Sunday , November 19 2017
Breaking News

‘साँच्चै अनौठो प्रेम कथा’


–रमेश विकल ,केही दिन अगाडि एउटा ‘उपन्यासिका’ को पाण्डुलिपि (यसलाई पाण्डुलिपि पनि भन्न नमिल्ला, किनभने यो कम्प्युटर टङ्कणलिपिका रूपमा छ) पढेँ – “अनौठो प्रेम कहानी” प्रदीप नेपाल लिखित। प्रदीप नेपाल आज एक सफल राजनीतिकर्मीका रूपमा उभरिएर देखा परेको छ। त्यसैले उसलाई मूलतः एउटा राजनीतिकर्मीकै रूपमा (नेतृत्व तहमै पुगेको) चिन्ने गर्छन् मानिसहरू।

तर उसको अर्को एउटा पहिचान पनि छ – कथाकार–उपन्यासकारको। यसरूपमा उसलाई चिन्ने धेरै नै होलान्, र छन्। एउटा उल्लेख्य संख्यामा उसलाई साहित्यकार (कथाकार–उपन्यासकार) का रूपमा चिन्ने र पढ्ने पाठककको वर्ग छ। हो, कतिपयले उसलाई प्रदीप नेपाल साहित्यकारका रूपमा नजानेर (त्यसो त राजनीतिक लेखकका रूपमा त धेरैले जान्दछन् नै) अर्कै नाउँबाट जान्लान् – कथाकार–उपन्यासकार सञ्जय थापा।

हो, उसको साहित्यिक अभियान सञ्जय थापाको नाउँबाट शुरू भएको प्रतीत हुन्छ। मलाई के थाहा छ भने सञ्जय थापाको नाउँबाट लेख्नु उसको वाध्यता थियो (शायद पार्टी भूमिगत हुँदाको वाध्यता)। तर उसको साहित्ययात्रा उसको किशोर अवस्थादेखि नै एउटा पाठक र लेखककै रूपमा शुरू भयो। किनभने उसलाई आज मात्र होइन, धेरै अघिदेखि – २०३६ साल भन्दा अगाडिदेखि नै एउटा प्रतिभाशाली नवयुवाका रूपमा धेरै नजिकबाट चिन्दछु।

म त्यतिखेर शिक्षा विभाग अन्तरगतकै एउटा प्रमुख संस्थामा कार्यरत हुँदा उ पनि त्यससँग सम्वन्धित थियो र हामी सँगै काम गर्थ्यौं। एक त त्यो संस्था नै साहित्य र शिक्षासँग सम्वन्धित हुनाले त्यहाँको वातावरण नै शैक्षिक, साहित्यिक थियो दोस्रो, प्रदीप पनि त्यस्तै परिवेश (सत्सङ्ग) बाटै आएको हुँदा उसको साहित्यप्रति सामान्य भन्दा बढी रूची देखिन्थ्यो। त्यसैले ऊ आफ्नो व्यवसायिक (कार्यालयीय) कामबाट फुर्सत पायो कि (निकालेरै पनि) केही न केही कोर्ने गर्थ्यो। उसले त्यसरी नवशिकारूका रूपमा कोरेको केही रचनाहरू मैले पनि हेर्ने मौका पाउँथे।

त्यही प्रदीप नेपाल सञ्जय थापाका रूपमा पल्लवित र स्थापित हुँदै आज राजनेतृत्वको अति व्यस्त र जटिल पेसाबाट पनि समय निकालेर साहित्यसाधनामा रमाउन रूची राखेको देख्ता मलाई आनन्द आउँछ।

र म त्यत्तिकै कल्पना गर्न थाल्छु – यो केटाले बाँझो राजनीतिको मैदानमा नहाम्फालेर साहित्यकै रमणीय
बगैँचामा, मालीका रूपमा साधना गर्दो हो त आज नेपाली साहित्यले कति सुन्दर सुन्दर, कृति अनमोल अनमोल साहित्य सुमन फुलाउँदो हो, साहित्यको फूलबारीलाई कति सजाएर चम्काउँदो हो, कतिलाई आनन्द दिँदो हो!

