Sunday , November 19 2017
Breaking News

दोष जति बाहुनवादलाई : रस जति आफैलाई?

– सरगम भट्टराई

नेपालको आर्थिक , सामाजिक र राजनैतिक अवस्थामा अहिले सम्म सुधार नआउनुको मूख्य कारण बाहुनवाद र यसले सिर्जना गरेका अवयवहरु लाई लिने गरिएको छ । बिभिन्न समाजशास्त्रीहरु द्वारा समेत समाज बिकासको क्रममा  बाहुनवादले प्रभाव पार्नाले सामाजिक सम्बन्धहरु कमजोर भई निश्चित बर्ग र बिशेषले मात्र फाईदा पाएको भनेर ठम्याईएको छ ।

नेपाली समाजमा बहुदल हुँदै लोकतन्त्रात्मक ब्यवस्थाको एक दशक बित्दा समेत देश बिकासको मूख्य बाधकको रुपमा बाहुनवादलाई लिईएको छ । बिभिन्न अधिकार कर्मीको आवरणमा समाजको बिद्यमान प्रणाली माथि एकोहोरो प्रहार गरी जात बिशेषको थर भएकै आधारमा कसैलाई शासक र कोही उत्पिडितको बिल्ला भिराएर त्यसैलाई आफ्नो शक्ति प्राप्तीको भर्यांग बनाईएको कुरा न त अधिकार वास्तवमा पाउनुपर्नेले बुझेका छन्, न त अधिकार दिनेले नै बुझेको देखिन्छ । यसलाई चिरफ़ार गरेर हेर्ने हो भने समाज बिकासको बाधक बाहुनवाद मात्रै नभएर आर्थिक, सामाजिक र मनोवैज्ञानिक कारण पनि हो भन्ने कुरा बुझ्न आवश्यक छ । यद्यपि सबै ठूला साना राजनैतिक परिवर्तनहरुको नेतृत्व बाहुन क्षेत्रीहरुले नै गरेका छन् । उनीहरुको देनलाई उपेक्षा गरे पनि अन्याय हुन्छ ।

खास गरी लोकतन्त्र पछिको संक्रमण कालमा जब पहिचान र अधिकारको कुरा गर्न थालियो त्यसपछि अबैज्ञानिक रुपमा राज्यका निकायहरुमा योग्यता प्रणालीको धज्जी उडाँउदै प्रशासनिक, न्यायिक देखि राजनीतिक क्षेत्रमा अयोग्य मान्छेहरु भित्रिन थाले । आरक्षणको सिद्धान्त समेत धमिल्याएर जातकै भर्यांगबाट जनशक्तिहरु चढाईयो । अझ राजनीति गर्नेहरुले त आफै कथित ठूला जातका भएर बाहुनवादको चरम बिरोध पनि गर्ने तर निरन्तर पार्टी देखि देशको नेतृत्व आफैले लिने र अन्य जात र क्षेत्रलाई गुमराहमा पारेर उनकै नामको भागमा रजाईँ गर्ने परिपाटी बसिसकेको छ ।

 

नेपालको राजनीतिको केन्द्रमा बाहुन क्षेत्रीहरुको हालीमुहाली छ तर यसकै आधारमा कर्णालीमा मजदूरी गरी जहान पाल्ने बाहुन र तराईमा अधिया गरेर खाने क्षेत्रीहरुलाई समेत राज्यको सेवा सुबिधामा बन्चित बनाउनु कसरी न्याय संगत हुन सक्छ । कुपोषणले ग्रस्त भएर जीवन मरणको दोसाँधमा भएको कालीकोटको दलितको भाग काठमांडौको करोड़पति सुनारले खाईदिनु कुन समानता र आरक्षण अन्तर्गत पर्छ ?

हो, अहिले पनि राजनीतिको केन्द्रमा प्रचण्ड, बाबुराम, शेर बहादुर, रामचन्द्र ,के. पी. ओली, झलनाथ, कमल थापाहरु छन् । यिनीहरु सबै बाहुन क्षेत्रीहरु नै हुन् तर यी दुई चार जनाले सत्ता र शक्तिमा गरेको रज़ाईको हिशाब किताब दुर दराजमा बस्ने बाहुन क्षेत्रीले किन दिनुपर्ने ?

कहिले सम्म राजेन्द्र, उपेन्द्र, बिजय गच्छेदार, महन्त ठाकुर  र महेन्द्र राय यादव तथा अशोक राई, आंकाजी शेर्पा, सुवास नेम्बांग जस्ता करोड़पति नेताहरुले मधेसी जनजातिको भागमा मस्ती गरिरहने ?

