Tuesday , November 21 2017
Breaking News

एउटी श्रीमतिको इच्छा पूरा गर्न नसक्ने सरकारी जागिरे !

सविता सापकोटा
समाजमा महिला मात्रै दुखी छैनन् । महिलाका बारेमा लेखिरहँदा केही साथीहरुले सुझाव दिए की, ‘पुरुषका पनि आफ्नै दुख छन् । उनीहरुका बारेमा पनि लेख ।’

महिला बढी पीडित त छन् नै, पुरुषलाई पनि यो सहरिया दुनियाले खुसी बन्न दिएको छैन । महंगी र अनियन्त्रित व्यवस्थाकै कारण सहरका थुप्रै पुरुषको पीडा पनि यस्तै त छ स् समयले नेटो काट्यो, सबै चिज फेरिए ।

देशमा संविधान बन्यो । सरकार परिवर्तनको परम्परा चलिरह्यो । तर सरकारी कर्मचारीहरुको तलब कछुवाको गति झैँ भयो । गाउँको घर पनि भूकम्पले ढलायो ।श्रीमती दिनहुँ नयाँ गरगहना र कपडा लगाउन पाइन भनेर किचकिच गर्छे । मन्टेश्वरीमा पढ्दै गरेकी छोरीको फी महिनाको १० हजार भन्दा बढी आउँछ ।

‘सरकारी जागिर छ’ भन्दा सबैले ‘भाग्यमानी रहेछस्’ भन्छन् । कतै घुम्न जानुपर्याे नयाँ फेसन् । बिबाह, ब्रतबन्ध, पार्टी्पिच्छे नयाँ डिजाइनका गहना चाहिन्छ श्रीमतिलाई । घरमा बिरामी बूढी आमा पनि हुनुहुन्छ । उहाँको चेकजाँच पनि समय समयमा गरिरहनुपर्छ ।

‘यसपटक पहिलेकै कपडा लगाउ न त भन्दा’ श्रीमति विदेश गएका आफ्ना साथिहरुको तस्वीर देखाउँछिन् । उनीहरुलाई कति मोज छ कति घुम्न जान्छन्, नयाँ नयाँ कपडा लगाउँछन् । आफू भने सँधै घरमा कुवाको भ्यागुतो जस्तो बूढी आमाको स्याहार गरेर बस्नुपर्ने भन्न थाल्छिन् । केही बोल्नै हुदैन ।

एक शब्द बोलेँ भने, ‘तिमि पनि जाउ न त विदेश’ भन्न सुरु हुन्छ । ‘पाल्छु भनेर ल्याएको होईन, आवश्यकता पूरा गर्न नसक्नेले दिनभर अफिस गएर के जागिर खान्छौ !’ बिडम्बना भनौँ या के, हामी नेपालीहरुको हातमा डिग्री पास गरेको सर्टि्फिकेट र दिनभर मरिमेटी काम गर्दा पनि दैनिक आवश्यकता पूर्ति गर्न मुस्किल छ । जागिर छैन भनौँ भने छ, छ भनौँ भने तलबले श्रीमतिको लवाइ–खवाइ पनि पुग्दैन ।

‘ गाउँमा भत्किएको घर बनाउन मन छ । सहरमा डेरा गरेर बस्दै आएको छु । बूढी आमासँगै छोरी र श्रीमतिका आवश्यकताहरु पूर्ति गर्न मन छ । अफिसर लेभल भए पनि अन्य आम्दानीका स्रोत नभएपछि शुद्ध तलबले नपुग्ने रहेछ । साथीको बुद्धिमा लागेको भए बेलैमा करोडपति बनिसक्थेँ ।

विदेश होमिएको भए पनि घरको तला थपिन्थ्यो । आज भत्किएको घर पनि बनाउन नसक्ने अवस्था आएको छ । भ्रष्टाचार गरेरै भए पनि साथिले ३ वटा घर ठडाई सक्यो । अहिले मस्त घर भाडाले खान पुग्छ । उसले त भनेकै थियो, ‘सोझो पारामा जिन्दगी चल्दैन ।’ सायद उसलाई पनि मलाई जस्तै समस्या आईलागेर भ्रष्टाचारको बाटो रोज्यो की । उ बेलामा एक्लो ज्यान ‘यति तलब भए पुगिहाल्छ नि भन्ने लाग्यो । तर परिवार भएपछि त्यति तलब छेउ न टुप्पो हुँदो रहेछ ।’

‘ जतिसुकै कडा नियम बने पनि भ्रष्टाचार गर्नेको संख्या घटेको छैन । यसरी आवश्यकताहरु पूर्ति गर्न नसकेर नै मानिस भ्रष्टाचारको खेतिमा लाग्छन् र विदेसिन्छन् भन्ने कुरा आज आफ्नै अनुभवले प्रष्ट पार्दै छ । साँचै सोझो औँलाले घिउ नआउँदो रहेछ ।

२ छाक भए पनि परिवारसँग बसेर खाना खाएको छु । बाहिरी मानिसले मेरो जीवन सुखी देख्छन् तर म भने दुःखी छु । कहिलेकाहीँ सोच्ने गर्छु जीवन के हो ? भौतिक दुनियाँमा मात्र रमाउनु जीवन हो र ! यस्तै पीडाबचि पनि पुरुषलाई यही समाजले भन्ने गर्छ, ‘एउटी श्रीमतिको इच्छा पनि पूरा गर्न नसक्ने सरकारी जागिरे !’

Leave a Reply