तर यो सम्भव हँदु ैन। सबैले साहित्य बगँैचाको माली बनेर राजनीतिक जङ्गलतिर नहेर्ने हो भने त्यो फाँट त त्यसै आजको भन्दा पनि कुरूप झाडी बन्न सक्थ्यो, घोर अरण्य पनि बन्न सक्थ्यो। त्यसैले त्यसलाई समाल्ने – त्यो खेती (राजनीतिक खेती) लाई स्याहारसुसार गर्ने, गोडमेल र मलजल गरेर उर्वरा धर्ति तुल्याउन कोही न कोहीले कम्मर कस्नै पर्थ्यो। तर त्यो चाहिँ स्वःका लागि नभएर समग्र जनवर्ग, राष्ट्र र देशप्रति समर्पित हुनुपर्ने – यो ब्रतको पालनाचाहिँ पहिलो प्रतिबद्धता, पहिलो सङकल्प हुन पर्ने र त्यसलाई पालना गर्ने इमानदारी हुनुपर्ने प्रमुख शर्त हो। त्यो कुराको चाहिँ अहिले न्यूनता खड्किएको छ। त आज त्यही राजनीतिको उद्यानको फोहरमैला सफा गर्न भनेर तम्सेको एकजना प्रतिबद्ध नेताको कलमबाट यो उपन्यासिका ‘अनौठो प्रेम कहानी’ (शीर्षक ‘कहानी’ को सट्टा ‘कथा’ भैदिएको भए बढी नेपाली हुँदो हो) को कोशेली लिएर आफ्ना पाठक समक्ष आएको छ। प्रथम त यसको शीर्षक नै आकर्षक र कौतुहल जगाउने खालको बनेको छ। ‘… कस्तो अनौठो प्रेम कथा हो त यो? …’

सामान्यतया हामी साहित्यमा, सिनेमामा अनगिन्ती प्रेम प्रसङ्गहरू पढदै, हेर्दै आएका छाँै। ती कथाहरूमा एकजना नायक हुन्छ, एउटी नायिका। (अझ अधिकांश सिनेमा र कथाकृतिहरूमा त खलनायक (भिलेन) पनि हुन्छ। नायक पुरूष र नायिका स्वतः नारी हुन्छे र ‘प्रेम’ भन्ने बित्तिकै हाम्रो मानसिकताले तुरून्तै पुरूष र नारी बीचको यौनजन्य ‘प्रेम’ भन्ने कुरालाई पक्डिइहाल्छ। हाम्रो कुसंस्कारयुक्त मनले ‘प्रेम’ शब्द अति पवित्र हुन्छ र यसको रूप, दाजुबहिनी, दिदीभाइ, आमाछोरा, बाबुछोरा, साथीसाथी बीचमा पनि फूलेको हुन्छ र त्यो फूल जत्तिकै पवित्र र सुन्दर हुन्छ भन्ने कुरालाई ग्रहण गर्नै सक्तैन – सकिरहेको छैन।

(हो, नवपुस्तामा भने त्यो नयाँ धारणाले सनै सनै ग्राह्यता पाउँदै आएको, तर रूढीगत संस्कारको अवशेष अझै पूर्ण पुछिइनसकेको परिप्रेक्षमा यो अझै संशयकै स्तरमा, धरमरकै बिन्दुमा अड्किएको छ।) पुरानो संस्कार अनुसार प्रेमकथामा नायक नायिका बीचको प्रेमप्रसङ्ग नितान्त नारीपुरूषको यौनजन्य आकर्षण (फ्रायडवादी चिन्तनजन्य) मा नै रूमलिन्छ। त्यसमा मुख्य वियोगका आँसु अथवा मिलन (योग) का हाँसोले नै ओतप्रोत हुन्छ अन्त्यसम्म। (खलनायक समेत रहेको प्रेमकथाको संयोगान्त र वियोगान्तमा चाहिँ त्यसको कारणीमा त्यही खलनायकले दुष्ट भूमिका खेल्छ। कथा त्यो त्रिकोणात्मक भएर आदिदेखि अन्त हुन्छ।)

त्यस्तो आख्यान परिपाटीलाई आत्मसात गर्दै हुर्केका पाठक समाज माझ प्रदीपको प्रस्तुत ‘अनौठो प्रेमकथा’ ले साँच्चै अनौठो नै प्रभाव छोड्छ। किनभने यस आख्यानका नायक ‘प्रिय’ र नायिका ‘चाँदनी’ परम्परागत (मात्र के भन्नु आधुनिक नाउँ भिरेर जन्मिएका तर पुरातन सांस्कारिक परिधीबाट पूरै बिलग हुन नसकिरहेका पनि) जस्ता पटक्कै्र छैनन्।

उनीहरू नत हिजोआजका बलिउड, कलिउडका ‘हिरो हिरोनी’ जस्ता एकान्त उपवन, बगैँचा वा धान, गहुँ, चनाका हरियालीपूर्ण खेतहरूमा ‘उन्मत्त ‘बानरे’ उफ्राइ’ गर्दै लखेटालखेट गर्दै उत्ताउला सस्ता गीतहरूका बेताले रागका सुरमा अर्धनग्न भएर एक अर्कासँग दशैँको पीङको लठारो झैँ लठारिँदै सस्ता दर्शकहरूलाई पनि योनोत्तेजनामा जुरूक् जुरूक् पारिरहेका हुन्छन्, न आदर्श र चोखो प्रेमका नाउँमा कुनै नदी किनारा वा सागरतटका किनारका चट्टानमा बसेर बिरहका आँसुमा भिजेको रूमानी गीत गाएर भावुक दर्शकहरूलाई पनि आँसुमा डुबाउने प्रयत्न गरिरहेका हुन्छन्।