अचम्मको कुरा दलित जनजाति र पिछडिएका बर्गलाई अधिकार दिनुपर्छ भन्दै पहिचानको गफ लगाउनेहरुले बाहुनहरुको बदख्वाई गरी गरी दशकौं सम्म नेतृत्व आफ्नै हातमा लिने गरेको र दलित जनजातिहरुलाई पहिचानको ललिपप मात्र देखाएको सबैलाई बिदितै छ ।

यस कुराको प्रमाण माओवादी, एमाले, कांग्रेस र राप्रपा जस्ता पार्टीहरुमा कथित उपल्लो जातका ब्यक्तिहरु मात्र हेरे छर्लंग हुन्छ ।खास गरी राजनीतिमा बाहुन क्षेत्रीहरुको बाहुल्यता हुनुमा जातीय बिभेद मात्र कारक होईन । यसको मूख्य कारण उनीहरु संख्यात्मक रुपमा बढि हुनु पनि हो । त्यसै गरी कार्य प्रतिको लगनशीलता र प्रतिवद्दताले पनि यस्तो हुन गएको हो । तर बाहुनवादको निरपेक्ष बिरोध गर्नेहरुले किन त्यो अवसर अरुलाई दिदैनन् ? किन त्यो अवसर लिने आधारहरु तयार गर्दैनन् ?

अहिले सत्ताको सेरोफेरोमा आएकाहरु दुई खाले मान्छेहरु छन् एक आफ्नै क्षमता र योग्यता भएका तर बाहुनवादको बिरोध गरेर अस्तित्व धानिरहेका । अर्काहरु बाहुनवादको निरपेक्ष बिरोध गरेका र त्यसैको बैशाखीको बलमा उभिएकाहरु । यी दुबैबाट आम मान्छेहरुको अधिकार हनन भईरहेको छ । यसको लागि बिगतमा भएको सत्ता र शक्तिको रस्साकस्सीका लागि आफू र आफ्नाहरुको काखी च्याँपेको देखेकै हो ।

दलित तथा जनजातिहरुमा भएको आत्मग्लानी तथा मनोसामाजिक अवस्थाले गर्दा उनीहरु प्रशासन तथा राजनीतिमा कम संख्यामा छन् । त्यसो त संख्यात्मक रुपमा कमी हुनु र शिक्षा र स्वास्थ्य प्रति जागरुक नहुनु अर्को कारण हुनुपर्छ । तर उनीहरुको मनोवैज्ञानिक अवस्थालाई नजर अन्दाज़ गरी दोष जति बाहुनवादलाई मात्र  दिनु बैज्ञानिक देखिदैन ।

हुँदा हुँदा नेपालको एकीकरण गर्ने महानायक पृथ्बी नारायण शाहलाई समेत बाहुनवादी भन्दै जाति जनजातिहरुको नरसंहार गर्ने हत्यारा हुन् र जातीय भेदभावको बीउ रोप्ने सामन्ती राजा हुन् भनेर ईन्टरनेटको सामाजिक मिडियामा बबन्डर मच्चाउने हरु पनि ब्रगेल्ती भेटिन थालेका छन् ।

युवा बिश्लेषक कृष्ण ढकाल भन्छन:
“नेपालमा सत्ताबाट सबैभन्दा पिडित “पहाडिया” बाहुन् क्षेत्री बन्दैछन् ! सत्तासीनहरुसंग जात र थर मिल्नु नै दुर्भाग्य भयो तिनको। हली, गोठाला, भान्से, पाले बसेका बाहुन क्षेत्रीलाई समेत शोषकको बिल्ला लगाएर तिनैलाई हली गोठाला राख्ने सामन्तहरु चैं जातको नाममा राज्यको सुबिधा हसुर्न आए !

“राष्ट्रपति, प्रधान न्यायाधीस, उपप्रधानमन्त्री, मन्त्री, हाकिम सबै भएकै छन् नि मधेशी भन्यो भने चार हात उफ्रिएर “दुई चार जना भएर हुन्छ, अरु खै” भन्छन् साथीहरु ! त्यस्तै ताल छ जनजातिहरुको पनि ! तर त्यही दुई चार जना सत्ताशीन भएको निहुँमा बाहुन क्षेत्री चैं सबैले शाषक हुनुको मुल्य तिर्नु पर्ने?

यही नयाँ खाले विभेदका लागि पुराना विभेदको विरोध गरेका थियौं हामीले? थर मिलेकै आधारमा पुराना शासकको मुल्य अहिलेको पिँढीले बेहोर्ने हो भने किरांत बंशले राज्य गर्दाको मूल्य कसले तिर्ने ? मल्ल, लिच्छवी, र गोपाल बंशीले गरेको शासनको मुल्य कसले तिर्ने? हिसाब त्यसको पनि गरिनुपर्छ !!

बाउआमाले कुल्ली काम गरेर र दूध बेचेर तथा छोरोले रातदिन गरेर पढे पनि उसले मौका नपाउने, अरु कसैले केवल जातको आधारमा उसको भाग खाइदिने । कहाँको न्याय हो यो?

आधारभूत हक नै खोसिए पछि मौलिक हकमा लेखिएका कहिल्लै पूरा नहुने हकको के अर्थ? के गणतन्त्रको पटकपटकको संघर्षमा बाहुन क्षेत्रीको कुनै योगदान छैन? हैन भने पुराना शाषकसंग जात मिल्दैमा ति विरुद्द अन्याय किन? राज्य सबैको निम्ति समान हुनुपर्छ ! जात र थर मिल्ने अरु कसैले शासन गर्यो भन्दैमा कसैमाथि अन्याय गर्न पाइन्न !!

