्ता नगर्नुस् रक्षा बहिनी, अहिलेसम्म कुनै घरज्वाइँले सम्पत्तिको लागि श्रीमती उपर मुद्दा दिएको समाचार सुन्नु भाको छ ?’

‘छैन’ भन्दै मैले टाउको हल्लाएँ ।

‘हो, तपाईँको लागि यही हो नयाँ विषय । स्कुप हान्नुस्, अरु पत्रकार पनि आउँदै होलान् ।’ यति भनेर उनी आफ्नो वकिलसँग कुरा गर्न थाले ।

म भने अनलाइनमा भए पनि स्कुप हान्ने दाउमा समाचार लेख्नतिर लागेँ ।

‘पहिलो पटक घरज्वाइँले दिए सम्पत्तिको लागि श्रीमती उपर मुद्दा । श्रीमतीले बलात्कार गरेको आरोप ।’

  • onlinekhabar.com

२०७३ पुष २३ गते १२:३० मा प्रकाशित

Leave a Reply