Tuesday , October 17 2017
Breaking News

कोमल गजल :- न सूर्यले रोक्छु अकास भन्छ

कोमल गजल :-
न सूर्यले रोक्छु अकास भन्छ
न सिन्धु फैलाउँछु त्रास भन्छ

विशाल गर्दैन घमण्ड कैले
निकृष्ट गर्जेर म खास भन्छ

हुँदैन माया ममता नशामा
भुलेर संसार गिलास भन्छ

नगर्नु विश्वास दुराशयीको
छकाउँदै छर्छु मिठास भन्छ

कतै छ ऐश्वर्य छचल्किएको
कतै रुँदै गाँस,कपास भन्छ

खराबले ठान्छ सबै नराम्रो
प्रणाम गर्दा उपहास भन्छ

कुरा खुदै गर्छ सदैव हावा
तथापि अर्को छ बतास भन्छ

गएन सामन्त विचारधारा
गरीबलाई अझ दास भन्छ

निराशले सोच्छ मिलेन केही
र आसले गर्नु प्रयास भन्छ

विदीर्ण भो ‘कोमल’ जिन्दगानी
कठोर ज्यादै छ प्रवास भन्छ

उपेन्द्रवज्रा छन्द
(५ अक्षरमा विश्राम)
-कोमल भट्ट
चन्द्रागिरी नगरपालिका,
वा.नं.२१-पुरानो नैकाप
काठमाडौँ
हाल:-न्युयोर्ककोमल गजल :-
न सूर्यले रोक्छु अकास भन्छ

Leave a Reply