त्यसैले यो जातको कुरा होइन !! बाबु छोराको त मतलब नहुने राजनीतिमा जातको के मतलब? बाउले गरेको अन्याय छोराले भोग्नु पर्दैन भने जात मिलेकै भरमा अरु कसैले गरेको शासनको जबाफदेही सबै बाहुन क्षेत्रीलाई बनाउन पाईन्छ?

अछुत भनिएका मानिसहरु बाहेक कसै माथि भएको छैन जातका हिसाबले विभेद! छुवाछुतको विरुद्द विशेष अभियान चलाउंदै बांकी सबैमा केवल आर्थिक दुर्बलताको हिसाबले दिनु पर्छ राज्यले राहत! अहिले पहिचानवादको फेक राजनीति गरिरहेका फटाहाहरु विकासको सूचंकाकमा सबै भन्दा माथि छन् !! तिनलाई केको आरक्षण ?”

बिश्लेषक ढकालका उपरोक्त असहमतिका स्वरहरु धेरै मान्छेका नबोलिएका तर गुम्स्याएर राखिएका स्वरहरु हुन् । यी स्वरहरु बोल्ने शरीर र मनहरुलाई चिढ्याएर लोकतन्त्र फक्रन सक्दैन ।

मिडियातिर र अधिकारको वकालत गर्ने संघ संस्था तिर हेर्ने हो भने लोकतन्त्र पश्चात बाहुन क्षेत्रीलाई एक खाले अपराधी नै बनाईएको छ । मानौ बिगतमा सबै बाहुन क्षेत्रीहरुले जान अन्जानमा गरेको अन्यायको सजायँ अहिलेको सामान्य जीवन बिताउने, श्रम गर्ने या राजनीतिमा पहूँच नभएका बाहुन क्षेत्रीहरुले भोग्नु परेको छ । तर त्यहि बाहुनवादलाई सरापेर केहि ब्यक्तिहरु निरन्तर सत्ता र शक्तिको केन्द्रबिन्दुमा छन् । तिनै बाहुनवादको सत्तोश्राप गर्नेहरुले उद्घाटन, समापनमा तिनै अभिजात बर्गका मान्छेलाई फूलमाला लगाईदिएर चाकरी गरेको देखेकै हो ।

त्यसै गरी सत्ताको केन्द्र बिन्दुमा भएका सम्भ्रान्त बर्गका कथित मधेसी, जनजाति र दलितहरुले पनि बाहुनवादको बिरोध गर्दै त्यसको रस निरन्तर चुसी रहेका छन् । जुनसुकै कोणबाट पनि दबिएका हेपिएका भनेका सामान्य जीवन बाँच्ने निमुखा वर्ग हुन् । तर तिनको आवाज सुन्ने कसले ?

अहिले देखिएको पहिचान र सिमांकनको विवाद भोलि देशलाई अस्थिर र जर्जर बनाउने शुरुवात मात्र हो । बिदेशिदा बित्तिकै नेपाली भएर चिनिने हामीलाई स्वदेशमा मधेसी, जनजाति, दलित र पिछड़ाको राज्य सत्ता किन चाहिएको होला ?

तराईमा गत हप्ता गरीबी खप्न नसकेर सन्तानलाई बिष खुवाएर आफै आत्महत्या गर्नेहरुको बर्ग सत्तामा छैनन्, पहाडमा बोक्सीको आरोपमा हत्या गरिएका बर्गका मान्छे सत्तामा छैनन् । सत्तामा त कसैको सत्तोश्राप गरेर आफ्नो अभिष्ठ ईच्छा पूर्ति गर्ने हरु मात्र छन् ।

पार्टीहरु जनमय भन्दा डनमय छन् । सबै जसो पार्टीहरुले गुण्डा पालेका छन । गुण्डागर्दीकै  आडमा अवैध काम गर्ने, ठेक्का पट्टा हात पार्ने, चन्दा असूली , अपहरण गर्ने, तश्करी गर्ने र केही अपराध भए त्यसलाई राजनैतिक गन्ध दिने प्रबृत्ति सामान्य भएको छ ।

आफ्ना कुत्सित लाभहरु प्राप्त गर्न अबैज्ञानिक रुपमा एउटा ब्यक्ति या समूहलाई शासक या शासित भनेर क़रार गर्ने प्रबृर्तिले बिग्रह निम्त्याउँछ । समान जीवन जिउँदै आएका छिमेकीलाई शासक र शासित देखेर हैन भातृत्व बाँडेर कमजोरीहरु सच्याउने अवसर दिनुपर्छ । हाम्रा नाममा बिग्रहको राजनीति गर्नेहरु पहिचान गर्ने कि बाहुनवादकै हौवाको पछाडि दौडिरहने हो र ?

तर वास्तवमा पछाड़ी परे पारिएका वर्गका लाई बैज्ञानिक तरीकाले माथि उठाउने काममा अबका सरकार लाग्नुपर्ने यो स्तम्भकारको ठम्याई हो ।
२०७३ पुष २८ गते २२:१३ मा प्रकाशित

 

Leave a Reply