अझ साँच्चै भन्ने हो भने अठ्ठाइस, ‘ए फोर साइजको’ आफ्नो प्रियतमलाई चिठ्ठी शैलीमा लेखिएको दश दिनको दैनिकी (डायरी) भरमा परिभाषित प्रणय प्रेमको प्रसङ्ग ‘प्रिय’ ले आफ्नी पे्रयसी चाँदनीलाई लेखेको चिठी (यो पाण्डुलिपिको १३–१४–१५ पृष्ठ) को अन्तिम केही अनुच्छेदबाट मात्र प्रत्यक्षरूपमा अनुभूत हुन्छ।

यो चिठी पाँच वर्ष पहिले चाँदनीको ‘प्रिय’ नायकले आफ्नी प्रेयसी चाँदनीको नाउँमा लेखेको हुन्छ। चाँदनीले त्यसलाई जतनसँग राखेकी हुन्छे र यसो न्याश्रो लागेको अथवा ‘प्रिय’ को सन्निकटताको तीब्र चाहना भएको घडीमा मात्र झिकेर पढ्ने गर्छे।

साहित्य सङ्ग्रहबाट

यसो भनेर यो उपन्यासिकामा विपरीत लिङ्गीमा हुने नैसर्गिक प्रेम–प्रणयको प्रसङ्ग हुँदै नभएको होइन। आदिदेखि अन्त्यसम्म ‘प्रेमतत्व’ ले नै त सिञ्चित छ यो। तर त्यो प्रेम हिजोआजको समाजमा प्रचलित प्रेम–प्रणयको परिभाषा भित्र पर्दैन, जुन वियोगको उच्छ्वासबाट व्यक्त हुन्छ नत संयोग र मिलनको उमङ्गमा। यो न फ्रायडको परिभाषामा व्यक्त हुन्छ नत कालिदासकै मेघदूतमा। हीरराँझामा पनि व्यक्त हुँदैन, रोमियो जूलियटमा पनि। यो आजको शताब्दीका राजनीतिक चेतनायुक्त दुई शिक्षित पारिवारिक र सामाजिक वातावरणले निर्माण गरेका स्वयं सचेत र शिक्षित युवा युगलको प्रेम कथा हो। त्यसैले यो माटो (देश, धर्ति) को ममतामा अभिव्यक्त भएको छ, समाजको पीडामा बोलेको छ, राजनीतिक वितण्डामा संवेद्य भएको छ।

समग्रमा भन्दा यो कथा मानवीय संवेदना, देशप्रेम, जातीय (राष्ट्रिय) ममत्वमा प्रस्फुटित भएको छ। यसमा
प्रेमैप्रेम छताछुल्ल भएर बगेको छ। त्यसैले यो ‘प्रेम कहानी’ हो र यसलाई प्रचलित ‘प्रेम’ का कथा पढ्नेका आँखामा यसमा कुनै प्रेम प्रणय प्रसङ्गै छैन। त्यसैले यो प्रेम–कथा नै होइन। त्यसैले समग्रमा यो ‘अनौठो प्रेम कथा’ हो। यसको यही ‘अनौठोपन’ नै यसको आकर्षण हो र यसैको चिन्तनशीलताले नेपाली साहित्यको श्रीवृद्धिमा सघाउ पुर्‍याउने अपेक्षा गर्न सकिन्छ।

र यही ‘अनौठोपन’ प्रतिको जिज्ञासाले नै पाठकको मनोरञ्जन साथै उसमा उत्सुकता जगाउँछ। शैली र प्रस्तुतिको अनौठोपनले पाठक अलि अलमलिए पनि त्यसलाई खोतल्ने जिज्ञासाले सचेत पाठकले यसलाई माया गर्नेछ। अस्तु, म भाइ प्रदीपको यस मूल्यवान प्रयासलाई साधुवाद दिन्छु। र उसले यस्तै लोकचेतनालाई उजिल्याउने, जनताकै सुखदुःखलाई बोकेर राष्ट्रिय चिन्तनलाई फैलाउने साहित्य, – कथा, उपन्यास र सम्भव भए नाटक निबन्धको सृजना गर्दै, नेपाली साहित्य भण्डारको श्रीवृद्धि गर्दै जावस्।

एउटा दाजुका नाताले म उसलाई साधुवादका साथै आशीर्वादका वचन पनि प्रदान गर्छु। र विश्वास
र आशा पनि गर्छु उसको कलम झन झन प्रखर र जनभावनालाई बहन गर्न सक्षम र सक्रिय हुँदै जावस्।
उ कर्तव्यपथमा कहिल्यै नथाक्ने, कहिल्यै नहार्ने योद्धासरी अगाडि बढ्दै जावस् –– चरैवेति! चरैवेति!!
तमसोमा ज्योतिर्गमय! असतोमा सद्गमयः! मृतयोर्मा अमृतंगमयः!!

आरूबारी / साहित्य सङ्ग्रहबाट

 

Leave a Reply