Wednesday , April 26 2017
Breaking News

भारतले मिचेको ५० हेक्टर जमिन फिर्ता लिन यसरी सफल भयो नेपाल

गुमेको सबै भूभाग फिर्ता लिन यस्तो पहल हुनै पर्छ

नेपाल भारत सीमा अन्र्तगत कपिलवस्तुको पश्चिमी सीमा क्षेत्रमा वर्षौंदेखि भारतीय पक्षको नियन्त्रणमा रही खेतीपाती हुँदै आएको झण्डै ५० हेक्टर जमिन नेपालमा फिर्ता आएको छ । नेपाल भारत संयुक्त उच्च प्राविधिक टोलीले संयुक्त रुपमा सुरु गरेको सीमा स्तम्भको मर्मत तथा पुनर्निर्माणको कामबाट जिल्लाको गुगौली गाविस जवावैराठ लगायतको सीमा क्षेत्रमा पर्ने जमिन नेपाली क्षेत्रमा आएको हो ।

यस क्षेत्रमा पर्ने अर्रा नदी नै नेपाल भारतको सीमा हो भनी अर्रा नदी पारी भारतीय पक्ष र अर्ना नदी वारी नेपाली पक्षले जमिन उपभोग गर्दै आएका थिए । अहिले बिजयनगर गाउँपालिका-१ मा परेका जवाबैराठ र गुगौली-१ वीरनगर भाठामा अर्रा नदीलाई साँध मान्दै आएको भए पनि पछिल्लो समय प्राविधिक टोलीले सबसिडरी पिलर निर्माण गर्दा भारतले अर्रा नदीलाई साँध मानी उपभोग गर्दै आएको ५० हेक्टर बढी जग्गाको क्षेत्रफल नेपाल तर्फको रहेको खुल्न आएको जिल्ला प्रशासन कार्यालयका उपसचिव मेघनाथ उपाध्याले बताउनुभयो ।

त्यसैगरि गौतम बुद्ध साझेदारी वन क्षेत्र मानिँदै आएको वीरनगर भाठाको अरर्रानदी वारीको झण्डै १३ हेक्टर जग्गाको क्षेत्रफल भने भारततर्फ देखिएको छ । गौतम बुद्ध साझेदारी वनले २ सय ३४ वटा पोल गाडेर तारबार गरि संरक्षण गर्न खोज्दा भारतीय सीमा सुरक्षा बलले भारतीय भुभाग भन्दै अवरोध गरेको जिल्ला वन कार्यालयले जनाएको छ । भारतीय पक्षले अवरोध गरेको भाग भारतीय क्षेत्रमै परे पनि भारतले आफ्नो भनेको अधिकांश भाग नेपाली पक्षमा परेको जिल्ला वन अधिकृत कृष्णदत्त भट्टले बताउनुभयो ।

नेपाली भुभाग मानिएको क्षेत्रको १३ हेक्टर जग्गा भारत तर्फ देखिए पनि सिमास्तम्भ एकीन हुँदा वीरनगर भाठाको अरर्रानदी पारि झण्डै १५ हेक्टर र जवाबैराठ क्षेत्रमा ४० हेक्टर बढी भुभाग नेपाल तर्फकै रहेको देखिएको छ ।
छुट्टिएको २० हेक्टर क्षेत्रफलमा भारतीय पक्षले संरक्षण गर्दै आएको वन क्षेत्रसमेत रहेको छ । सीमा छुट्टिँदा अहिलेसम्म भारतीय पक्षले भारतको बलरामपुर जिल्ला स्थित पचपेडवा ग्राम पञ्चायतको शुहेलवा आरक्षण क्षेत्रको संरक्षित वन मान्दै आएको क्षेत्रको केही भाग नेपाल तर्फ देखिन आएको हो ।

गएको वर्षदेखि सिमास्तम्भ मर्मतको कार्य सुरु गरिएको नेपाली टोलीका प्रमुख तथा नापी विभागका प्रमुख अधिकृत निर्मल आचार्यले जानकारी दिनुभयो । उहाँले दुबै देशको सहमति अनुसार मेन पिलर, माईनर पिलर र सब्सिडरी पिलर मध्यको नेपाली पक्षको भागमा परेको बिजोड अंकको स्तम्भ निर्माण कार्य जारी रहेको बताउनुभयो । आचार्यको नेतृत्वमा गएको वर्षदेखि नेपाली पक्षको ८ सदस्यीय टोली र भारतीय पक्षका प्राविधिकको निगरानीमा जोड अंकका सीमास्तम्भ भारतीय पक्षले र बिजोड अंकका सीमास्तम्भ नेपाली पक्षले मर्मत तथा संरक्षण गर्दै आएका छन् ।

उज्यालोअनलाइनबाट

Leave a Reply