Tuesday , November 21 2017
Breaking News

परिवार भन्दा अर्को स्वर्ग कहाँ छ र ? केकी अधिकारी

उमेरको यो कालखण्डसम्म आइपुग्दा धेरै कुरा पाइएछ, केही गुमाइएछ पनि । गुमाएको बाल्यकालको रहर हो, दसैँको स्वाद र उमंग पनि हो । शरदको प्रारम्भमै म सम्झन्छु– कति आनन्ददायक थियो विराटनगरको दसैँ ।

पुख्र्यौली थातथलो छाडेर जब बा काठमाडौँ आउनुभयो । हाम्रा लागि विराटनगर मन बहलाउन जाने स्थलमा परिणत भयो । प्रत्येक दसैँमा हामी विराटनगर जान्थ्यौँ ।
विराटनगर जाँदा हावामा अत्तर मिसिएझैँ लाग्थ्यो । सिरेटोले न्यानो स्वागत गरेझैँ लाग्थ्यो । धान र फूलको सुगन्ध अर्कै पाउँथेँ । पिङको चचहुइ, आफन्तको आर्शीवादको लवज बेग्लै । अर्को मीठास मिसिएको हुन्थ्यो ।

तर, यी सबै सम्झनामा मात्रै सीमित भए ।

काठमाडौँमै जन्मिएको हुँ म । काठमाडौंबाट त्यस्तै चार–पाँच वर्षमात्रै दसैँ मनाउन हामी विराटनगर गयौँ । एकदुई पढ्ताताका होला । विराटनगर जाने भनेपछि महिनादिनअघिदेखि भुइँमा खुट्टा हुँदैनथ्यो । म फुर्किएको देखेर बाबाको अनुहार शरदझैँ हँसिलो, सुवासिलो हुन्थ्यो ।

समयक्रमसँगै छाडिए, विशृंखलित भए यी । प्रत्येक शरदले दसैँ होइन, बाल्यकालको सम्झनाको आँधी बोकेर आउँछ । र, खल्बल्याइदिन्छ मलाई ।

म्युजिक भिडियो । चलचित्र । सुटिङ । भागदौडमै समय व्यतीत भइरहेको छ । दसैँ आउनेबित्तिकै विश्राम पाएको अनुभूति हुन्छ । ‘सुटिङको समय भइसक्यो । छिटो गर्नुपर्यो । आज यस्तो छ, त्यस्तो छ’ यस्ता आसयका फोन कल पनि आउँदैनन् । एकाध शुभकामना, पत्रपत्रिका, रेडियो टेलिभिजनले दसैँ अनुभूति सोध्नेबाहेक कसैले फोन गर्ने जमर्को नै गर्दैनन् भन्दा हुन्छ ।

दसैँ होइन, मलाई पारिवारिक जमघटजस्तो लाग्छ । वर्षदिनको कामको थकान मेटाउँदै परिवारसँग समय बिताउन पाउँदाको खुसी अरू कुनै कुराबाट पाउँदिन मैले । र त, दसैँ मेरा लागि विशेष पर्व हो ।

दसैँ भन्नेबित्तिकै राम्रा पक्ष मात्र हुँदैनन् केही तीता कुराहरू पनि हुन् । विशेष गरेर यातायात व्यवसायीको चर्को भाडा असुली र ट्याक्सी चालकको मनोमालिन्यताले दसैँको उमंग खल्लो बनाइदिन्छन् । पारिवारिक जमघट र खुसियालीको पर्वमा पनि यात्रुलाई सेवा दिनु सराहनीय कार्य भए पनि त्यसपावत महँगो मूल्य असुल्नु राम्रो कुरा होइन ।

हामी नेपाली कहाँ धनी छौँ र ! ऋण गरेर चाडपर्व मनाउने कत्ति छौँ । शौखले होइन, बाध्यताले ट्याक्सी प्रयोग गर्नुपर्छ । अरू गाडी चल्दैनन्, केमा चढ्नू ?
चाडवाड मनाउन पुग्ने पैसा यातायातमै खर्चिनु परेपछि कत्तिको मन अमिलो भएको आँखैले देखेको छु, म आफैँ भुक्तभोगी पनि हो ।
अतः चालक महानुभावले यो कुरा हृदयङ्गम गर्दिए सबै यात्रुले सुविस्ता पाउँथे ।

दसैँको अर्को उदेकलाग्दो पक्ष पशु बली पनि हो । दसैँ आएपछि मलाई ती अवोध पशुहरूको पीडा र तिनलाई दिएको यातनाले पिरोल्छ । मन भतभती पोल्छ । आँखा अनायसै रसाउँछ । हाम्रो खुसी, सन्तुष्टि र स्वादका लागि तिनले आफ्नो जीवन उत्सर्ग गरिरहेका छन्, विचरा !

वर्ष दिनमा आउने चाड । परिवारका सबै हाँसी, खुसी बस्ने, आफ्ना सुख–दुःख, जीवनका अनुभव साटफेर गर्ने पर्व । तर, कतिपय बिहानदेखि रक्सी खाएर होहल्ला गरेर बिताइरहेका हुन्छन् । त्यसले घरपरिवारमा नकरात्मक असर त पुर्याइरहेको हुन्छ नै, समाजमै प्रतिष्ठा धमिलो बनाइदिन्छ । मदिरामा लट्ठिँदैमा दसैँ विशेष बन्ने हो र ?
दसैँ भन्ने बित्तिकै तास खेल्ने पर्व बनाउने पनि कति छन् । दाउको आसमा बसोबासै रित्याउने पनि नभएका होइनन् । यी सब संस्कृति होइनन्, विकृति हुन् । यिनलाई निरूत्साहित तुल्याउन सकिएन भने दसैँको गरिमा र महत्त्व जोगाउन सक्दैनौँ हामी ।

आमाबुबाको कत्रो आश हुन्छ, छोराछोरी आए, सघाउलान् । सुख–दुःख सुनाउँला । घरको अवस्था बताउँला । तर, छोराछोरी बिहानदेखि नै जुवातास, रक्सी, मासुमा डुबे आमाबाबुको मन कति कुँडिएला । यस्ता कुरामा हामीले कहिल्यै नजरअन्दाज गर्नुहुँदैन । परिवार भन्दा अर्को स्वर्ग कहाँ छ र ?

त्यस्तै परिवारको जेष्ठ सदस्य, वयोवृद्ध, आमा, बाबुको पीरमर्का बुझिदिने, उहाँहरूका कुरा सुनिदिने पर्वसमेत हो दसैँ । उहाँहरूसँग समय बिताए अनुभव सुनिन्छ । अघि बढ्न प्रेरणा पनि मिल्छ । दसैँमा सबैले मान्यजनको हातबाट टीका, आर्शीवाद लिने, आफन्तकहाँ जाने मात्र होइन, उहाँहरूका कुरा सुनिदिने, विचार, भावना साटफेर गर्ने गर्नुपर्छ । यसले मात्र हाम्रो सामाजिक मूल्य, मान्यता, परम्परालाई जोगाउँछ । दसैँको सांस्कृतिक पक्षलाई अनन्तकालसम्म लम्ब्याउँछ । (baahrakhari) बाट साभार !
यो पनि हेर्नुहोला

Leave a Reply